लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान

‘मनोरञ्जन तथा सत्कार क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’

काठमाडौँ/ नेपालको मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन सबै सरोकार भएकाहरू गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका अवसरमा विश्वास नेपालले आज यहाँ आयोजना गरेको ‘मनोरञ्जन तथा सत्कार सेवा व्यवसायको हालको अवस्था र सुधार’ समीक्षा कार्यशालाका वक्ताहरूले लाखौँ मानिसलाई रोजगारी दिइरहेको यस क्षेत्रलाई व्यवस्थित गरी श्रमिक अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभएको हो ।

वक्ताहरूले यस क्षेत्रमा देशभर आठ लाखभन्दा बढी श्रमिक कार्यरत रहेको, यस क्षेत्रमा धेरैलाई आत्मनिर्भर बनाउनुका साथै बहुसङ्ख्यक महिला र तिनमा आश्रित परिवारलाई रोजगारी प्रदान गरी आर्थिक उपार्जनको माध्यम बनेको, पयटकीय विकासका लागि सत्कार र लोकसंस्कृति जगेर्ना गर्न योगदान पुर्‍याए पनि राज्यले व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक एवं श्रम अधिकार अभियन्ता मिलन धरेलले मनोरञ्जन तथा सत्कार क्षेत्रका व्यवसाय अनिवार्य दर्ता हुनुपर्ने, श्रम कानुनअनुसार श्रमिकहरूको भर्ना, सेवासुविधा, पारिश्रमिक र सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

ट्रेड युनियन कांग्रेसका नेता देवीप्रसाद लम्सालले यस क्षेत्रका श्रमिकलाई ट्रेड युनियन अधिकारबारे सचेत र रोजगारदातालाई त्यसको पालनाका लागि आग्रह गर्नुभयो । उहाँले यस क्षेत्रका श्रमिकलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहलका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकारले व्यवसायी र घरधनीबीच घरबहाल सम्झौता नहुने र दर्ता प्रक्रियामा नआउने प्रवृत्तिले स्थानीय तहलाई समस्या समाधान गर्न समस्या भइरहेको बताउनुभयो ।

उहाँले व्यवसायी, घरधनी र श्रमिकलाई आफ्नो दायित्वबारे सचेत रहन आग्रह गर्नुभयो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले यस क्षेत्रलाई व्यवस्थित गर्नसके थप लाखौँ नागरिकलाई रोजगारी दिन र नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

उहाँले हाल यस क्षेत्रमा कार्यरत धेरै श्रमिक महिला आर्थिक, सामाजिक, मानसिक र यौन शोषणमा पर्न बाध्य भएको गुनासा आइरहेकाले रोगारदाता र श्रमिकबीच सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष भण्डारीले मनोरञ्जन तथा सत्कार श्रमिकका बालबालिकालाई लक्षित गरी शिशु स्याहार तथा हेरचाह केन्द्र सञ्चालन, श्रमिकलाई साप्ताहिक बिदा, सीप विकासलगायत श्रम अधिकारको पालनाका लागि एकीकृत कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी श्रमिक महिलाले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई हेयको दृष्टिले हेर्ने, गलत मनसायका साथ लाञ्छना लगाउने, रोजगारदाताले पनि सुरक्षा, सेवासुविधा र पारिश्रमिकमा गम्भीर नबन्ने समस्या रहेको गुनासो गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments