सडक र सार्वजनिक स्थलमा हुने लुटपाट त प्रहरीको भौतिक उपस्थिति बढाएर रोकथाम गर्न सकिएला, तर घरभित्रै बसेको मान्छेलाई वैङ्क र वालेट सेवाका नक्कली मान्छेले ओटिपी माग्दै खाताबाट पैसा सार्ने गरेका जस्ता असुरक्षा बढ्दै गएकाले यतातिर सजगता अपनाउने पर्ने बेला आएको
काठमाडौँ / ‘सहरमा भौतिक असुरक्षाभन्दा डिजिटल असुरक्षाको खतरा बढ्दै गएको छ ।’ सुरक्षा साझेदार अधिकारीहरुले भनेका छन्, ‘सडकको असुरक्षालाई निगरानी गर्न सिसिटिभी क्यामरा जडा गर्न सकिन्छ । सुरक्षाकर्मीको सक्रियता बढाउन सकिन्छ । यसले सम्भाव्य असुरक्षा टार्न सकिन्छ । तर, डिजिटल असुरक्षाबाट व्यक्तिलाई बचाउन व्यक्ति आफ्नै प्रयत्नबाहेक अरुबाट सम्भावित जोखिम घटाउन सकिँदैन ।’
काठमाडौं महानगरपालिका वडा नं. १८, प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र, जनसेवाले मेपु सापु दिगु द्य छेँ, भुरुङ्खेलमा आयोजना गरेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम, नागरिक सुनुवाई’ र ‘महिला सशक्तिकरण र वौद्धिक क्षमता विकास कार्यक्रम’ मा बोल्दै प्रहरी अधिकारीहरु र जनप्रतिनिधिहरुबाट एउटै जोखिम देखाइएको हो ।
कार्यक्रममा वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘अस्पताल र प्रहरीको सेवा सकेसम्म लिनु नपरोस् । लिनु पर्ने अवस्था आयो भने तत्काल पाइयोस् ।’ आत्मरक्षाको तालिम प्राप्त महिलाहरुलाई प्रमाण पत्र प्रदान गर्दै उहाँले भन्नुभयो, ‘घरबाट बाहिर निस्कन डराउनु नपरोस् भनेर हिम्मत प्रदान गर्न आत्मरक्षाको तालिम दिइएको हो । आवश्यक परेको ठाउँमा तालिममा सिकेको सिप प्रयोग गर्नुहोला ।’
कार्यक्रममा प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकार र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले आपत परेको बेला अन्यत्र नहेरी १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । नजिकको प्रहरीको नम्बरमा सम्पर्क व्यस्त आउन सक्छ । १०० नम्बरमा फोन एकै पटक १८ जनाको फोन उठाउन सकिने, सम्पर्क हुनासाथ सबैतिर एकैपटक सूचना प्रवाह हुने भएकोले यो नम्बर प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
सडक र सार्वजनिक स्थलमा हुने लुटपाट त प्रहरीको भौतिक उपस्थिति बढाएर रोकथाम गर्न सकिएला, तर घरभित्रै बसेको मान्छेलाई वैङ्क र वालेट सेवाका नक्कली मान्छेले ओटिपी माग्दै खाताबाट पैसा सार्ने गरेका जस्ता असुरक्षा बढ्दै गएकाले यतातिर सजगता अपनाउने पर्ने बेला आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ट्राफिक प्रहरी वृत्त जनसेवाका प्रहरी निरीक्षक अनुप अधिकारी र ट्राफिक प्रहरी वृत्त सोह्रखुट्टेका वरिष्ठ नायव निरीक्षक नवराज तिवारीले यातायात आवागमनलाई सहज बनाउन स्थानीयबासीको सहयोगले अहम् भूमिका खेल्ने बताउनुभयो । सहरमा एकै पटक सडक निर्माण तथा मर्मतको काम हुँदा सवारी आवागमन व्यवस्थापन गर्न धेरै कठिन परेको छ । एकातिर सडकको काम सकेर अर्कोतिर थाल्न पाए, सवारी पास गराउन सहज हुन्थ्यो । उहाँहरुले, विकास साझेदारको ध्यान आकर्षित गर्नुभएको थियो ।
सुनुवाई कार्यक्रममा नागरिकहरुले प्रविधिमा आधारित सिसिटिभी क्यामराको संख्या बढाउनु पर्ने, टोलमा १८-२० वर्षका युवाहरुले लुटपाट गर्ने भएकोले यस्ता क्रियाकलाप नियन्त्रण गर्नुपर्ने, लागू औषध दुव्र्यसनीबाट व्यक्तिगत सुरक्षामा संकट आएकोले दुर्व्यसनीलाई नियन्त्रण गर्नुपर्ने, मादक पदार्थ खाएर होहल्ला गर्नेलाई नियन्त्रण गर्नुपर्ने माग राख्नुभएको थियो ।
उहाँहरुको सवालमा प्रहरी अधिकारीहरुले नागरिकहरुले सुरक्षित रहन पाउने अधिकार प्राप्त गर्न नजिकमा घटेका घटना, घटना घट्न सक्ने सम्भावित अवस्था र क्रियाकलापका विषयमा तत्काल प्रहरीलाई सूचना दिनुपर्ने दायित्व निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।
वडाले न्युभिजनसँगको सहकार्यमा सञ्चालन गरेको महिला सशक्तिकरण तथा वौद्धिक क्षमता विकास कार्यक्रममा आत्मरक्षाका उपाय सिकाइएको थियो । यस्तै समय व्यवस्थापन र सकारात्मक प्रतिस्पर्धा सिप सिकाइएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित