१६ दिने अभियान मनाउन महिला आयोग व्यस्त हुँदा पीडित महिलाको समस्या सुन्ने कोही थिएनन्

काठमाडौँ/ तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिनुभयो, कलङ्की घर भएकी सीता कार्की (नाम परिवर्तन) ।

श्रीमानले गरेको मानसिक र शारीरिक यातनाको पीडा बोकेर न्याय पाउने आशामा आयोग आइपुग्नुभएकी उहाँको पीडा सुन्ने परामर्शदाता कोही थिएनन् ।

आयोगको गेटमा नाम दर्ता गर्ने र कोठा नम्बर ३०२ मा निवेदन दर्ता गर्नेबाहेक अरु परामर्शतादाता नहुँदा उहाँ निरासै घर फर्किनुभयो ।

आजदेखि सुरु भएको १६ दिने लैङ्गिकहिंसा विरुद्धको अभियान मनाउन आयोगका सबै कर्मचारी र पदाधिकारी बिहानैदेखि -याली गर्न र होटलमा अन्तरक्रियामा व्यस्त भए । तर, आयोगको कार्यालय आएका पीडितहरु भने गुनासो सम्म नसुनाइ फर्किए ।

सुरुमा प्रहरी कार्यालयमा पुग्नुपर्ने भएपनि कार्कीले आयोगमा केही सुझाव लिन आउनुभएको थियो । बिहे गरेको २० वर्षदेखि सम्बन्ध विच्छेदको दबाब दिएको र घर छोडेर जा भन्दै धम्की दिने गरेको उहाँले बताउनुभयो ।

उहाँको छोराले नै महिला आयोगमा गएर कानुनी परामर्श लिन सझुाव दिएपछि आयोग आउँदा कोही आधिकारिक व्यक्ति नभेटिएको गुनासो गर्नुभयो । “लैङ्गिकहिंसा विरुद्धको अभियान चलेको छ भन्छन्, म आयोग आएँ सम्बन्धित व्यक्ति नभेट्दा दुःख लाग्यो”, उहाँले भन्नुभयो ।

१६ दिने अभियान सुरु भएको दिन नै बेलुका ४ बजेसम्म पाँच जना पीडित आयोगमा आएका थिए । कानुनी परामर्शदाता पाँच जना नै तोकिएका छन् । कार्यालयमा सामान्य कर्मचारीबाहेक सबै होटल केन्द्रित कार्यक्रममा व्यस्त थिए ।

दोलखाका दानबहादुर तामाङले आफू विरुद्धको उजुरी थाहा पाएपछि बुझ्नका लागि आयोग आउनुभएको थियो । दोलखाबाट उजुरी बुझ्न आउनुभएका उहाँले आज आयोगमा नाम दर्ता गरेर मात्रै फर्किनुभयो ।

“उहाँदेखि आएँ आयोगमा सम्बन्धित व्यक्ति कोही भेटिएन”, उहाँले भन्नुभयो, “कार्यालय नै रित्तो बनाएर हिँड्नेहरु संस्थाप्रति गैरजिम्मेवार व्यक्ति रहेछन भन्ने बुझेँ ।”

गोठाटार घर भएकी अर्की पीडित झुमाकुमारी खत्री (नाम परिवर्तन) पनि श्रीमान्बाट पीडित भएको बताउँदै घरेलु हिंसाको निवेदन लिएर आयोगमा दर्ता गर्न आउनुभएको थियो । उहाँ न्यायका लागि आयोगमा परामर्श पाउने आशामा धाइरहनुभएको छ ।

मुद्दाका कागजातसहित उहाँ आयोगको कार्यालय आइपुग्नुभएको थियो । त्यहाँ आधिकारीक व्यक्ति नभएपछि कागज बोकेर घरै फर्किनुभयो ।

एक वर्षदेखि घरेलु हिंसा र दाइजोको पीडा लिएर श्रीमान र परिवार विरुद्ध उजुरी दिनुभएकी कोटेश्वरकी रिना दाहाल पनि आयोगमा महिनौँदेखि धाइरहनुभएको छ । पीडकले प्रहरी समक्ष उपस्थित हुन आनाकानी गरेपछि उहाँ आयोगको सहयोगको अपेक्षामा हुनुहुन्छ ।

हरेक दिन उहाँ आयोगमा हारगुहार गर्नुहुन्छ । लैंङ्गिक हिंसा विरुद्धको अभियान चलिरहँदा दाहालले प्रहरी कार्यालय देखि आयोग सम्म सङ्घर्ष गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, “न्याय नपाएसम्म जुनसुकै अभियान चले पनि पीडितलाई केही अर्थ हुन्न ।”

आयोगकी सचिव पार्वती अर्यालले पीडितको सेवा प्रभावित गर्ने गरी कार्यक्रम नगरिएको दाबी गर्नुभयो । उहाँले कार्यालयमा पालैपालो गरेर उच्च अधिकारीका व्यक्ति आउने जाने भइरहेको र दुई जनामध्ये एक जना मनोपरामर्शदाता कार्यालयमै सेवारत रहेको बताउनुभयो ।

“हामीले कर्मचारीलाई आलोपालो गरेर राखेका छौँ”, उहाँले भन्नुभयो, “पीडित प्रभावित नहुन् भनेरै आलोपालो गरेका हौँ ।”

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ ।

विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

मधु शाही/रासस   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments