भैरहवा/हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रहेको हो ।
निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा रणनीति, सुरक्षाकर्मीको सक्रिय परिचालन तथा सुरक्षा निकायबीचको समन्वयका कारण यसपटकको निर्वाचन अपेक्षाकृत सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न भएको विश्लेषण गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले बहुआयामिक सुरक्षा योजना कार्यान्वयन गरेको थियो ।
मतदानस्थल र मतदान केन्द्रहरूमा विशेष सुरक्षा प्रबन्ध मिलाएकाले मतदाताले ढुक्क साथ मतदान गर्न सकेको सुरक्षा निकायको भनाइ छ । प्रहरी सङ्गठनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीको ठम्याइ छ ।
सुरक्षाकर्मीलाई स्पष्ट जिम्मेवारीसहित परिचालन गरिएको तथा देशभरका प्रहरी इकाइलाई उच्च सतर्कतामा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले सुरक्षा रणनीति सफल भएको उल्लेख गर्दै विगतको तुलनामा यस निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको दाबी गर्नुभयो ।
प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि मुख्यतः पाँच प्रमुख रणनीति अवलम्बन गरेको थियो । महानिरीक्षक कार्कीका अनुसार पहिलो, सुरक्षा जोखिम मूल्याङ्कनका आधारमा मजबुत सुरक्षा योजना तयार गरिएको थियो ।
दोस्रो, सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गरी सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाइएको थियो ।
तेस्रो, पछिल्ला आन्दोलनका कारण केही खस्किएको प्रहरी मनोबललाई उच्च बनाउने उद्देश्यले सङ्गठनभित्र विशेष पहल गरिएको थियो । चौथो, अन्य निकायहरूसँग प्रभावकारी सुरक्षा निकाय, राजनीतिक दल, प्रशासन तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय कायम गरिएको थियो । र, पाँचौँ, निर्वाचन अवधिभर निरन्तर अनुगमन तथा नियमनलाई सुदृढ बनाइएको थियो ।
अनुगमनका क्रममा प्रहरी महानिरीक्षक कार्की स्वयंले विभिन्न प्रदेश तथा जिल्लाका प्रहरी इकाइमा पुगेर स्थलगत निरीक्षण, सुपरीवेक्षण तथा ‘ब्रिफिङ’ कार्यक्रम सञ्चालन गर्नुभएको प्रहरी प्रधान कार्यालय सूचना शाखाको भनाइ छ । यस पटकको निर्वाचन नेपाल प्रहरीले ‘डिजिटल’ प्रविधिको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको थियो ।
सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा ‘फेक न्युज’ नियन्त्रण गर्न प्रत्येक जिल्लामा सामाजिक सञ्जाल अनुगमन टोली गठन गरिएको थियो । ती टोलीहरूले ‘अनलाइन’ माध्यममा प्रसारित भ्रामक सामग्रीको निगरानी गर्दै आवश्यक कारबाही तथा सामग्री हटाउने कार्यसमेत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी, संवेदनशील क्षेत्रहरूको निगरानीका लागि ‘ड्रोन क्यामेरा’, उच्च क्षमताका क्यामेरा तथा अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग गरिएको थियो । सुरक्षा अवस्थाअनुसार सङ्गठनात्मक कमान्ड संरचना व्यवस्थित गर्दै प्रदेश स्तरमा प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा सुरक्षा कमान्ड खडा गरिएको थियो भने जिल्ला स्तरमा वरिष्ठ प्रहरी अधिकृतहरू र सिनियर प्रहरी अधिकृतहरूलाई परिचालन गरिएको थियो ।
सुरक्षा व्यवस्थापनका दृष्टिले विभिन्न सुरक्षा निकायबीचको समन्वयलाई पनि प्रभावकारी बनाइएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसँग संयुक्त रूपमा सुरक्षा निगरानी, जोखिम मूल्याङ्कन तथा सम्भावित विवाद समाधानका लागि सहकार्य गरिएको प्रहरीले जनाएको छ ।
विसं २०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटना भएका थिए । बाजुरा, रुकुम र कालीकोटमा भएका झडपमा आठ जनाको मृत्यु भएको थियो भने इलाम, सर्लाही, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, धादिङ, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधका घटनासमेत भएका थिए । तर २०८२ सालको निर्वाचनमा भने त्यस्ता गम्भीर प्रकृतिका घटना देखिएन, भएन । मतदान केन्द्रहरूमा व्यवस्थित तथा कडा सुरक्षा प्रबन्ध मिलाइएकाले ठूलो झडप वा हिंसात्मक घटना हुन नपाएको सुरक्षा विज्ञहरूको भनाइ छ ।
केही स्थानमा सामान्य तनाव उत्पन्न भए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई अवस्था सामान्य बनाएका थिए ।
संविधानविद् तथा कानुन व्यवसायी सूर्य अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्ण हुनुमा प्रभावकारी सुरक्षा व्यवस्थापन प्रमुख कारण हो । उहाँले राज्यका सुरक्षा निकाय, निर्वाचन व्यवस्थापन र प्रशासनबीचको समन्वय प्रभावकारी भएकाले निर्वाचन सहज रूपमा सम्पन्न भएको बताउनुभयो ।
त्यसैगरी, सुरक्षा विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजालले विगतका अनुभवका आधारमा सुरक्षा रणनीति परिमार्जन गरिएकाले जोखिम न्यूनीकरणमा सफलता मिलेको बताउनुभयो ।
अधिकारकर्मी लक्ष्मी केसीले निर्वाचन अवधिभर सुरक्षाकर्मीले उच्च जिम्मेवारीका साथ भूमिका निर्वाह गरेकाले कुनै ठूलो दुर्घटना वा हिंसात्मक घटना हुन नपाएको बताउनुभयो । उहाँका अनुसार यसले नेपालको लोकतान्त्रिक अभ्यासमा सकारात्मक सन्देश दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचन सुरु हुनुअघि नै देशभरका मतदान केन्द्रहरूलाई संवेदनशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरण गरी सुरक्षा योजना तयार पारिएको थियो । उहाँले विभिन्न सुरक्षा निकायसँगको संयुक्त परिचालन र समन्वयका कारण सम्भावित जोखिमहरू नियन्त्रण गर्न सफल भएको बताउनुभयो ।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण देखिएको सुरक्षा निकायको निष्कर्ष छ । विगतमा देखिएका झडप, विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधजस्ता घटनाहरू यस पटक दोहोरिन नपाएको हो ।
समग्रमा निर्वाचन आयोग, सुरक्षा निकाय, प्रशासन, राजनीतिक दल तथा मतदाताबीचको सहकार्य र जिम्मेवार भूमिकाका कारण २०८२ सालको प्रतिनिधिसभा निर्वाचनलाई नेपालको लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण तथा व्यवस्थित निर्वाचनका रूपमा स्थापित गर्न सफल भएको छ ।
अनुशासित परिचालन, प्रभावकारी सुरक्षा रणनीति र नेतृत्वदायी भूमिकाका कारण नेपाल प्रहरीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएको ठहर गरिएको छ । प्रहरी महानिरीक्षक कार्कीले नेतृत्व सम्हालेपछि सङ्गठनको व्यावसायिक क्षमता, प्रविधिमैत्री कार्यशैली तथा सङ्गठनात्मक समन्वयमा सुधार देखिएको छ ।
यसपटकको निर्वाचनमा पहिलो सुरक्षा घेरामा रहेर काम गरेको प्रहरी सङ्गठनले देखाएको सक्रियता र प्रभावकारी व्यवस्थापनलाई सुरक्षा क्षेत्रका विज्ञहरूले नेतृत्वको सफलताको उदाहरणका रूपमा समेत लिएका छन् ।-कमल रायमाझी/रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित