काठमाडौँ/आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।
काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभएको छ ।
“मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।”
राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।
राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ ।
उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।
विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज फागुन ७ गते नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका छन्।
उनले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना दिँदै सामाजिक संञ्जलमार्फत यस्तो बताएका हुन् ।
उनले भनेका छन् ‘फागुन ७ गते-आजको दिन-हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरूमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ! जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !!’
उनले अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।
मकवानपुर/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुन ७ गतेको दिनलाई गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
“स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, सन्देशमा भनिएको छ ।
नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।”
फागुन ७ को जगमा टेकेर आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ सन्देशमा भनिएको छ ।
आआफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनीतिक दल होमिनुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गर्नुभएको ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित