नेपाल सरकारले पर्यटकीय क्षेत्र विकासका लगि स्वयम्भूनाथ, बौद्ध, लुम्बिनीसँगै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १ स्थित नमोबुद्ध क्षेत्रलाई राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ । बुद्ध सर्किटमा परेपछि यहाँ बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका चीन, थाइल्याण्ड, म्यानमार, जापान, कोरिया, श्रीलङ्कालगायत देशहरुका पर्यटकको रोजाइमा पर्न थालेको छ । विदेशीमाझ परिचित नमोबुद्ध स्वदेशीमाझ अझै परिचित हुन सकेको छैन । यही तथ्यलाई मनन् गर्दै नमोबुद्धलाई विदेशीका साथै स्वदेशी बौद्ध धर्मावलम्बीहरुको समेत पर्यटकीय गन्तव्य बनाउन नगर प्रमुख कुनसाङ लामा दत्तचित्त भएर लागेका छन् । यसै सन्दर्भ र समग्र नमोबुद्ध नगरपालिकामा भइरहेका विकास निर्माण र सेवा प्रवाहका बारेमा हामीले उहाँसँग गरेको कुराकानीको संक्षिप्त यहाँ प्रस्तुत गरेका छौंः
धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचिन महत्त्व बोकेको नमोबुद्धक्षेत्र हाम्रो नगरपालिकाको पर्यटकीय स्थलको रुपमा रहेको छ । नमोबुद्ध लुम्बिनीपछिको अत्यन्तै महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । यहाँ बौद्ध धर्मावलम्बीहरु अत्यन्तै श्रद्धाले दर्शनका लागि आउने गरेका छन् । नमोबुद्ध क्षेत्रमा पर्यटकको लागि आवश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध रहेका छन्, तर पर्याप्त भने हुन सकेको छैन ।
नमोबुद्ध तीर्थलाई पनौती र धुलिखेल दुबैतिरबाट बाटो राम्रो बनाउने योजना छ । संसारले चिन्ने र खोज्ने नमोबुद्ध चैत्यलाई व्यवस्थित गर्नु नगरपालिकाको मूल दायित्व हो । नमोबुद्धलाई लुम्बिनीपछिको प्रसिद्ध तीर्थस्थल र धार्मिक पर्यटकीय स्थल बनाउन हामी प्रदेश र संघ सरकारसँग हातेमालो गर्दैछौँ । नमोबुद्ध चैत्यको दर्शनमा आइपुगेका सबैलाई राम्रो आतिथ्यता दिनका लागि सुविधाहरु थप्ने योजनामा छौं ।
शाक्यमुनि सिद्धार्थ गौतमले भिक्षाटन गर्दै हिँड्ने क्रममा हालको नमोबुद्ध (गन्धमाधन पर्वत) मा पुगी मेरो पूर्वजन्म यही स्थानमा भएको थियो भनि उक्त स्थानलाई नमन गरी ध्यान गरेको हुनाले ‘नमोबुद्ध’ को नामाकरण हुन गएको मानिन्छ । विश्वमा नमोबुद्धको राम्रो प्रचार रहेछ तर नेपालभित्रै रहेनछ । जसरी लुम्बिनीको महिमा छ, नमोबुद्धको पनि त्यतिकै महिमा रहेको छ । यस तीर्थस्थलमा आउन, भगवान बुद्धको पूर्व अवतारको दर्शन गर्नका निम्ति स्वदेशी तथा विदेशी सबै महानुभावहरुलाई निमन्त्रणा गर्दछु । विश्वले र नेपाल सरकारले पनि राष्ट्रिय बुद्ध सर्किटको मान्यता दिएकाले पनि कम्तीमा एक पटक यहाँ आउन सबैमा विनम्र अनुरोध गर्दछु ।
मैले माथि नै उल्लेख गरेझैं नमोबुद्धको महिमाबारेमा जानकारीहरु पर्याप्त उपलब्ध रहेनछ । नमोबुद्धसँग सम्बन्धित कुराहरुमध्येका राजकुमार महासत्वले भोकाएकी बघिनीलाई आफ्नै शरीरको मासु काटेर खुवाएको, गुरू रिम्पोछे पद्यसम्भवले तपस्या गर्ने क्रममा प्राप्त गरेका तिनवटा बज्रमध्ये एउटा नमोबुद्धलाई चढाएको, शाक्यमुनि सिद्धार्थ गौतम भिक्षाटनमा आएर तपस्या गरेकोलगायतका थुप्रै कुराहरु अभिलेखीकरण भएको पाइन्न । त्यही भएर नमोबुद्ध नगरपालिकाले नमोबुद्ध चैत्यसँगै यही फाुगन २७ गते सूचना केन्द्रको औपचारिक शुभारम्भ गर्दैछ । कोरियन सहयोगमा यस केन्द्र कोइकाले बनाइदिन लागेको हो । यस केन्द्रको स्थापनासँगै नमोबुद्धबारेमा सबैलाई बुझ्नका लागि सहयोग हुनेछ । यसको सञ्चालन नगरपालिकाको सहयोगमा निरन्तर हुनेछ ।
हाम्रो नगरको मूल नारा नै ‘कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार’ रहेको छ । यसैलाई केन्द्र मानेर कार्यक्रमहरु गरिरहेका छौं । हाम्रो नगरपालिकामा ११ वटा वडा छन् र त्यसमा वडाध्यक्षहरुले सेवा सुविधा प्रदानको सुनिश्चतता गर्दै आइरहनु भएको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, बालमैत्री, जेष्ठ नागरिकहरुको सेवा भइरहेका छन् । स्वास्थ्य सामग्री वितरण, व्यावसायिक खेती गर्नेलाई टनेल उपलब्ध गराएका छौं । जे काम पनि जनताकहाँ पुग्नु पर्छ भनेर मूल मन्त्र बनाएका छौं । नगरको दीर्घकालीन महत्त्वपूर्ण निर्णयहरुका लागि सर्वदलिय सहमतिमा काम गरिरहेका छौं । तेरो मेरो नभनि हामी सबैको हो भनि काम गरिरहेका छौं । भ्रष्टाचारशुन्य बनाउने र सदाचार प्रवद्र्धन गर्ने परिपाटी बसालिएको छ । हुने कामका लागिमात्रै सफारिश गर्दै आएका छौं । नगरवासीले पाइरहेका सेवा सुविधाको मूल्याङ्कन सुक्ष्म रुपले गर्दै आएको छु । जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही नगरवासी सबै खुशी पाएको छु ।
हाम्रो नमोबुद्धमा सबैतिर शान्ति छाएको, नमोबुद्ध चैत्यमा मारामार पर्यटकहरु ओइरिएको, एक घर एक धारा भएको, कोही पनि बिरामी नपरेको, नगरका महत्त्वपूर्ण क्षेत्रहरु पक्की सडकबाट जोडिएको, स्वास्थ्य शिक्षामा अब्बल रहेको, नगरवासीहरु कृषिलगायतका पेशा–व्यवसायमा तल्लीन रहेको नगर सोचेको थिएँ । यस्तै, काभ्रे–नमोबुद्ध–दाप्चा–चौकीडाँडा वैकल्पिक बाटो बनेको, नमोबुद्धलगायतका अन्य धार्मिक र पर्यटकीय क्षेत्रहरु व्यवस्थित भएको सोचेको थिएँ । अर्को हिसाबले भन्ने हो भने नमोबुद्ध नगरपाकिलाई हेर्दै सुन्दर, बसुँ बसुँजस्तो लागिरहने नगरपालिका बनाउने योजना हो । यो नगर साँच्चैको बुद्धत्त्व प्राप्त भएको भावनात्मक र सिर्जनात्मक नगर बनाउने सोच र योजना बोकेको हो ।
मेरो पहिल्यैदेखिको स्वभाव भनेकै बोलेको कुरा पुरा गर्ने हो । नगरवासीहरुको वीचमा बसेर नीति बनाउनु पर्छ भन्ने भावनाले काम गर्न थालेको ३ वर्ष बित्यो । मैले प्रतिबद्धता गरेका कामहरु प्राथमिकतामा राख्दै आएको छु । तर, सबैको चाहना भनेको बाटो नै हुँदो रहैछ । यो स्वाभाविक पनि हो किनकी बाटो भएपछि सबै विकासका पूर्वाधारहरुमा सजिलो हुँदो रहेछ । स्वास्थ्य, खानेपानी, शिक्षा पनि प्राथमिकतामा छन् ।
११ वटै वडा कार्यालयको भवन बनिसकेको छ । यसबाट सेवा प्रवाहमा सहजता आएको छ । अब वडा नं १ को भवन पनि छिटै उद्घाटन हुँदैछ । आलु, काउली, तरकारीलगायतका कृषि उपजहरुको भण्डारण उपयुक्त तरिकाले नहुँदा कुहिएकाले १०–१५ करोडको लागतमा कोल्ड स्टोर बनाउँदैछौँ । कृषि, स्वास्थ्य, बाटोघाटो, खानेपानी, शिक्षा, रोजगारीका लागि जिम्मा नै लिएको हो तर बाढीपहिरोले योजना चकनाचुर बनायो । कृषिक्षेत्रमा यसले धेरै नै क्षति पुर्याएको छ, आम किसानलाई चोट पुगेको छ । अब कृषकहरुलाई कसरी पूर्ववत अवस्थामा ल्याउने भन्ने चुनौती थपिएको छ । तर पनि निर्वाचनका बेला नगरवासी सामु गरेको प्रतिबद्धताहरु पुरा गर्नमा तल्लीन रहने छु ।
हाम्रो नगरमा प्रत्येक ३ वर्षमा कर दस्तुर राजस्वमा परिवर्तन गर्ने र बढाउने नीति रहेछ । हामीले धेरै पछि प्रगतिशील हिसाबले बढाएको हो । हाइवे, मूल सडक, प्रदेश सडकलाई हेरेर कर दस्तुर र राजस्व बढाएका हौं । कहिँ कतै तिरो राजस्व बढी भयो भनेका पनि छन्, हामीले आधार हेरेर कतै कतै घटाएका पनि छौं । राजस्व संकलन नहुँदा नगर विकास हुँदैन । संकलित राजस्व पनि सही ठाउँमै लगानी गर्नु पर्छ भन्ने मान्यता राखेका छौं ।
जग्गाको कित्ताकाट, जग्गा प्लानिङ गर्नेलाई पनि राजस्व तिर्नलाई आह्वान गरेका छौं । जग्गाको वर्गीकरण गरेर राजस्व लिएका छौं । अलिअलि क्रसरहरुबाट राजस्व आउँथ्यो त्यो सबै असोजको बाढीपहिरोले लग्यो । अबका केही वर्ष हामीलाई प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्छ किनकी हाम्रो अधिकांश आन्तरिक आम्दानी गुम्न पुगेको छ ।
विगतदेखि नै नमोबुद्ध नगरपालिकालाई अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले सहयोग गर्दै आएको पक्कै हो । असोजको बाढीपहिरोपछि उनीहरुले गर्दै आएको सहयोगको क्षेत्र पनि फेरिएको छ । यी संघसंस्थाहरुले विपदमा हामीलाई ठुलो गुण लगाएको छ । विगतमा जलवायु अनुकूलन खेती, खानेपानी र सरसफाई, अपाङ्गता, सामुदायिक विकासजस्ता क्षेत्रमा काम गरेका यी संस्थाहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत, खानेपानी, न्यानो कपडा, सेल्टर र पुनर्मिाणमा सहयोग गरेका छन् । यस्ता संघसंस्थाहरुमा जाइका, कोइका, युएन, इसिमोड, सिप्रेड, शान्ति जनआर्दश सेवा केन्द्र, अक्सफाम, रिमरेक, सिभिक फोरमलगायत रहेका छन् ।
जेष्ठ राजनीतिज्ञ एवं जनप्रतिनिधकिो हैसियतमा निम्ता आएका सबै ठाउँमा, कार्यालयहरुमा र समारोहहरुमा जाने गरेको छु । सबै निम्तामा शतप्रतिशत उपस्थित हुन नसके पनि ९९ प्रतिशत पुगेको छु । यसरी सहभागी हुँदा अन्यत्र के भइरहेको छ, कसरी सेवा प्रदान भइरहेको छ, जनगुनासो कसरी सम्बोधन हुँदारहेछन्जस्ता कुराहरुमा ध्यान दिएर सुन्ने गरेको छु । किनकी मैले नगरका नीति योजनाहरु लागू गर्ने क्रममा आफूले बुझेर गर्नु पर्ने भएकाले कार्यक्रमहरुको अन्त्यसम्म बस्ने गरेको छु । म अरुलाई पनि सम्मान गर्छु र मैले पनि सम्मान पाएको छु । राजनीति र समाजसेवा दुबै गर्ने क्रममा हिजोदेखि दुःख गरेको मान्छे हुँ । व्यक्तिगत र संस्थागत रुपमा पनि एक अर्को पालिकासँग समधुर सम्बन्ध बनाइरहेको छु ।
काठमाडौं महानगरदेखि बनेपा, धुलिखेल, पनौती सबैतिरका कुरा सुन्दा फोहरमैला व्यवस्थापन र वातावरणीय स्वास्थ्य समस्या जटिल भएको लाग्छ । यही दृष्टान्तका आधारले हाम्रो नगरले केही गरेन भने भावी पुस्तालाई समस्या आउँछ । हामीसँग छिमेकी बेथानचोक, रोशी, पाँचखाल सबैतिर यस्तो समस्या नहोस्, नआओस् भनेर हामीले २० वर्षे योजना बनाएका छौं ।
यसअन्तर्गत हामी ‘फोहोरलाई मोहरमा रुपान्तरण’ गर्नुका साथै वातावरणीय स्वच्छताका लागि हाम्रै र छिमेकी पालिकाहरुको फोहरमैलाको उचित व्यवस्थापन गर्ने हाम्रो योजना छ । यसका लागि हामी जग्गा प्राप्तिको तयारीमा छौं । त्यसपछि फोहरमैलाको समग्र व्यवस्थापनसँगै अर्गानिक मललगायतका विविध उत्पादनहरु गर्ने योजनामा छौं ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८१ चैत २ गते