नेपाली आतिथ्यतासहितका सारथी ब्राण्डका होटलहरु नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुमा थप हुँदै जानेछन् । जसमा सारथीकै आफ्नै लगानी र स्वामित्वमा, स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा र व्यवस्थापन नै जिम्मामा लिएर सारथीको ब्राण्डमा आतिथ्यता सेवा दिने मोडल तय गरेका छौं । यसको सुरुवात हामीले सौराहाबाट गरिसकेका छौं ।’
धुलिखेल/अरनिको राजमार्गको दायाँबायाँ धुलिखेलमा र सहज पहुँचभन्दा अन्यत्र होटल रिसोर्ट चल्दैन भन्ने भाष्य परिवर्तकका रुपमा धुलिखेल–८ भट्टीडाँडाक्षेत्रको चल्तीको आतिथ्य सेवा ‘होटल सारथी’ लाई लिइन्छ ।
हुन पनि, धुलिखेल–८ भट्टीडाँडाक्षेत्रलाई संघीयता अगाडिको धुलिखेल नगरपालिकामा ‘धुलिखेलको कर्णाली’ उपमा दिइन्थ्यो । यद्यपि एकाध होटलहरु जेनतेन चलिरहेको अवस्था थियो । साँच्चै भन्ने हो भने, त्यस क्षेत्रमा होटल रिसोर्टमा ठुलो लगानी गर्न जानेहरु तत्कालीन समयमा हच्किन्थे ।
त्यस्तो परिस्थितिमा सारथी समूहले हिम्मत नै गरेको मानिन्छ । धुलिखेल पिपलबोटबाट भट्टीडाँडा जाने बाटोको दुरावस्था, खानेपानीको अभाव र ग्रामीण परिवेशको सो क्षेत्रलाई पनि आतिथ्य सेवाको ‘हब’ बनाउन सारथी समूहले २०७१ सालमै ठुलै मेहनत र लगानी गरेको हो ।
सारथीले यतिखेर सौराहा चितवनमा समेत आतिथ्य सेवा सुरु गरिसकेको छ । सन् २०२५ को जनवरी १ बाटै सौराहाको बद्रेनीमा सारथी जंगल रिसोर्ट सञ्चालनमा आइसकेको छ । धुलिखेलमा मुख्य होटल रहेर पनि अन्यत्र पर्यटकीय गन्तव्यमा आफ्नै ब्राण्ड बिस्तार गर्नेमा होटल सारथी पहिलो हुन पुगेको छ ।
होटल रिसोर्टहरुबाट निष्काशन हुने फोहोर पानी(वेस्ट वाटर)का बारेमा बेलाबखत चर्चा हुने गरेको छ । सारथीले योजना परिकल्पनाकै क्रममा पर्यावरणलाई ध्यानमा राख्दै फोहोर पानीको पुनर्प्रयोगलाई केन्द्रमा राखेको पाइन्छ । होटलबाट निष्कासित फोहोर पानीलाई होटल परिसरमै रहेको सिवरेज ट्रिटमेन्ट प्लान्ट(एसटिपी) मार्फत ३३ हजार लिटर क्षमताको ट्यांकमा प्रशोधन गर्ने गरेको छ ।
यसरी प्रशोधितमध्येको ५ हजार लिटर पानी होटलकै बारीमा दैनिक उपयोग गर्दै आएको छ । बाँकी पानी ढलमा पठाउने गरेको छ । नेपालका अधिकांश पाँचतारे होटलहरुले अपनाएको ‘एसटिपी’ प्रणाली धुलिखेलमा भने होटल सारथीले पहिलो पटक र त्यसपछि दुशिट थानी हिमालयन रिसोर्टले अपनाएको छ ।
होटल सारथीको न्यू विङमा ६० वटा र पुरानो विङमा २० वटा रुमहरु रहेका छन् । सबै रुमहरु उत्कृष्ट तरिकाले बनाइएका छन् । डिलक्स, प्रिमियम, स्वीट र प्रेसिडेन्सियल स्वीट गरी चार प्रकारका रुमहरु उपलब्ध रहेका छन् ।
सारथीले ब्रेकफास्ट र सबै मेनुमा सकेसम्म स्थानीय उपलब्ध हुने खाद्य सामग्रीलाई प्राथमिकता दिएको छ । कम्तीमा २ वटा खानेकुरा रैथाने होस् भन्ने सोचाइ रहेको पाइन्छ । सेन्ट्रल र सेटेलाइट किचन गरी दुई खालका किचेन रहेको छ । सेटेलाइट किचेनले लाइभ खानाको प्रबन्ध गर्दै आएको छ ।
होटलको ‘इनहाउस बेकरी’ ले उच्च गुणस्तरका बेकरी उपलब्ध गराउँदै आइरहेको छ । हाललाई नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टल खानाहरु उपलब्ध रहेको छ । अहिले हवेली रेष्टुरेन्ट र बेन्टिल बार रहेको छ । यसका अलावा नियमित रुपमै रेष्टुरेन्ट सञ्चालन गर्दै होटलमा आउने बाहेकका अन्य गेष्टहरुलाई पनि सेवा प्रदान गर्ने तयारीमा सारथी रहेको छ ।
केही वर्ष अघिसम्म काठमाडौंका तारे होटलहरु वेडिङ डेष्टिनेसन (वैवाहिक स्थल) बन्ने गर्थ्यो । पछिल्लो समय धुलिखेल पनि वेडिङ डेष्टिनेसन बन्न थालेको छ । यस्तोमा सारथीले आफ्ना दर्विलो उपस्थिति कायम गरेकोमात्रै नभइ योगदान पनि गरेको छ । वेडिङका लागि भारतदेखि र मुलुककै मुख्य शहरहरुबाट यसै होटललाई रोजेर धेरै समूह आएका छन् । यहाँको वातावरण, आतिथ्यता र खानालाई पाहुनाहरुले औधी रुचाएको कुरा भिजिटर्स बुकका पानाहरुमा देखिन्छन् ।
एउटा प्रभावकारी वेडिङ डेष्टिनेशन हुनका लागि के–कस्तो तरिका आवश्यक हुन्छन् भनेर होटलका अध्यक्ष प्रह्लाद प्याकुरेलले भारत तथा चीनका वेडिङ डेष्टिनेशनहरुको अध्ययन र अवलोकन गरेका छन् । त्यतिमात्रै नभई यस्तै इभेन्ट म्यानेजमेन्टमा अभ्यस्त कर्मचारीहरुको अलग्गै समूह तयार बनाइएकाले पनि वेडिङ डेष्टिनेशनको रोजाइमा सारथी पर्न सफल भएको हो । होटलमा ४०० जना क्षमताको ब्याङक्वेट हल, २ सय र ८० जना क्षमताको अन्य दुई वटा सेमिनार हलहरु रहेको छ ।
होटलको न्यू विङको सातौं तल्लामा ‘रुफ टप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । मनमोहक लाङटाङ हिमश्रृंखलाहरु हेर्दै स्वीमिङको मज्जा लिन सकिने व्यवस्था रहेको छ । जाडोमा स्वीमिङ पुल ‘हिटेड’ हुने व्यवस्था पनि मिलाइएको छ ।
होटल सारथीले गेष्टहरुको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर फिटनेश सेन्टर पनि राखेको छ । जसमा स्टिम, साउना, ओपन हट ज्याकुजी र जिमजस्ता सुविधाहरु रहेको छ ।
नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि गुणस्तरीय आतिथ्यताको मिसनसहित होटल सारथी नेपालको पर्यटकीय क्षेत्रहरुमा बिस्तार हुने क्रममा छ । जनवरी १ बाट सौराहामा सारथीको दोस्रो होटल सुरु भइसकेको छ ।
होटलका अध्यक्ष प्रह्लाद प्याकुरेल भन्छन्, ‘अर्को दशकमा नेपाली आतिथ्यतासहितका सारथी ब्राण्डका होटलहरु नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुमा थप हुँदै जानेछन् । जसमा सारथीकै आफ्नै लगानी र स्वामित्वमा, स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा र व्यवस्थापन नै जिम्मामा लिएर सारथीको ब्राण्डमा आतिथ्यता सेवा दिने मोडल तय गरेका छौं । यसको सुरुवात हामीले सौराहाबाट गरिसकेका छौं ।’
होटल सारथीको स्थापनादेखि नै सानो समूह बनाएर सेवालाई फराकिलो बनाँउदै आएको समूहले अब यसको ब्राण्डलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुमा बिस्तार गर्ने लक्ष्य राखेको छ । यसै पटकको वार्षिक साधारणसभाले होटललाई पब्लिक लिमिटेड कम्पनीमा लैजाने निर्णय गरिसकेको छ ।
मध्यम तथा निम्नवर्गीय व्यक्तिहरुको थोरै-थोरै पूँजी सकंलनबाट व्यावसायिक स्वरुप प्रदान गरिएको नमूनाका रुपमा होटल सारथीलाई लिइन्छ । सेवा बिस्तारका साथै ब्राण्ड कायमका लागि सानो समूहलेमात्रै नपुग्ने समूहको ठम्याइ रहेर नै कम्पनीले आइपिओमा जाने निर्णय गरेको हो ।
अध्यक्ष प्याकुरेल भन्छन्, ‘बढीभन्दा बढी ब्यक्तिहरुलाई लाभान्वित गराउने उद्देश्यले पब्लिक कम्पनीमा रुपान्तरण गर्दै स्थानीय एवं सर्वसाधारणका लागि समेत कम्पनीको शेयर जारी गर्ने प्रकृया अगाडि बढाएका हौं ।’
होटल सारथी र यसका सहायक कम्पनीहरुको प्रमुख प्राथमिकतामा ‘उद्यमशीलता विकास, रोजगारी सिर्जना र सामाजिक कल्याण’ रहेको छ । हाल होटलमा ७६ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । जसमा ९० प्रतिशतभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् । स्थानीय जनशक्तिका लागि रोजगारी, सीप विकास र पेसागत वृद्धिमा समेत सारथीको योगदान रहेको पाइन्छ ।
होटललाई दैनिक आवश्यक पर्ने सामग्रीहरुलाई पनि सम्भव हुँदासम्म स्थानीयबाटै लिने व्यवस्था रहेको छ । अध्यक्ष प्याकुरेल भन्छन्, ‘सारथी होटल तथा अन्य सहायक कम्पनीहरुमार्फत देशभित्रै रोजगारी सिर्जना गर्ने हाम्रो प्रमुख लक्ष्य हो । हामीले स्थानीय उत्पादनको समेत खपत गर्दै आएका छौं । अगामी बिस्तार हुने होटलहरुमा पनि यही नीति लागू गर्ने भएकाले सारथी पुगेको स्थानमा आम्दानीको स्रोतसमेत विस्तार गरिदिने लक्ष्य लिएका छौं ।’
होटल सारथी समूहअन्तर्गत अन्य व्यावसायिक प्रतिष्ठानहरु पनि सञ्चालन भइरहेको छ । जसमा सारथी मार्ट, सारथी होलिडेज, सारथी बहुद्देश्यिय सहकारी संस्था, सारथी फाउण्डेशन, सारथी जङ्गल रिसोर्ट सौराहा, हिमालय इन्टरनेसनल एकेडेमी र धुलिखेल तालिम केन्द्र रहेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित