भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास

काठमाडौँ / भारत सरकारको सहयोगमा धादिङको खनियावास गाउँपालिकामा कुरी स्वास्थ्य चौकीसहित ‘वर्थिङ सेन्टर’ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

आज संविधानसभा सदस्य दिलमान पाख्रिन, धादिङको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभयो । उहाँहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई अर्ब ५१ करोड लागतमा कुरी स्वास्थ्य चौकीसहित वर्थिङ सेन्टर निर्माण गर्न लागिएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीलगायत सामाजिक कार्यकर्ताको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उक्त अनुदान स्वास्थ्य चौकीमा सुविधासम्पन्न वर्थिङ सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य आवश्यक पूर्वाधार निर्माण गरी प्रयोगमा आउनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रूपमा लिइएको छ ।

यो स्वास्थ्य चौकीले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये बागमती प्रदेशमा एक सय आठ परियोजना रहेका छन् ।

साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौ वटा एम्बुलेन्स र तीन सय स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र तीन स्कुल बस उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments