इलाम/इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । इलाम क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई नौ सय ११ मत अन्तरले पराजित गर्दै कांग्रेका राई विजयी हुनुभएको हो ।
कांग्रेसका राईले १४ हजार ५४३ मत पाउँदा श्रम संस्कृति पार्टीका नेम्वाङले १३ हजार ६३२ मत पाउनुभएको छ । एमालेका काजीमान कागते ११ हजार ९६६ मतसहित तेस्रो बन्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले नौ हजार १६० मत र नेपाली कम्युनिष्ट पार्टीका रण बहादुर राईले सात हजार ६६५ मत पाउनुभएको छ ।
इलाम क्षेत्र नं. १ मा ६४ हजार १०४ मत खसेको थियो । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
शिक्षा पृष्ठभूमिबाट राजनीतिमा आउनु भएका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल अर्थशास्त्रमा एमफिएल अध्ययनरत हुनुहुन्छ । शैक्षिक दक्षतासँगै संगठनात्मक अनुभव बटुल्नुभएका राई नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेपाली कांग्रेस इलाम १ प्रदेश ख को क्षेत्रीय सभापति समेत हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाटै राजनीतिक यात्रामा होमिनु भएका राईले शिक्षण, सामाजिक सेवा र अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक अभ्याससँग जोड्दै आउनुभएको छ । काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्यापन गरेको अनुभवले उहालाई शिक्षा प्रणालीका समस्या र सम्भावनाबारे व्यवहारिक बुझाइ दिएको छ।
३६ वर्षको उमेरमै प्रतिनिधिसभामा विजयी बन्नुभएका राई इलामको सूर्योदय नगरपालिका-४ का स्थानीय बासिन्दा हुनुहुन्छ । २०५६ साल पछि लगातार एमालेले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा २६ वर्षपछि नेपाली कांग्रेस विजयी भएको हाे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित