केयुमा श्रद्धाञ्जली सभा

काठमाडौं विश्वविद्यालयले संरक्षण समितिका पूर्वअध्यक्ष दमननाथ ढुङ्गानालाई कसरी सम्झियो?

धुलिखेल/ प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान सबै सामु स्पष्ट छ ।

शिक्षा क्षेत्रमा पनि उहाँको योगदान रहेको छ । काठमाडौं विश्वविद्यालय स्थापना हुनुमा उहाँको प्रमुख भूमिका थियो ।

पूर्वअध्यक्ष ढुङ्गानालाई उपकुलपति प्रा. डा. भोला थापाले यसरी सम्झेका छन्ः

वि. सं. २०४७ सालको संविधान बमोजिम २०४८ सालको निर्वाचनद्वारा स्थापित पहिलो संसदमा काठमाडौं विश्वविद्यालय ऐन सम्बन्धी विधेयक प्रस्तुत गरिएको अवस्थामा सभामुख पदमा रहनुभएका दमननाथ ढुङ्गानाले उक्त विधेयक पहिलो संसदबाटै पारित गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

काठमाडौं विश्वविद्यालय ऐन पारित भई बनेको विश्वविद्यालय सभाले संरक्षण समितिको व्यवस्था गरेपछि त्यस समितिका संस्थापक सदस्यहरूका अतिरिक्त वरिष्ठ कानुनविद्‌का हैसियतमा त्यस समितिमा बसिदिन आग्रह गर्दा उहाँले स्वीकृति प्रदान गर्नुभएको थियो र लामो समयसम्म संरक्षण समितिको अध्यक्षका रूपमा यस संस्थाको गरिमा बढाई मार्गनिर्देश गर्नुभएको थियो ।

गैरसरकारी क्षेत्रको सक्रियतामा स्थापित विशुद्ध गैरनाफामुखी सार्वजनिक संस्थाका रूपमा काठमाडौं विश्वविद्यालय विकसित हुन लागेको हो र शिक्षण संस्थाको सञ्चालनमा निजी क्षेत्रको भूमिका बढी हुनुपर्छ हुनुपर्छ भन्ने कुरा तत्कालीन सासदहरूलाई स्पष्ट पार्नमा एवम् बहुविश्वविद्यालयको अवधारणाप्रति सैद्धान्तिक सहमति जनाइसकेको अवस्थामा सरकारलाई आर्थिक भार नपर्ने गरी र कुलपति प्रधानमन्त्री रहने गरी खुल्न लागेको पहिलो विश्वविद्यालयलाई स्वीकृति दिँदा यो निर्णय नेपालको शिक्षा क्षेत्रमा दूरगामी असर पर्ने ऐतिहासिक मोडमा रूपमा भविष्यले व्याख्या गर्ने कुरामा सांसदहरूलाई विश्वस्त बनाउनमा उहाँले उल्लेख्य भूमिका खेल्नुभएको थियो ।


काठमाडौं विश्वविद्यालय संरक्षण समितिका पूर्वअध्यक्ष दमननाथ ढुङ्गानाको यही २०८१ साल मङ्सिर २ गते आइतबार ८३ वर्षको उमेरमा देहावसान भएको दुःखद खबरले काठमाडौं विश्वविद्यालय परिवारलाई अत्यन्तै मर्माहत बनाएको छ ।

वि. सं. २०४८ सालमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दमननाथ ढुङ्गानाले २०४८ सालदेखि २०५१ सालसम्म प्रतिनिधिसभाको सभामुखका रूपमा कार्यभार सम्हाल्नुभएको थियो ।

उहाँले प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन, जनआन्दोलन, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलन, मानव अधिकार आन्दोलन र संसदीय लोकतन्त्रको प्रवर्द्धनमा अहम् भूमिका खेल्नुभएको थियो। आन्दोलनरत माओवादीलाई मूलधारको राजनीति र शान्तिप्रक्रियामा ल्याउनमा पनि उहाँको ठूलो भूमिका थियो ।

उहाँको निधन भएको यो दुःखद समयमा दिवङ्गत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै काठमाडौं विश्वविद्यालय परिबार शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

मङ्गलबार ३ बजे केयुमा श्रद्धाञ्जली सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments