राजनीति मार्फत् समाजसेवा, परिवर्तन, सहकार्य, सद्भाव, सह–अस्तित्वसहित समृद्ध समाज निर्माणका लागि क्रियाशील रहनुपर्ने तमाम युवापंक्ति या त विदेश पलायनको मनस्थितिमा छ या त बाटो बदल्ने मनस्थितिमा पुगेको देखिन्छ”
काभ्रेपलाञ्चोक/ नेपाली कांग्रेस पार्टीले आफ्नो सांगठनिक जीवनको निरन्तरताका लागि यस पटक नयाँ अभियानको यात्रा तय गर्यो ।
अभियान अन्तिम चरणमा पुगेको छ, जुन उद्देश्यले यो थालनी गरिएको थियो कागजी र व्यावहारिक रुपमा कति सफल भयो त्यो समिक्षाको बाटो रहला तर केन्द्रको नेतृत्व तहगत हुँदै मतदाताको घरदैलोसम्म बेमौसममा पुग्ने कामलाई भने केहि अनौठो, आश्चर्यजनक, केही बाध्यात्मक र केही सिर्जनात्मक रुपमा क्रियाशील भएको कुरालाई भने नकार्न सकिँदैन ।
समसामयिक विश्व राजनीतिमा करिब आठ दशकको समय ब्यतित गरेको पुरानो पार्टीलाई २१औं शताब्दीका जनता र मतदाताको भावनासँग जोडिने कुरा कठिन कर्म हो तर स्थापनाको उद्देश्य र सुरुआती दिनदेखि नै व्यक्तिगत स्वतन्त्रताका लागि राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारा लिएर गठन भएको पार्टी र यसले गरेका संघर्षका नालीबेलीलाई सुनौलो ऐतिहासिक कोणबाट हेर्दा अझै केहि शताब्दीसम्म यो विचारले जरो गाड्ने कुरामा शंका गर्न सकिँदैन ।
चिन्ता यति हो समय सापेक्ष चल्नका लागि, जनचाहना सम्बोधन गर्नका लागि क्षितिजमा देखिएका विश्वव्यापीकरण र यसका असरलाई सामना गर्न, बढ्दै गएको बेरोजगारीको सहि व्यवस्थापन गर्न, प्राविधिक, आर्थिक, शैक्षिक वातावरणीय र यान्त्रिककीरणको चुनौतीलाई समय सापेक्ष पार लगाउने दृष्टिकोण र कार्यान्वयनमा लग्ने तागत निर्माणका लागि यहि पद्धति र संरचना सोच र सार्मथ्य काबिल छ कि छैन र ? सो अनुसारको नीति र नेतृत्व हुने कुरामा संसय उत्पन्न भएकोबाट भने कांग्रेसले गम्भीर र फराकिलो आत्मसमिक्षा गर्नुपर्ने देखिन्छ ।
नेपालको सबै आन्दोलनको नेतृत्वकर्ता सबै समयमा जनताको भलाईका लागि सम्पूर्ण शक्ति खर्च गरेको २००७ सालदेखि ०७२ सम्म निर्माण गरिएका संविधानमा कहिँ अपनत्व खोज्ने र कहिँ जिम्मेवारी लिने काम कांग्रेसले गरेको दाबी गर्न नछोड्ने कांग्रेसजनले यसपटकको अभियानमा ईतिहासलाई बेच्नलाई वर्तमान पनि राम्रो र भविष्य पनि उज्ज्वल बनाउने खाका ल्याउन अभियानका क्रममा सुझाव दिएका छन् ।
कांग्रेसले आफ्नो संरचना भित्रका नेता, कार्यकर्ताको व्यवस्थापनसँगै जनताप्रति जिम्मेवार र जवाफदेहि मतदाताको मर्म र भावनामा सहि मलमपट्टि र जनादेशको सम्मान र समर्थन जुटाउन यस अघि पनि केहि न केहि अभियान सञ्चालन गरेको थियो ।
सांगठनिक जीवनमा सदस्यता प्राप्ति, नेतृत्वको चयन, प्रशिक्ष्ण, रोजगारी, सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने विकास निर्माणमा क्रियाशील रहने सुशासन, पारदर्शिता र जवाफदेहिता, जनसहभागिता र समग्र देशको बृहत्तर हितका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो र नेपालमा यो अभियानको एउटै र निरन्तर नेतृत्व गरेको पार्टी भएको दाबी गरिरहे पनि वैकल्पिक महानमुनाका रुपमा लोकतन्त्रलाई अंगीकार गर्ने पार्टीहरुको बराबरी र साझेदारी रहनुले कांग्रेसलाई आगामी सांगठनिक र राजनीतिक जीवन सहज हुन नसक्ने आन्तरिक र वास्तविक तथ्यांकको पुष्ट्याई जनसांख्यिय तहगत वर्गीकरण र निराशाका चाङ्गको बढ्दो क्रमलाई समयमै उचित सम्बोधन एवं व्यवस्थापन गर्न सकिएन भने एकपटक कांग्रेस लगायत सबै सरोकारवालालाई झस्काउने कुरा नकार्न सकिन्न ।
सर्वप्रथम राष्ट्र र राष्ट्रियताको सवाल र सन्दर्भलाई यसका संरचना र संगठनलाई, यसको साधन र स्रोतलाई मतको मुहान र गन्तव्यलाई यसका सरोकारवाला र सञ्चालकलाई आफ्नो क्षमता र गौरव गाथालाई पनि नजिकबाट नियाल्नुपर्ने देखिन्छ ।
कांग्रेसको दृष्टिकोण केवल सत्तामा जाने, सत्ता साझेदारी गर्ने, कार्यकर्ताको केही व्यवस्थापन गर्ने, दैनिक प्रशासन सञ्चालन गर्ने मात्रै होइन की ? प्रश्न उठाइएको छ, लोकतन्त्रलाई भद्दा मजाकको विषय बनाइनु र केहीलाई लुटतन्त्र मचाउन छुट दिनु, विश्वसमुदाय नै चकित पर्ने गरी भ्रष्टाचार, विकृति, विसंगतिको अखडा बनेकोमा समेत बेवास्ता गरिनु, लोकतन्त्रका संरक्षक संसद, अदालतजस्ता निकायलाई प्रभावहीन बनाउन मलजल गर्नु आदि जस्ता क्रियाकलापले जनताले पार्टीको चिन्तासँगै देशको चिन्ता, व्यवस्थाको चिन्ता र आफ्नो सन्ततीको चिन्ता गरेको कुरा पनि अभियानको क्रममा भेटिएको छ ।
बाढीपहिरोबाट घरबार विहीन हुँदा, भुकम्पपछिका संरचना बनाउन नसक्दा, सन्तानलाई बेरोजगारीबाट मुक्त गराउन खाडीमुलुक पठाउनुपर्ने बाध्यता हुँदा, उत्पादनसँग राज्यले कुनै सरोकार र व्यवस्थापन नगर्दा बढ्दै गएको गरिबी र निराशालाई अभियानले राहत दिन नसकेको चर्चा गरियो ।
किसान, युवा, मजदुर, गृहिणी, विद्यार्थी, जेष्ठ नागरिक, सबै वर्गका व्यक्ति र समुदायसँगको सम्पर्क सेवा प्रवाहका क्रममा टुटेको र आफ्नै अगाडिका सबै संरचना भत्किँदा पनि केन्द्रीय सरकारले राज्य भएको सरकार भएको अनुभूत गराउन नसक्दा बाढीपहिरोबाट पीडित मतदातालाई यस अभियानले छोएन ।
सरोकार पनि राखेनन् थप गुनासो पनि गरेनन्, प्राकृतिक विपत्ति भन्ने बुझेर पनि होला पार्टीका नेता कार्यकर्ताको क्षमता बाहिरको भनेर पनि होला! उनीहरुले सरकार नभएको, अभिभावक नभएको मात्रै गुनासो गरे । यदाकदा पार्टीको कार्यकर्ता सामाजिक कार्यहरुमा सहभागिता जनाउँदा नेतृत्वप्रतिको आलोचना र आक्रोश भने कायमै देखियो ।
यस्तो सचित्र पृष्ठभूमिका बीच देशव्यापी सञ्चालनमा ल्याइएको अभियानमा तीनै तहको सरकारको कामको समीक्षा, नीतिगत र कानूनी अड्चन, शासकीय स्वरुप र संविधान संशोधन गर्नुपर्ने विषय सेवा क्षेत्रको विशिष्टिकरण कृषि प्रणालीको सुचारु, बजार अर्थतन्त्रको विश्लेषण, प्राकृतिक स्रोत साधनको दोहन रोक्ने, वातावरण पर्यावरण जोगाउने, खोलानाला तटबन्ध, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास समष्टिगत रुपमा संगठन र सत्ताबीचको बेमेल र समीकरणका सबै प्रयोग र विधिबारे चर्चा हुनुलाई सकारात्मक रुपमा र यी सरोकारसँग समन्वय र साझेदारी गर्दै सुन्दर सुदूर भविष्य निर्माण गर्ने मार्गचित्रका लागि स्वस्थ शरीर भएको पूर्ण कांग्रेसको संरचना बनाउनुपर्ने आवाज सर्वत्र उठेको छ ।
सिद्धान्तले, विधिले, पद्धतिले मात्रै पेट नभरिने र भरपोषणको लागि वैदेशिक रेमिटेन्स र अनुदानबाट मात्र सम्भव हुने हो र सरकार सम्पूर्ण रुपमा विदेशीको भर पर्दै जानुपर्ने अवस्था आउनु पनि कांग्रेस पार्टी र लोकतन्त्रको लागि खुल्ला चुनौती बनेको छ ।
नेपाली कांग्रेस पुरानो संस्थागत र विधि विधानअनुसार हिँड्ने र सोही मार्गमा अरुलाई हिँडाएको दाबी गर्ने पार्टी हो ।
खुल्ला बहस, नेतृत्वको सही आलोचना, सामाजिक र विकास निर्माणको हिस्सेदार स्वतन्त्रताको हिमायती र लोकतन्त्रको अभ्यास गर्ने पार्टी भएकोले पनि आम स्वतन्त्रता पक्षधर यसको शुभेच्छुक हुने गर्दछन् ।
विश्वभरी छरिएर रहेका तमाम नेपालीहरु पनि ती देशहरुमा भएका प्रजातान्त्रिक अभ्यास र विकासलाई हेरेर बृहत्तर लोकतान्त्रिक परिधिले नै मानव सभ्यताको पहिचान, सभ्य र सु–संस्कृतियुक्त नागरिकको पहिचान गराउँछ र यसको मापन सम्वृद्ध नागरिक सु–संस्कृत समाजको निर्माणको सबैभन्दा माथिल्लो राजनीतिक आधार हो भन्ने भाखा गरिन्छ ।
यहि मान्यताका आधारमा पार्टी र जनता, मतदातासँगको सामीप्यता निरन्तर कायम राख्नुपर्छ भन्ने नयाँ र परिष्कृत व्यावहारिक मान्यताका आधारमा जनताप्रति विमुख हुने प्रवृत्तिलाई त्याग्दै मतदातासँग जोडिने आधार पार्टीको तल्लो इकाई वडा र टोल समिति दुवै समुदाय र घरघरसम्म जोडिनका लागि यो अभियान ल्याइएको देखिन्छ ।
आफ्नो संविधान आफैंले आफ्ना प्रतिनिधिमार्फत् निर्माण गरेपश्चात सम्पन्न गरिएका तीनै तहका दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरु राज्यको पुनर्संरचना अनुसारका जनप्रतिनिधिहरुको घरदैलो सेवा, सामाजिक कार्यमा सघाउने, विकासमा र दायित्त्बारे जानकारी गराउने अप्ठेरो पर्दा घटना दुर्घटना हुँदा उद्धार, राहत, निर्माण पुनर्निर्माण जस्ता काममा सघाउने आफ्नो प्रतिनिधि भएको महसुस गराउने काममा क्रियाशील छन् कि छैनन्? नेपाली कांग्रेसलाई झण्डै आठ दशकसम्म जोगाएर राखेका कार्यकर्ता शुभचिन्तक र मतदाता के कस्तो अवस्थामा छन् ?
पार्टीको तल्लो युनिट टोल समिति, वडा समिति, पालिकास्तरको समिति, प्रदेश, क्षेत्र र प्रतिनिधिसभा, जिल्ला र प्रदेश समितिमा सबै संरचनाभित्र रहेका नेता कार्यकर्ताको अवस्था के छ ? के उनीहरुले आम मतदाता र जनतासँगको सम्पर्क र समन्वयलाई प्रभावकारी ढंगले परिचालन गरेका छन् ? सो विषय पनि १०० दिने अभियानको खोजी र पूर्णता दुवै जोडिएको विषय हो ।
पार्टीको चौधौं महाधिवेशनमा गठन भएका सबै तहको संरचना, हालको अवस्था, भातृ तथा शुभेच्छुक संस्थाको सबै संरचना गठन, परिचालन भए नभएको, जेष्ठ राजनीतिक, किसान, महिला, श्रमिक, पेशाकर्मी, युवा, आम पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक सबैको अभिलेखीकरण तल्लो तहदेखि नै गर्नका लागि सदस्यता प्राप्तिका विशिष्ट आधारहरु खुलाई मूल्यांकन पद्धतिलाई कायम गर्न, लोकतान्त्रिक आन्दोलनमा शहिद भएका परिवारको अवस्था, घाइते, अपाङ्गको अवस्था दीनदुःखी, गरिब र असहायको सहयोगी र साथी बन्दै पार्टीको पंक्तिलाई एकैचोटी देशभरि परिचालन गरी चलायमान बनाउने उद्देश्य सहित पार्टीको केन्द्रदेखि तहगत तल्लो संरचनाका लाखौं कार्यकर्ता, शुभचिन्तक यस अभियानमा परिचालित भएका छन् । नेपाली कांग्रेस र नेपाली जनताको लागि यो सुखद अनुभूति हुनसक्छ ।
नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि ०८२ चैत्र मसान्त अघि नै सक्ने मिति यस अघि नै तय गरिसकेको छ । चौधौं महाधिवेशनका लागि भरिएका क्रियाशील सदस्य वितरण गर्ने, अध्यावधिक गर्ने, नयाँ सदस्यको वितरण प्रक्रिया शुरु गर्ने बाँकी रहेका भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन सम्पन्न गराउने आदि कामहरु पनि १०० दिने अभियानको अर्को उपलब्धी देखिन्छ ।
नेपाली कांग्रेस काभ्रेले पनि केन्द्रीय सर्कुलर अनुसार यो अभियानलाई करिब करिब सम्पन्न गरिसकेको छ । सदरमुकाम धुलिखेल, पनौती सहित केही नगरपालिकाका वडा सम्मेलन बाँकी रहेको छ ।
१४औं महाधिवेशन पछि थप सशक्त र चलायमान भएको दाबी गरिएको संगठन पछिल्ला दिनहरुमा नेतामुखी बन्दै गएको आभाष भएको छ ।नेताहरु गाउँ छिर्दा मात्र पछि लाग्ने कार्यकर्ताहरु पार्टी संगठन भन्दा पनि आफू कसरी स्थापित हुने होडबाजीमा दौडिएका छन् ।
यस बिचमा केही भातृ तथा शुभेच्छुक संस्थाका अधिवेशन पनि सम्पन्न भएका छन् तर आकर्षण देखिएको छैन । मौलाउँदै गएको व्यक्तिवादी प्रवृत्तिले केन्द्रदेखि वडासम्म नै गिजोलिएको छ ।
कार्यकर्तामा विचलन आएको देखिन्छ । राजनीति मार्फत् समाजसेवा, परिवर्तन, सहकार्य, सद्भाव, सह–अस्तित्व सहित सम्वृद्ध समाज निर्माणका लागि क्रियाशील रहनुपर्ने तमाम युवापंक्ति या त विदेश पलायनको मनस्थितिमा छ या त बाटो बदल्ने मनस्थितिमा पुगेको देखिन्छ ।
यो परिस्थितिबाट अगाडि बढ्नलाई काभ्रे कांग्रेसलाई चुनौती थपिएको छ । यसको पछाडि पार्टीमा मौलाउँदै गएको अनुशासनहिन, इमान्दारिता र म बाहेक कोहि पनि होइन भन्ने प्रवृत्तिले घर गरेको छ ।
यसलाई चिरेर, अनुशासनको दायरा फराकिलो बनाएर दण्ड र अवसरको निम्ति अभिलेखीय पद्धति राखेर, सामाजिक, आर्थिक रुपमा अनुशासित र निरन्तरताको मापदण्ड बनाएर नजिक र टाढाभन्दा पनि संगठनलाई मूलघर, विधि विधान, पद्धति र परम्परालाई संस्कारको रुपमा अंगीकार गर्न सके थप सशक्त र प्रभावकारी संगठन बन्न सक्छ ।
काभ्रे कांग्रेसको १०० दिने अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सांसद जितजंग बस्नेत केन्द्रीय प्रतिनिधिको रुपमा सामेल हुनुहुन्छ ।
उहाँले रोशी, चौंरीदेउराली, तेमाल, मण्डनदेउपुर, भुम्लु लगायतका स्थानहरुमा आफैं उपस्थित भएर पार्टीको अभियानको बारे जानकारी गराउनुभएको थियो ।
जिल्लामा पार्टीका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधु आचार्य, गणेश लामा, बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तिर्थ लामालगायत पदाधिकारी सहित पार्टीका सबै संरचनाका पदाधिकारी अभियानमा भ्याउँदासम्म परिचालित भएका छन् ।
यसले पार्टी जीवनमा केहि रक्तसञ्चार त गरेकै छ तर आगामी महाधिवेशन केन्द्रित गतिविधि र भाषागत स्खलनले मनोवैज्ञानिक असर गरेको छ र। मतदाताहरुमा केहि खल्लोपना, निराशा छाएको छ, यसलाई प्रष्ट्याउँदै र निराकरण गर्दै अघि बढेमा नेपाली कांग्रेस काभ्रे आगामी दिनमा अझ बढी सशक्त र प्रभावकारी बन्दै जानेछ । १४ औं महाधिवेशन पछाडि काभ्रे जिल्लामा संसदीय र स्थानीय तहमा कांग्रेसको वर्चश्व छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित