गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको अदालत
को सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे बताए ।
घिमिरेका अनुसार उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए ।
मनाङेको मागदाबी नपुग्ने फैसला भएको अदालतले जनाएको छ । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।
विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।
ज्यान मार्ने मनसायले आक्रमण गरिएको उल्लेख गरेर मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । उक्त अदालतले सामान्य कुटपिट मात्रै भएको उल्लेख गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । उक्त अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्षको जेल सजाय ठहर गर्यो । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित