धुलिखेल/ पूर्व प्रदेश मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाको समन्वयमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालमार्फत बिहीबार जिल्लाका ६ वटा स्थानीय तहका गर्भवती र सुत्केरीलक्षित गरी १ हजार ९० वटा ब्लाङ्केट वितरण गरिएको छ ।
महासंघकी संस्थापक अध्यक्ष समेत रहनु भएकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउबाले धुलिखेलस्थित हिमालय दृश्य होटलको प्राङ्गणमा स्थानीय तहका प्रमुख/अध्यक्ष र प्रशासकीय अधिकृतहरुलाई ती ब्लाङ्केट हस्तान्तरण गर्नुभएको हो ।
गत असोजको दोस्रो साताको बाढीपहिरोबाट प्रभावित गर्भवती र सुत्केरीहरुका लागि स्थानीय तहले यी ब्लाङ्केट वितरण गर्ने भएका छन् । स्थानीय तहका स्वास्थ्य शाखाहरुमा रहेको सुत्केरी तथा गर्भवतीहरुको अभिलेखका आधारमा ब्लाङ्केट उपलब्ध गराइएको महासंघकी कार्यसमिति सदस्य लक्ष्मी खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका २ सय ३०, रोशीका १ सय ५३, पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका २ सय १७, भुम्लुका १ सय ३ र तेमालका ७१ गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट उपलब्ध गराइएको हो ।
ब्लाङ्केट हस्तान्तरण गर्नुहुँदै परराष्ट्र मन्त्री डा. देउवाले आफू स्वयं प्रसव पीडाका क्रममा ज्यान नै गुमाउने जोखिममा पुगेकाले यसरी सुरक्षित मातृत्व अभियानमा लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सन्तानलाई जन्म दिने बेलामा म जुन प्रसव पीडाबाट गुज्रिएँ, मर्छु की बाँच्छु भन्ने अवस्थामा पुगेको थिएँ । म र मेरो सन्तान त बाँच्यौं, तर यही पीडा भएका अन्य महिला बच्न सक्लान की नसक्लान् भनेर यो अभियानमा जोडिएकी हुँ,’ देउवाले थप्नुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री एवं नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य सुधार आए पनि सरकारले लिएको लक्ष्य हासिल गर्न विशेष कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति लाख ७० मा झार्ने लक्ष्य लिएको छ ।
सो अवसरमा बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस काभ्रेका सभापति तीर्थ लामाले असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोले जिल्लामा अर्बौं रुपैँयाको भौतिक क्षति भएको भन्दै त्यसको पुनर्निर्माणको लागि सघाउन अनुरोध गर्नुभयो । बीपी राजमार्गको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि परराष्ट्रमार्फत जापान सरकारसमक्ष पहलका लागि समेत परराष्ट्रमन्त्रीसामु उहाँको आग्रह थियो । यस्तै, जिल्लाका अन्य भौतिक पूर्वाधारहरुको निर्माणका लागि पनि मन्त्रालयमार्फत दाताहरू खोजिदिन अनुरोध गर्नुभयो ।
महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठले विपद्का बेलामा महासंघले प्रभावित समुदायका लागि सक्दो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । नेपालमा सुरक्षित मातृत्वसँग सम्बन्धित नीति नियम तर्जुमाका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महासंघलाई प्रमुख साझेदारका रूपमा अँगालेको बताउनु भयो ।
सो अवसरमा काठमाडौं विश्वविद्यालयका उपककुलपति प्राडा भोला थापा, केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन एवं वरिष्ठ मुटुरोग विज्ञ डा. राजेन्द्र कोजु, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान सहभागी हुनुहुन्थ्यो ।
यसैगरी, पनौती नगर कार्यपालिकाका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगर कार्यपालिकाका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोकका अध्यक्ष भगवान अधिकारी, धुलिखेलका नगर कार्यपालिकाका उपप्रमुख निराजन जङ्गम, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्षद्वाया इश्वरीप्रसाद ओझा र मोतीराम तिमल्सिना, अग्रज पत्रकार मधुसुधन गुरागाईं, पत्रकार महासंघका पदाधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जुकुमार कोजु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलगायत शुभेच्छुकहरुको सहभागिता थियो ।
हिमालय दृश्य होटलका सञ्चालक श्यामकाजी महतलगायत होटल कर्मचारीहरुले परराष्ट्रमन्त्री डा. देउबालाई पुष्पगुच्छाले सम्मान गरेका थिए ।
विगतका सेमिनार हलमा भन्दा होटलकै प्राङ्गणमा फरक तरिकाले कार्यक्रम आयोजना गरिएको थियो । धुलिखेलबाट राम्रोसँग नियाल्न सकिने लाङटाङ हिमश्रृंखलालाई ‘ब्याक ड्रप’ मा पारेर बनाइएको अतिथि मञ्च पछाडि हिउँविनाका लहरै हिमाल देखिएको थियो ।
हिमलहर देखेर मख्ख पर्नु भएकी परराष्ट्रमन्त्रीले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको तथ्यलाई पुनः दोहर्याउनु भयो । अन्तर्राष्ट्रिय मञ्चहरुमा विगतदेखि नै उहाँले नेपालमा जलवायु परिर्वतनले पारेका प्रभावबारे दह्रोसँग आवाज उठाउँदै आउनु भएको छ ।
उहाँले चिन्तासहित भन्नुभयो, ‘जलवायु परिवर्तनको असरका कारण नेपालमा बर्षायाम सकिएपछि गएको असोजमा बेमौसमी बाढीपहिरो आयो, यो विपत्ति ल्याउन नेपालले कुनै बातावरणीय प्रभावका काम गरेको छैन, गल्ती नगर्दा पनि अन्य देशका कारण भएको जलवायु परिवर्तनको असरले निम्त्याएको विपत्तिले जनधनको क्षति ब्यहोर्नुपर्यो ।’
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित