सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री भुकम्प

९५ जनाको मृत्यु , १३० जना घाइते, उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

ल्हासा/चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।

दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।

बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् ।

डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।

मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

Lahachhap

यसैवीच, राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ ।

साथै, उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न पनि आग्रह गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गर्नुभएको छ ।

Lahachhap
Lahachhap

(रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments