लुम्बिनी/ रूपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ ।
स्थापना दिवसको मूल समारोहका वक्ताहरूले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल बन्दै गएकोे भन्दै उहाँहरूले पर्यटनलाई विशेष प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको बताउनुभयो । मानव संसाधनको विकासगरी नगरलाई पर्यटनको हब बनाउनुपर्ने उहाँको सुझाव छ ।
“भारतसँग सीमा जोडिएका कारण पनि नगरमा पर्यटनको सबैभन्दा राम्रो सम्भावना छ”, सभापति चपाईंले भन्नुभयो, “यसका लागि सबै जनप्रतिनिधि एकढिक्का भएर काम गरे नगरले पर्यटनका माध्यमबाट आफ्नो पहिचान स्थापित गर्नसक्छ ।”
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आमनागरिकमा स्थानीय सरकारप्रति थप विश्वास बढिरहेकाले कार्यसम्पदान चुस्त हुनुपर्ने बताउनुभयो ।
नगरले पछिल्ला वर्षहरूमा गरेको भौतिक, मानवीय र अन्य विकास सराहनीय रहेको भन्दै उहाँले औद्योगिक र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउन सुझाव दिनुभयो ।
सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरणलगायतलाई आफूहरूले प्राथमिकतामा राखेको जनाउनुभयो । “नगरलाई सुन्दरीकरण गरी अधिक पर्यटक यहाँ आउने वातावरण सिर्जना गर्न हामी लागि परेका छौँ”, उहाँले भन्नुभयो, “निजी क्षेत्र र आमनगरवासीको साथ लिएर काम गरिरहेका छौँ, आउँदा दिनमा पनि यहाँहरूको सहयोगको अपेक्षा राखेका छौँ ।”
शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद ढकालले सिद्धार्थनगर पर्यटन व्यवसायका लागि उपयुक्त भएको उल्लेख गर्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल र कपिलवस्तुको वाणगङ्गा नगरपालिका उपप्रमुख रीताकुमारी चौधरीले सिद्धार्थनगरको विकास मुलुकमै हेर्न लायक भएको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाउनुभयो ।
उहाँले महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढ्न आग्रह गर्नुभयो । नगरपालिकाको टिमवर्कका कारण धेरै राम्रा र सकारात्मक कामले गति लिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा तीन पटक वा सोभन्दा बढीपटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरू भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दिलीपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरूलाई सम्मान गरिएको थियो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सङ्घसंस्थाका प्रमुख तथा समाजसेवीलाई समेत सम्मान गरिएको थियो । यस्तै, सङ्घसंस्थाबाट नगरमा धेरै कर बुझाउने भैरहवा मेडिकल कलेज र व्यक्तिगततर्फ धेरै कर बुझाउने गोमादेवी पौडेल उप्रेतीलाई पनि सम्मान गरिएको कर्मचारी प्रशासन महाशाखाका प्रमुख देव ज्ञवालीले जानकारी दिनुभयो ।
मूल समारोह अघि भैरहवाका ४० बढी सङ्घसंस्थाको उपस्थितिमा नगरपालिकाको कार्यालयदेखि महेन्द्र सभागृहसम्म प्रभातफेरी गरिएको थियो ।
विसं २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसङ्ख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा नगरपालिकाले आइतबार जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट र महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच सोमबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो ।
यी कार्यक्रममा विजयी टिमलाई समारोहमा पुरस्कार वितरण गरिएको थियो । दिवसका अवसरमा मङ्गलबार सिद्धार्थनरमा स्थानीय बिदा समेत दिइएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित