ऐतिहासिक नमोबुद्ध जात्रामा बिहानैबाट तिर्थालुहरुकाे भीड

काभ्रेपलाञ्चोक/ नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत आज साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् ।

कात्तिक शुक्लपूर्णिमा तिथि अर्थात् बुधबार दिनभरसमेत बत्ती बाल्ने गरिन्छ । जात्राअन्तर्गत रातिदेखि शनिबार बिहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा दीप प्रज्वलन गरिन्छ । लामा अनसार बत्ती बाल्नाले पितृलाई वर्षभरी उज्यालो हुने मान्यता अनुसार यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ । पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको लामाको भनाइ छ ।

पूर्णिमाको दिन भने शान्तिका प्रतिक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिने भएकाले उक्त दिनमा भने विशेष ठूलो भीड लाग्ने गर्दछ । किंबदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामाकण भएको स्थान मानिन्छ ।

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गर्दै आएको हो । मेलामा बर्सेनि करिब ५० हजारले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विशेषगरी तामाङ र नेवार समुदायका धर्मालम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामा गुरु कान्छा लामा बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।

पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको कथन छ । लामा गुरुकाअनुसार राजकुमारले बघिनिलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । ‘तत्पश्चात राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिँदै आउनुभएको हो,’ लामा गुरुले भने । संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।

उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ । जात्रा–मेला बाहेक पनि नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने स्थानीय राकेश लामाले बताए । मेलामा यसवर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने अनुमान गरिएको छ ।

हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments