फलो अपः खानेपानी संकट

धुलिखेल खानेपानी प्रणाली सुचारुका लागि सर्वपक्षीय बैठक, माहौल सकारात्मक बन्दै

धुलिखेल/असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोको क्षतिले प्रत्यक्ष रुपमा जिल्ला सदरमुकाम धुलिखेलमा असर नगरेको जस्तो देखिए पनि यतिखेर बाढीपहिरोको सबैभन्दा बढी मारमा पारेको देखिन्छ ।

त्यो हो, बाढीपहिरोले क्षति पुर्‍याएको धुलिखेल खानेपानी प्रणालीका कारण सिर्जित खानेपानीको चरम अभाव ।

दैनिक २४ लाख लिटरसम्म खानेपानी आपूर्ति गर्दै आएको धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले यतिखेर मुस्किलले २ लाख लिटरसम्म उपभोक्तालाई वितरण गर्न सकिएको बताउँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकमार कोजुका अनुसार धुलिखेलका ठुला व्यवसायीहरु भन्दा पनि यतिखेर साना तथा मझौला व्यवसायीहरुलाई पानी अभावले पिरोल्न थालेको छ ।

उनी भन्छन्, ‘ठुला व्यवसायी खास गरी होटल रिसोर्टहरुले विगतबाटै बोरिङलगायतबाट वैकल्पिक व्यवस्था गर्दै आएका छन् । उनीहरुलाई पनि एक हदसम्मको पानीको समस्या छ, हुँदै नभएको भन्न मिलेन । तर, वैकल्पिक व्यवस्था नभएका र धुलिखेल खानेपानीकै भरमा रहेका नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं विश्वविद्यालय र सरकारी सेवा प्रदायक कार्यालयहरुमा समस्या देखिन थालेको छ’, कोजुले थपे ।

यतिखेर धुलिखेलस्थित कालीजङ्ग गणमा खानेपानीको अभाव हुन थालेपछि ट्यांकरमार्फत बाहिरबाट खानेपानी ल्याएर व्यवस्थापन गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले समेत हरेक दिन साँगास्थित नेपाल प्रहरी स्कुलबाट खानेपानी ओसारिरहेको छ । यी दुबै सुरक्षा निकाय समितिकै खानेपानीमा आश्रित निकाय हुन् ।

उता, जिल्लास्थित सरकारी सेवाप्रदायक कार्यालयहरुको हालत पनि सुरक्षा निकायभन्दा फरक छैन । तर, यी कार्यालयहरुमा सेवाग्राहीको चाप नभएका बखत खासै फरक नपरेको देखिए पनि कर्मचारीहरुले मर्का पर्न थालेको बताएका छन् ।

हिजोका दिनमा छेतोखेलो पानी उपभोग गरेका उपभोक्ताहरुलाई धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ट्यांकर अन्य व्यवस्थामार्फत वितरण गरिरहेको ‘जुगाड’ को पानीमा बानी बसाल्न गाह्रो परेको देखिन्छ ।

‘यस पटक उपभोक्ताहरुले अत्यन्तै संयमता देखाउनु भएको छ । उहाँहरुले पनि विपद्कै कारण उत्पन्न समस्यामा आफुहरुलाई ‘एडजस्ट’ गर्न थाल्नु भएको छ । यसबाट पनि खानेपानी प्रणाली सुचारुका लागि स्रोतसाधन जुटाउन र मुहानक्षेत्रका स्थानीयसँग समन्यव गर्नमा हामीलाई एकाहोरो ढङ्गमा अघि बढ्न सहयोग मिलेको छ’, समितिका एक पदाधिकारीले भने ।

सर्वपक्षिय बैठकपछि पलाउँदै आशा

समस्यालाई समाधानको कोणबाट हेर्ने विगतदेखिको ‘प्राक्टिस’ धुलिखेलमा कायम रहँदै आएको छ । खानेपानीको चरम अभाव भइरहँदा धुलिखेलस्थित सबै राजनीतिक दलहरु तथा नागरिक समाज पनि यस ‘चट्टानी समस्या’ बाट पार पाउनका लागि छलफल तथा संवादमा जुटेको अवस्था छ ।

नेपाली काँग्रेस धुलिखेल नगर समितिका अध्यक्ष बिदुरबहादुर बस्नेतले धुलिखेलमा सुरु भएको खानेपानी अभावलाई लिएर पार्टीका तर्फबाट धुलिखेल नगर प्रमुखलाई कात्तिक २ गते नै भेटेर ध्यानाकर्षण गराइएको बताए ।

बस्नेतकै अग्रसरतामा मंसिर ९ गते धुलिखेलस्थित विभिन्न राजनीतिक दलहरु सम्मिलित बैठकले खानेपानीको हालको समस्या समाधानका लागि नगरपालिका, खानेपानी उपभोक्ता समिति र मुहानक्षेत्र रहेको पनौती नगरपालिकालगायतसँग संवाद र छलफल अघि बढाउन पहलकदमी लिने निर्णय गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘धुलिखेल नगरक्षेत्रभित्र खाइपाई आएको खानेपानीको मुहानक्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिले लामो समयदेखि धुलिखेलवासी खानेपानी उपभोग गर्नबाट बञ्चित रहेको हुँदा खानेपानी मुहानक्षेत्र रहेको पनौती नगरपालिका, वडा नं १२ स्थित स्थानीयहरुको समन्वय र सहमतिमा खानेपानी प्रणाली सुचारु गर्न धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई अनुरोध गर्ने ।’

यस्तै, अर्को निर्णयमा ‘धुलिखेल र पनौती नगर पालिकाक्षेत्रभित्रको खानेपानीलगायतका समस्या समाधान गरी समन्वयात्मक ढङ्गबाट अघि बढ्न धुलिखेल तथा पनौती नगरपालिका प्रमुखहरुलाई अनुरोध गर्ने’ उल्लेख छ ।

सो बैठकमा नेकपा एमाले धुलिखेलका अध्यक्ष दयाराम महत, नेकपा माओवादी धुलिखेलका अध्यक्ष बाबुराम तामाङ, रास्वपा धुलिखेलका अध्यक्ष माधव श्रेष्ठ, नेकपा एकीकृत समाजवादी धुलिखेलका अध्यक्ष दयासागर श्रेष्ठ, राप्रपा धुलिखेलका अध्यक्ष बुद्धराम श्रेष्ठको सहभागिता थियो ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका नगर इन्चार्ज हरिगोपाल प्रधानाङ्ग, नेकपा माओवादीका जिल्ला सदस्य पृथ्वी थापा, नेपाली काँग्रेस धुलिखेलका उप-सभापति विष्णुप्रसाद तिमल्सिना, सचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष उदय भूषण, सह-सचिव महेश गौतम, नेकपा माओवादी धुलिखेलका सचिव अर्जुनप्रसाद पौडेल, रास्वपा संगठन विभाग प्रमुख रबिन्द्र कर्माचार्य, रास्वपाकै रामेश्वर घिनाङ र नेकपा एमालेका युवा नेता अमित खोजु सहभागी थिए ।

बैठकमा नागरिक समाजको तर्फबाट सामाजिक जागरण मञ्चका अध्यक्ष कमल राय, धुलिखेलका पूर्व वडाध्यक्ष बिनोदप्रसाद पराजुली र पत्रकार कुमार गौतम सहभागी थिए ।

उपभोक्ता समितिका अध्यक्षलाई ज्ञापनपत्र

सर्वपक्षिय बैठककै निर्णय अनुसार धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुलाई सर्वपक्षिय उपस्थितिमा ज्ञापन पत्र बुझाइएको छ ।

