नागरिकमा कैयौँ असन्तुष्टि होलान्, तर त्यसको विकल्प समाधान हो राजा होइन, उहाँले भन्नुभयो
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजका बैठकमा उहाँले यस विषयमा प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
“हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधिहरु छन्, उक्त विधि बमोजिम देशको प्रधानमन्त्री बोल्दै गर्दा बीचमा उभिने र प्रश्न गर्ने कुरा तथा प्रधानमन्त्री बोलिसकेपछि सवालजवाफ गर्ने कुरा संसदको कुनै नियमावलीले व्यक्त गर्दैन, त्यसैले आज जे भएको छ, त्यो गलत भएको छ”, उहाँले भन्नुभयो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति जनाउँदै प्रश्न उठाउनुभएको थियो । उक्त विषय संसदीय मर्यादाविपरीत भएको महामन्त्री शर्माको भनाइ थियो ।
उहाँले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनाको निन्दा गर्दै उक्त घटनाका सम्बन्धमा सम्पूर्ण राजनीतिक दलले दुःख व्यक्त गर्दा पूर्वराजाले कुनै चासो नदेखाएको बताउनुभयो ।
महामन्त्री शर्माले भन्नुभयो, “सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वभाविक रुपमा हिंसाका घटना हुन्छन्, नेपाली कांग्रेसले इतिहासको कुनै कालखण्डमा हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको थियो । उक्त विषयमा विपी कोइरालाले अदालतमा बयान दिने क्रममा म प्रत्यक्ष रुपमा सहभागी नभए पछि जिम्मेवारी लिन्छु भन्नुभएको थियो, अहिले तीनकुनेको घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन् ।”
महामन्त्री शर्माले राजाले पटक–पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि नेपाली जनताले गणतन्त्रको विगुल फुकेको बताउनुभयो । “नागरिकमा कैयौँ असन्तुष्टि होलान्, तर त्यसको विकल्प समाधान हो राजा होइन”, उहाँले भन्नुभयो । उहाँले गणतन्त्रको विकल्प खोज्ने होइन यसलाई सुधार गरेर अगाडि बढ्ने हो भन्नुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित