२ महिना बितेपछि बल्ल टुङ्गो

धुलिखेल खानेपानी प्रणाली सुचारु गर्न मुहानको स्रोत रहेको पनौती र धुलिखेल नगरवीच समझदारी

धुलिखेल/गत असोजको १० देखि १२ गतेसम्मको बाढीपहिरोले क्षति भएको धुलिखेल खानेपानी प्रणालीको मुहानक्षेत्र र प्रसारण पाइपलाइन मर्मत गरी यथावत रुपमा खानेपानी पठाउनका लागि तत्काल पुनःनिर्माण गर्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको रोहवरमा शुक्रबार अबेर सम्पन्न सहमतिमा विभिन्न ५ बुँदाहरु समेटिएका छन् ।

सहमतिमा धुलिखेलका आम उपभोक्ताहरुको तर्फबाट धुलिखेल नगरपालिका नगर प्रमुख अशोक कुमार व्याज्जु श्रेष्ठ र उप-प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका छन् ।

यस्तै, पानीको स्रोत रहेको क्षेत्रका तर्फबाट पनौती वडा नं १२ का वडा अध्यक्ष जयराम केसी, नगर प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बन्जाराले हस्ताक्षर गरेका छन् ।

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका तर्फबाट अध्यक्ष कृष्णभूषण खोंजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सहमतिका बुँदाहरुमाः

१. धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिवाट तत्कालै स्रोत क्षेत्रमा क्षति भएकोमा उक्त खानेपानीको निर्माण कार्य थालनी गर्ने र धुलिखेल वासीलाई दीर्घकालिन खानेपानीको व्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालिन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने ।

२. पनौती नगरपालिकाको भौतिक संरचना अत्यधिक क्षति भएको सन्दर्भमा खानेपानीको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त प्रयासमा आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालको लागि पनौतीको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने ।

३. तत्काल पनौती नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको आपूर्तिलाई ध्यानमा राखी खानेपानीको श्रोत व्यवस्थापन अर्को व्यवस्थापन नहुन्जेल सम्मको लागि पनौती नगरपालिका वडा नं. १२ को बैर महादेव मुलडोलको स्रोतबाट पनौती बजारलाई खानेपानीको स्रोतको व्यवस्था गर्ने ।

४. काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको स्रोत पनौती नगरपालिका वडा नं. १२ वैर महादेवको स्रोत एकिकृत खानेपानी आयोजना सम्पन्न हुँदा वैर महादेव मुलडोलको स्रोत एकिकृतमै समाहित गर्ने ।

५. पनौती नगरपालिका वडा नं १२ को कलाति भुमिडाँडा एकिकृत खानेपानी उपभोक्ता समितिको एक घर एक धारा धुलिखेल खानेपानी उपभोक्ता समितिबाट निर्माण गरिदिने ।

सहमति अनुसार खानेपानीको कार्य सम्पादनमा अन्य समस्या आए वा यस सम्झौतामा गरिएको कुनै विषयमा थप छलफल आवश्यक भएमा संयुक्त बैठक बसी समाधान खोज्ने सहमति समेत गरिएको उल्लेख छ ।

सहमतिमा अगाडि भनिएको छ, ‘आगामी दिनमा यस खानेपानी आयोजनाको सफलता र समस्या समाधान गर्न सदैव लाग्ने र दुई नगरको साझा सवालमा समेत संयुक्त प्रयासमा समस्या हल गर्दै जाने प्रतिवद्धता जनाउँदछौं ।’

प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको सम्झौताः

सर्वपक्षिय बैठक प्रभावकारी भएको निष्कर्ष

धुलिखेल खानेपानी प्रणाली सुचारुका लागि सर्वपक्षीय बैठकले ‘धुलिखेल र पनौती नगर पालिकाक्षेत्रभित्रको खानेपानीलगायतका समस्या समाधान गरी समन्वयात्मक ढङ्गबाट अघि बढ्न धुलिखेल तथा पनौती नगरपालिका प्रमुखहरुलाई अनुरोध गर्ने’ निर्णय गरेको थियो ।

मंसिर ९ गते सम्पन्न सर्वपक्षिय बैठकमा काँग्रेस धुलिखेल नगर समितिका अध्यक्ष बिदुरबहादुर बस्नेत, नेकपा एमाले धुलिखेलका अध्यक्ष दयाराम महत, नेकपा माओवादी धुलिखेलका अध्यक्ष बाबुराम तामाङ, रास्वपा धुलिखेलका अध्यक्ष माधव श्रेष्ठ, नेकपा एकीकृत समाजवादी धुलिखेलका अध्यक्ष दयासागर श्रेष्ठ, राप्रपा धुलिखेलका अध्यक्ष बुद्धराम श्रेष्ठको सहभागिता थियो ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका नगर इन्चार्ज हरिगोपाल प्रधानाङ्ग, नेकपा माओवादीका जिल्ला सदस्य पृथ्वी थापा, नेपाली काँग्रेस धुलिखेलका उप-सभापति विष्णुप्रसाद तिमल्सिना, सचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष उदय भूषण, सह-सचिव महेश गौतम, नेकपा माओवादी धुलिखेलका सचिव अर्जुनप्रसाद पौडेल, रास्वपा संगठन विभाग प्रमुख रबिन्द्र कर्माचार्य, रास्वपाकै रामेश्वर घिनाङ र नेकपा एमालेका युवा नेता अमित खोजु सहभागी थिए ।

बैठकमा नागरिक समाजको तर्फबाट सामाजिक जागरण मञ्चका अध्यक्ष कमल राय, धुलिखेलका पूर्व वडाध्यक्ष बिनोदप्रसाद पराजुली र पत्रकार कुमार गौतम सहभागी थिए ।

यो पनि पढ्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments