काभ्रेपलाञ्चोक/ प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने जिल्लाका विभिन्न निकाय र सरोकारवालाप्रति मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेपलाञ्चोकले आभार व्यक्त गरेको छ। निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्दै कार्यालयले सहयोगी संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरेको हो।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
उनले राजनीतिक दल, उम्मेदवार, मतदाता, सरकारी कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, पर्यवेक्षक तथा विभिन्न संघ–संस्थाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै निर्वाचन सफल बनाउन सबैको सामूहिक प्रयास महत्वपूर्ण रहेको बताए।
कार्यक्रमका अवसरमा चारवटै सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायतलाई निर्वाचन व्यवस्थापनमा गरेको योगदानका लागि प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै निर्वाचन आचारसंहिता अनुगमनमा सक्रिय भूमिका खेलेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रुद्र कोइरालालाई पनि सम्मान गरिएको थियो।
यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो।
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टिकाभूषण घिमिरेले दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन अघि, मतदानका दिन र त्यसपछि पनि सहयोग र समन्वय गर्ने सबै पक्षप्रति कृतज्ञता व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पनि निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने जिल्लाबासी र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता र विभिन्न निकायबीचको सहकार्यले निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन मुख्य निर्वाचन अधिकृतको कार्यालयका कृष्णप्रसाद ढुंगानाले गरेका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८३ बैशाख २ गते