खानेपानी प्रणालीलाई चाँडोभन्दा चाँडो सुचारु गर्नु पर्नेलगायतका मंसिर ९ गतेकै बैठकका निर्णयहरुका आधारमा ज्ञापनपत्र बुझाइएको नेकपा एमाले धुलिखेलका अध्यक्ष दयाराम महतले जानकारी दिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता समिति र धुलिखेल नगरपालिकावीच भएको संयुक्त बैठकले खानेपानी प्रणालीको पुनःनिर्माणका लागि भनि १० प्रतिशत थप शुल्क लिने निर्णय तत्काल फिर्ता लिनका लागि समितिलाई ज्ञापनपत्रमार्फत अनुरोध गरेको महतको भनाई छ । थप शुल्क फिर्ताबारेमा सर्वपक्षिय बैठकमै निर्णय भएको थियो ।

ज्ञापनपत्र बुझ्दै समिति अध्यक्ष कृष्णभूषण खोजुले थप शुल्क लिने भनि नगरपालिका र समितिको संयुक्त निर्णय भएको बताएका थिए । ‘धुलिखेल नगर प्रमुख एडिबीको काठमाडौं अफिसमा सहयोगको अनुरोध पत्र लिई जानु भएकाले फर्केर आउनु भएपछि सल्लाह गर्छौं’ भन्ने अध्यक्षको भनाइ रहेको एक सहभागीले जानकारी दिए ।

‘एकातिर पानी नपुग भइरहेको अवस्था अर्कातिर खानेपानीका संरचनाहरुमा क्षति भएको अवस्थामा कसरी धुलिखेल खानेपानी प्रणालीलाई पुननिर्माण गर्ने र सुचारु गर्ने भन्ने चासो र चिन्ता सर्वत्र छ । हामी सम्बन्धित वडाका अध्यक्ष र खानेपानी समिति बसेर थप शुल्क लिने भन्ने निणर्य गरेका हौं । यसमा पुनर्विचार नै हुन्न भन्ने होइन’, धुलिखेल-६ का वडा अध्यक्ष सञ्जय कोजूले भने ।

दुबै नगरका जिम्मेवार जनप्रतिनिधिहरु एकै ठाउँमा

धुलिखेल खानेपानी प्रणाली अवरुद्ध भएलगत्तै अनौपचारिक रुपमा धुलिखेल र पनौतीका जनप्रतिनिधिहरु संवाद र छलफलमा रहेका थिए । नागरिक समाज तहमा समेत वार्ताहरु भएका थिए ।

पछिल्लो पटक धुलिखेलका नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठ, उप-प्रमुख निराजन जङ्गम, पनौतीका नगरप्रमुख रामशरण भाण्डारी, उपप्रमुख गीता बन्जारासहित विद्यमान खानेपानीको समस्या समाधानका लागि हिमालय दृश्य रिसोर्टमा औपचारिक रुपमै बैठकमा सहभागी भएका छन् । सोही बैठकमा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष कृष्णभूषण खोजु पनि सहभागी थिए ।

बैठकमा खानेपानीको समस्यालाई लिएर उत्पन्न ‘बजारु हल्ला’ लाई चीरफार गर्ने काम भएको बुझिएको छ । बैठकमा ‘मुहान भएको पनौतीसँग धुलिखेल नगरले समन्वय नगरेको अनि पनौतीका मेयरले अड्को थापेको’ जस्ता बजारु हल्लाको चीरफार भएको बुझिएको छ ।

मुहानक्षेत्रका स्थानीयहरु पीडामा रहेका एकातिर अनि अर्कातिर खानेपानी प्रणाली पुननिर्माणमा करोडौं रुपैँया लाग्ने अवस्था । यस्तो विषम परिस्थितिमा तत्कालै निर्णय लिनमा सबै पक्षलाई असहज नै थियो ।

पनौतीका नगरप्रमुखले सबै मुहानहरु एकीकृतका नाममा दर्ता भएको अवस्थामा पनौतीले कसरी स्रोत उपयोग गर्नेलगायतका कुरा राखेका बुझिएको छ ।

यस बैठकसँगै खानेपानी प्रणाली पुनःनिर्माणमा देखिएका अवरोधहरु हटेर चाँडोभन्दा चाँडो खानेपानी सुचारु हुनेमा उपभोक्ताहरु आशावादी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments