काठमाडौँ/ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।
वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।
यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ ।
आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ ।
सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ । नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ ।
आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।
राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वहरुमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ, श्रीपञ्चमीका रुपमा मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ, मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ, यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ ।”
पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरु स्थापना गरी सामूहिक पूजा–अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गर्दा उहाँले यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रुपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दू विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरुले नृत्य, गीत–सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजा–अर्चना गर्छन् ।
यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र सङ्गीत साधनामा प्रयोग हुने सामग्रीहरुलाई सबैले सम्मान गर्न सक्नुपर्दछ भन्ने सन्देश दिन्छ । आजको दिन अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुलाई विद्या अध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित