बागमती प्रदेश सभा बैठक

बाढीपहिरोले क्षतिग्रस्त संरचना तत्काल बनाउन सुरु नभए वर्षातमा रोशी जलाधारक्षेत्र र बिपी हाइवेमा समस्या आउनेः प्रदेश सभा सदस्य लामा

क्षतिग्रस्त पालिकाहरुमा मुख्य मन्त्री र मन्त्रीहरुको उपस्थिति रह्यो, आश्वासनहरु दिनु भयो । तर, बागमती सरकारको उपस्थिति अत्यन्त फितलो रह्यो”

काठमाडौं/नेपाली काँग्रेसका ७७ वटै जिल्ला सभापतिहरुको पोखरामा सम्मलेन जारी थियो । सोही सभामा सहभागी भइरहेका काँग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामालाई भने कुन बेला हेटौंडा पुग्नु र प्रदेश सभामुखसँग विशेष समय माग्नु भन्ने बेचैनी थियो ।

असोज दोस्रो साताको बाढीपहिरोको क्षतिले पीडामा रहेका काभ्रेपलाञ्चोकका नागरिकहरुको पीडामा बागमती सरकारले खासै मह्लम नलगाएको अनुभूत भएका लामाको एउटैमात्र ध्येय थियो–बाढीपहिरोको क्षतिको अवस्था र पुननिर्माणमा भइरहेको ढीलासुस्तीलाई सभामुखमार्फत प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने ।

त्यही भएर मंगलबार राती पोखराबाट हेटौंडा पुगेका लामाले प्रदेश सभाको सुरुवातीमै विशेष समयका लागि सभामुख भुवन पाठकलाई राजी गराए । प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशनको दोस्रो बैठकमा बुधबार जिल्लाको बाढीपहिरो र पुनिर्माणको आवश्यकताबारेमा लामै समय खर्चिएका सदस्य लामाले सबै सदस्यहरुको ध्यान खिचेको देखिन्थ्यो ।

असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोक जिल्लामा पुगेको क्षतिलाई बिस्तारमा उनले भने, ‘काभ्रेको ४ वटा पालिकामा विशेष गरी पनौती रोशी, बेथानचोक र नमोबुद्धमा धेरै क्षति भएको छ । अरु ९ वटा पालिकामा पनि क्षति छ । क्षतिग्रस्त पालिकाहरुमा मुख्य मन्त्री र मन्त्रीहरुको उपस्थिति रह्यो, आश्वासनहरु दिनु भयो । तर, बागमती सरकारको उपस्थिति अत्यन्त फितलो रह्यो’, लामाले भने ।

काभ्रेपलाञ्चोकका बाढीपहिरो प्रभावित नागरिकहरुले प्रदेश सरकारलाई हेरिरहेको बताउँदै उनले पछिल्लो अवस्था चित्रण गरे, ‘यतिखेर रोशी जलाधार क्षेत्रभित्रका आम जनताको दर्दनाक अवस्था रहेको छ । हजारौ हेक्टर अन्नबाली नष्ट भएको छ । खेतबारी बगाएको छ । घरधुरी क्षति भएको छ । पक्की पुल, झोलुङ्गे पुलहरु, सिंचाई, खानेपानी, तबटबन्धहरु भत्केका छन् । अस्पताल, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरु पूर्ण क्षति भएका छन् । यी क्षतिको पुननिर्माणका लागि सभामुखमार्फत बागमती सरकारको ध्यानाकर्षण गराउँछु’ लामाले थपे ।

आगामी वर्षा अगावै बिपी हाइवेमा अवरोध नहुने अवस्था बनाउन नसकेमा पूर्वी तराई र मध्यपहाडी जिल्लाको सम्पर्क टुट्न सक्नेप्रति उनले सचेत गराए । ‘बीपी राजमार्गको ९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । रोशी खोलाको उचाई ४–५ इन्च बढेकाले अबको वर्षामा बिपी हाइवे पूर्ण रुपमा बन्द हुनेवाला छ । यो प्रदेश सरकारभित्रै पर्छ । थानसिङवेंशीको पुल बगाइसकेको छ । काभ्रेको डाँडापारीको सम्बन्ध टुट्न नदिनको लागि रोशी खोलाको पुल तत्काल बनाउनु पर्छ । बागमती सरकारले यसको तत्काल डिपिआर गर्नु पर्छ र बजेट विनियोजन गरेर काम अघि बढाइ हाल्न अनुरोध गर्दछु ।’

विपद् प्रभावित स्थानीय तहको पुनः निर्माणमा प्रदेश सरकारको ध्यानाकर्षणका लागि ‘रुलिङ’ गर्न समेत लामाले सभामुखलाई आग्रह गरे । ‘मुख्य मन्त्रीसहित सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउँछु । यस्तै, आर्थिक वर्ष ०८१/८२ को बजेट विनियोजन गर्ने क्रममा रोशी, पनौती, नमोबुद्ध र तेमाल गाउँपालिकालाई विशेष बजेट दिनका लागि अनुरोध पनि गर्दछु’, उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments