‘मा’ र ‘वा’ का लागि श्राद्ध, सोह्रश्राद्ध

प्राकृतिक सन्तुलन बिग्रेर ‘मा’ र ‘वा’ अर्थात् जीवजन्तु र वनस्पतिको अस्तित्वमा नै खतराको घण्टी बजिरहेको हामीलाई पत्तो नै छैन तथापि यस्ता गतिविधीहरू जानी नजानी गरिरहेका हुन्छौँ । प्राकृतिक रूपले जीवनयापन अर्थात् वातावरणलाई सन्तुलित संरक्षण एवं रोकथामका लागि हामी मानसिक, आर्थिक, सामाजिक, शारिरीक र व्यावहारिक रूपले संवेदनशील हुनु पर्दछ ।

विश्वमा पाइने सबै प्रकारको हावापानी नेपालमा उपलब्ध छ । धेरै जाडो हिमाली क्षेत्र, ठीक्क हावापानी पहाडी क्षेत्र र गर्मी मधेश तराई क्षेत्र हुन । हाल नेपालको हावापानीमा क्रमशः तापक्रम वृद्धि र जलवायु परिवर्तन भैइरहेको प्रत्यक्ष देख्न र अनुभव गरिरहेका छौँ ।

विश्वमा पृथ्वी दिवस, वातावरण दिवस, जैविक विविधता दिवसआदि दिवसहरू मान्ने गरे तापनि हाम्रो हिन्दु संस्कारमा वातावरणीय र पर्यावरणीय दृष्टिकाणले एकदम बैज्ञानिकता देखिन्छ । तथापी यस्को चर्चा परिचर्चा र चिन्तन गर्न हामी ढिला गरिरहेका छौं, जसले हिमालमा हिऊंका मात्रा क्रमशः घट्दै गइरहेको, नदीहरूमा पानीको बहाव कम हुँदै आइरहेको साथै पहाडमा पानीका श्रोतहरूमा पानीको मात्रा कम हुँदै गरेको र चुरे, मधेश तराईमा पानीका श्रोतहरू अभाव हुँदै गईरहेको अवस्था र प्राथमिकता नराख्नु ज्वलन्त उदाहरण हुन् ।

पानीको अवस्थालाई मध्यनजर गर्दै प्राकृतिक स्रोतहरू (वातावरण अर्थात जल, जमिन, जंगल, जीवजन्तु वनस्पति, वायुमण्डल, सूर्यको प्रकाश) मानवीय क्रियाकलापहरूले एकदम प्रदूषित भइरहेको सिलसिलामा वर्षमा एक दिन भएपनि पृथ्वी दिवस, वातावरण दिवस, जैविक विविधता दिवसआदि मनाउने विश्वव्यापी अभियानको सन्दर्भमा नेपालको परिप्रेक्ष्यमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

हाम्रो हिन्दु संस्कारले सधैँ नै दैनिक रूपले नै दिवस मनाइरहेको आभास हुन्छ र यो सनातनदेखि चलि आएको छ । श्राद्ध गर्नु पितृका नाममा तर्पण, सिदा दान, पिण्ड दान गर्नु, पितृऋणबाट मुक्तिसँगै पृथ्वी अथवा प्रकृतिको संरक्षण र सम्वद्र्धनका साथै प्रवर्धन गरिरहने क्रियाकलाप हो ।

दिवंगतका नाममा तिथि अनुसार श्राद्ध र सोह्रश्राद्ध (पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिप्रदाको एक दिन गरि १६ दिन) र पौष कृष्ण औंसी नेपालको मौसम अनुसार अर्थात जाडो र गर्मीमा पानीको बहावको अवस्थामा श्राद्ध गर्ने गर्दछन् । पितृ भनेको प्रकृति हो र प्रकृतिमा विलीन भएको अवस्था हो । यो प्राकृतिकसँगै सामाजिक, आर्थिक र आध्यात्मिक पक्ष जोडिएको छ । पशुपन्छी, वनस्पति र मानवलाई जीवित तुल्याईरहने कार्य हो ।

‘मा’ र ‘वा’

‘मा’ भनेको मानिस/मान्छे/मानव र ‘वा’ भनेको वातावरण ।
जसरी मानिसले आफ्‌नो प्रकृति चलाउन अर्थात् सन्तान उत्पादन गर्न ‘मा’ र ‘वा’ चाहिन्छ । त्यसैगरि ‘मा’ र ‘वा’ को प्रत्यक्ष अन्तरसम्बन्धले मात्र हाम्रो जनजीवन सरल र सहज हुन्छ । ‘मा’ र ‘वा’ को बीचमा दरार उत्पन्न भयो भने सन्ततिहरूलाई धेरै गाह्रो हुन्छ । त्यसैले हाम्रो सम्पूर्ण क्रियाकलाप ‘मा’ र ‘वा’ का लागि हुनुपर्छ ।

‘मा’ भनेको मानिस/मान्छे/मानव र ‘वा’ भनेको वातावरणले मानिसलाई स्वच्छ वातावरण अति आवश्यक छ भने वातावरणको सन्तुलन बिग्रियो भने मानिसलाई सकस चुनौती र बाँच्नको लागि संघर्ष गर्नुपर्ने हुन्छ । त्यसैले ‘मा’ र ‘वा’ अर्थात् आमा बाबुलाई जस्तै सम्मान र व्यवहार गर्नुपर्ने हुन्छ । जुन अहिले हाम्रो प्राथमिकतामा परेको छैन ।

जबसम्म हाम्रो प्राथमिकतामा पर्दैन तबसम्म हामीलाई वातावरणीय, पर्यावरणीय समस्या मात्र होइन, मानसिक, शारीरिक, आर्थिक, भौतिक, प्राकृतिक समस्या रहिरहन्छ । यो मानव सिर्जित समस्या हुन् । यसले सधैँ प्राकृतिक प्रकोप ल्याउने हुन्छ । त्यसबेला पछुताउनुसंगै धेरै खर्च गरे तापनि पहिलेकै अवस्थामा ल्याउन कठिन हुने हुन्छ । अधिकांशले आफ्‌नो क्षमता अनुसार मात्र समस्याको समाधान गर्ने प्रयास गरिरहेको हुन्छ, जुन अपर्याप्त हुन्छ ।

त्यसका लागि गरिनु पर्ने प्रयास भनेको प्राकृतिक (वातावरण) व्यवस्थापन हो । जुन हाम्रो धेरै श्रम, सीप, पैसा समय र प्रविधि खर्च गर्नुपर्ने हुन्छ । निरन्तर प्रयास गरिरहनु पर्ने हुन्छ । जसरी हामीलाई ‘मा’ र ‘वा’ ले रेखदेख गरिरहनुपर्ने हुन्छ । अभिभावकत्व रूपमा सधैँ पूजनीय हुन्छ नै ‘मा’ र ‘वा’ । हाम्रो प्रत्येक पाईला पाईलामा राम्रो नराम्रो काम जे गरेपनि ‘मा’ र ‘वा’ लाई राम्रो नराम्रो हुने हुन्छ ।

जनसंख्याको चापसँगै विकासको क्रममा शहरीकरण हुर्दै जान्छ । भौतिक सुविधा हेरी बस्तिसँगै बजार, यातायात, शिक्षा, स्वास्थ्य, संचार, सुरक्षा, रोजगार, मनोरन्जन आदिको क्रियाकलापको मात्रा बढ्दै जान्छ र शहरी समाजमा परिवर्तन हुँदै जान्छ । विकाससंगै विनासको गतिविधीले आधारभूत आवश्यकता र भौतिक पूर्वाधारका लागि प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन हुन्छ जुन अकल्पनीय रूपमा ध्वस्त भैरहेकोछ ।

एकातिर प्राकृतिक स्रोत साधनहरू कम हुँदै जानुसँगै अभाव र अव्यवस्थित हुँदै जान्छ । मानवीय गतिविधिहरू पनि त्यसैमा प्रत्यक्ष केन्द्रित हुँदै जाँदा फोहोरको प्रकृति र मात्रा बढ्दै जान्छ । समस्या देखापर्छ । त्यससँगै प्राकृतिक स्रोतहरू मितव्ययी रूपमा उपयोग नगरिकन अत्यधिक रूपमा उपभोग र प्रयोग गरिन्छ र क्रमशः घट्दै जान्छ ।

यसरी प्राकृतिक सन्तुलन बिग्रेर ‘मा’ र ‘वा’ अर्थात् जीवजन्तु र वनस्पतिको अस्तित्वमा नै खतराको घण्टी बजिरहेको हामीलाई पत्तो नै छैन तथापि यस्ता गतिविधीहरू जानी नजानी गरिरहेका हुन्छौँ । प्राकृतिक रूपले जीवनयापन अर्थात् वातावरणलाई सन्तुलित संरक्षण एवं रोकथामका लागि हामी मानसिक, आर्थिक, सामाजिक, शारिरीक र व्यावहारिक रूपले संवेदनशील हुनु पर्दछ । अब वातावरणमैत्री क्रियाकलापहरू ढिला त गर्नै हुँदैन । आजको प्रमुख आवश्यकता पनि हो ।

दृष्टान्त बागमती

आजभन्दा करिब ४०–४५ वर्ष अगाडिसम्म बागमती नदीको अवस्था कस्तो थियो र ४०–५० वर्षपछाडिको आजको बागमतीको अवस्था कस्तो भयो ? यो नै ‘मा’ र ‘वा’ को गतिलो उदाहरण हो । त्यसबेला बागमतीमा स्वच्छ, सफा पानी बग्थ्यो । सबै घरायसी प्रकारका लागि प्रयोग गर्थे । पौडी खेल्थे । यो सबै अब एकादेशको कथा भैसक्यो ।

बागमतीको सभ्यता अर्थात् मानिस र पानीको प्रत्यक्ष सम्बन्धसंगै ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रमात्र होइन पानीको जीवन्तता (पानीको प्राकृतिक वहाव र पानीमा जलप्राणी) हुनुपर्दछ अन्यथा मृततुल्य हो । पानी जीवन हो तर रोग र मृत्युको कारक पनि हुनसक्छ । पानी जीवन, उर्जा र औषधिको पनि काम गर्दछ ।

४०–५० वर्ष अगाडि कुनै व्यक्ति वा लहडले सजिलोको लागि चर्पीको विकास र त्यसको निकास बागमतीमा जोडिदिए । बौद्ध जोरपाटीतिर गलैँचा कारखानामा प्रयोग हुने रासायनिक पदार्थहरू मिश्रित पानी पनि बिना प्रशोधन सिधै बागमतीमा मिसिएको कारण र फोहोर फाल्ने तथा अतिक्रमणले क्रमशः प्रदूषित हुने क्रम उपत्यकाको अन्य खोला नदीहरूमा पनि बस्ती विकाससँगै अहिलेसम्म यो क्रम चलिरहेको छ ।

बागमती महाअभियान ५३१ औँ हप्तामा चलिरहँदासम्म लाखौँ नागरिकको सहभागिता, अरबौं रकम खर्च भइसकेको अवस्थामा पनि बागमतीलाई पूर्ववत अवस्थामा फर्काउन कठिन भईरहेको छ । अझ केही वर्ष लाग्ने निश्चित छ । प्रयास जारी छ । बागमतीमा फोहोर गरेको र भएको कारण एकातिर पानीको स्रोत प्रदूषित भयो नै, अर्कोतिर जार पानी/ट्यांकर पानी किनेर उपभोग गर्दैछौँ ।

दोश्रो कारण पानीको जीवन्तता अर्थात् जलप्राणीको जैविक प्रणाली अवस्था ठीक छ भने पानीको स्वच्छता कायम राख्न प्राकृतिक रूपले नै मद्दत पुर्‍याउने भएकोले त्यसतर्फ बागमती नदीमात्र होईन अन्य नदीहरूमा समेत बागमतीको अवस्था आउन नदिन व्यापक रूपमा रोकथाम एवं संरक्षणका उपायहरू चेतनामुलक कार्यक्रमहरूद्वारा जनसमुदायहरूमा पुर्‍याउन र तत् सम्बन्धि कार्यान्वयन गर्न/गराउन कुनै पनि बहानामा ढिला गर्नु आफैँमा आत्मघाती हुनेछ ।

बागमती सभ्यतासँगसँगै सम्पदाहरू (मठमन्दिर, पाटीपौवा, ढुंगेधारा, घाट, चैत्यआदि) पनि अवस्था नाजुक हुनुमा पानीको बहाव कम हुँदै गएको तथा नदी साँघुरिँदै जग्गा छोड्दै जसले सुकुम्बासी बस्ती, अतिक्रमण र समस्याले सम्पदा संरक्षणमा सम्बन्धित निकायको कम प्राथमिकता परेका कारण समस्याहरूको थुप्रो लागेको हो ।

बागमतीमा पानीको स्रोत कम हुँदै जानु, बालुवा निकाल्ने, पानीको रिचार्ज क्षेत्र एकदम कम हुनु, आकाशबाट परेको पानीसँगै फोहोर बगाएर बागमतीमा पुग्नु, उद्योग र अस्पतालजन्य फोहोर पनि बिना प्रशोधन नदीहरूमा पुग्ने गरेको, जमिनबाट पानीमात्र तान्ने प्रवृत्तिले अहिलेको बागमतीको अवस्था आएको हो । य

ससँगै नेपाल सरकार, काठमाडौँ महानगरपालिका, बागमती सरसफाईका महाअभियानकर्ताहरू, सुरक्षाकर्मीहरू, संघसंस्थाहरू, कर्मचारीहरू, विविध क्षेत्रका बौद्धिक नागरिकहरू लगायत प्रत्यक्ष /अप्रत्यक्ष सहयोग गर्नुहुने व्यक्तित्वहरूको सहभागिताले केही देखिने सकारात्मक परिवर्तन देखिएको छ । धन्यवाद दिनुपर्छ ।

प्रकृति र संस्कृति

नेपालका ऋतुहरूको अवस्था अनुसार मौसम (हावापानी) अनुसार विविध क्रियाकलापले पनि वातावरण संरक्षणमा टेवा पुग्ने गरेको पाउँछौँ । चैत्र/ वैशाखमा रूखका पात पतिङ्गरहरू झर्ने समय हो र हावाहुरी, बतास चल्ने समय पनि हो । हावाहुरीले पात पतिङ्गर, धुलोमैलो उडाएर कताकता पुर्‍याउने हुन्छ । जसले पानीका स्रोतहरूमा फोहोर हुने र फोहोरको मात्रा बढी जम्मा हुँदै जान्छ ।

जेठमा नेवार समुदाय (बस्ती रहेको) ले सिठी नखः (चाड) मान्ने चलन छ । यस अवसरको दिन बस्ती र वरपर नजिकैका पानीका स्रोतहरू जस्तैः ईनार, कुवा, ढुंगेधारा, पोखरी सफा गर्ने चलन थियो तर अचेल यस्ता अधिकांश पानीका स्रोतहरू क्रमशः अतिक्रमण भई केही लोप हुने क्रममा र धेरै पुरिएर लोप भइसकेको अवस्था छ ।

त्यसैगरी वर्षायाममा पानी पर्छ, खोलामा बाढी आउँछ । बाढी आउँदा खोला/नदीमा भएका जलचरहरू बगाएर कताकता पुर्‍याइसकेको हुन्छ । जलचरहरूलाई खानाको समस्या हुन्छ । वर्षायाम सकिने बित्तिकै हामीले सोह्र दिनसम्म सोह्रश्राद्ध गर्दछौँ अर्थात् नदी/खोलामा पिण्ड सेलाउँछौँ । जसले जलचरहरूलाई तुरून्त खाना प्राप्त हुन्छ ।

हाम्रा पितृपुर्खाहरू जो मृत्यु भइसकेका व्यक्तिहरूको स्मरणमा/सम्झनामा पानी राम्रो गर्ने क्रियाकलाप गरेका रहेछौँ । पितृले त खाने होइन । पितृ भनेको त प्रकृति रहेछ । पितृ त प्रकृतिमा विलिन भइसकेको अवस्थामा प्रकृति /पितृको रूपमा माछा लगायत अन्य जलचरहरूले खाने हो । पानीमा माछा हुनु भनेको प्राकृतिक रूपले नै स्वच्छता कायम गर्ने अवस्था सिर्जना गर्नु हो । त्यहि भएर होला भगवान् विष्णुले प्रथम अवतार मत्स्य (माछा) अवतार लिनु भएको होला । माछा मानिसको खाना हो भने पानी वातावरण हो ।

वर्षभरि नै विभिन्न चाड, पर्व, जात्रा, पूजा मेला, आदि क्रियाकलापहरू मनाउनु भनेको सांस्कृतिक रूपमा प्रकृति संरक्षण गर्नु हो । भावी सन्ततीलाई संस्कार दिनु हो । विचार गरौँ अब मातृ आंैशी, पितृ औंशी, अक्षयतृतियामा सर्वतसात्तु किन खाने ? तुल्सी रोप्ने कार्य, लुतो फाल्ने, गथेमंगल, जनैपूर्णिमा, क्वाँटी, दरखाने, जमरा (दशैँ), कागपूजा, कुकुरपूजा, गाई, गोवद्र्धन पूजा, म्हपूजा, लक्ष्मीपूजा, छठपर्व, चर्तुमास, माघे संक्रान्ति, योमरी, शिवरात्री, होली पाँहाचह्रे आदि सबै ‘मा’ र ‘वा’ राम्रो अवस्थामा राख्नका लागि गरिने क्रियाकलाप रहेछ । नेपालमा मौसम अनुसार फल्ने फलफूल, अन्न, तरकारीआदि खाने क्रियाकलाप र जाडो र गर्मीमा खाने खानाका प्रकारहरू ‘मा’ र ‘वा’ लागि नै हन् ।

‘मा’ र ‘वा’ का लागि एउटा दह्रो उदाहरणका रूपमा माछा पार्ने जालमा प्वाल किन पारेको होला ? जालमा सानो प्वाल हुनु भनेको साना माछा खोला नदीमा रहिहोस् ठूला माछा मात्र जालमा परोस् । यसले पानी, माछा, जलचरको जैविक विविधता एवं जैविक प्रणाली जीवन्त् रहन्छ । माछा मार्न करेन्ट, विषादी, रासायनिक पदार्थ, बमआदिको प्रयोगले खोलाको पानी मात्र होइन मानिस र प्रकृतिको जैविक प्रणाली खतम हुने हुन्छ ।

यसबारे छलफल, बहस र कार्यक्रमहरू गर्न सम्बन्धित निकायले तीब्रता दिनुपर्ने हुन्छ । अन्यथा रोगी शरीर, पैसाको नाश, सहनु र पछुताउनु बाहेक केही हुँदैन । त्यसकारण आजैदेखि हाम्रो हरेक क्रियाकलाप ‘मा’ र ‘वा’ लागि केन्द्रित हुनुपर्दछ र दिगो विकासका पाँच स्तम्भ पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारीका लागि तयार रहनुपर्दछ ।

पानी विनाको हाम्रो दैनिक जीवनयापन सम्भव छैन । पानीसँग हाम्रो संस्कृति, संस्कार, परम्परा, रितिथिति, धर्म जोडिएको छ । पानी जीवन हो तर हाम्रो लापर्वाही र हेलचेक्राईले रोग र मृत्युको कारण हुनसक्छ । अधिकांश रोगहरू फोहर पानीको कारण हुन्छ । मानिस जन्मेदेखि मृत्यु नभएसम्म पानी नै चाहिन्छ ।

हाम्रो परम्परा र संस्कार अनुसार बिहान उठेपछि मुख धोएदेखि बेलुका हातगोडा धोएर नसुतेसम्म र मानिसको जन्म र मृत्यु कार्यको कर्मकाण्डको लागि नुहाई धुहाई अनिवार्य छ भने हाम्रो दैनिक रूपमा व्यक्तिगत सरसफाईमा मुखधुने, दाँत माझ्‌ने, नुहाउने, लुगा धुने तथा तरकारी पखाल्नेदेखि खाना पकाई भाँडा माझ्‌नेसम्म आदिमा पानीको निरन्तर अत्याधिक प्रयोग हुन्छ भने जीवजन्तु र वनस्पतिलाई समेत पानी विनाको अस्तित्वको कल्पना गर्न पनि सक्दैनौं । त्यसैगरी अहिले आधुनिकीकरणको समयमा गाडी धुनेदेखि घर बनाउन, ईटा पार्नेदेखि घर तयार नहुँदासम्म पानीको प्रयोग भईराखेको हुन्छ ।

आजको वर्तमानमा हाम्रो जनजीवन पानीसँगै कष्टकर हुँदै गईरहेको आईरहेको छ । यसका मुख्य कारणहरूमा पानीका स्रोतहरूलाई विभिन्न प्रकारले मानवीय अतिक्रमण भएकोले नै हो । नदीनालाहरूमा सिधै ढल मिसाउनु लगायत वर्कशप, उद्योग कलकारखानाको रसायन भएको तरल पदार्थ मिसाउनुका साथै फोहरमैला फाल्नु नै हो । पानीका स्रोतहरू नजिक घर बनाउनु, नदीनालाबाट ढुंगा, बालुवा र ग्राभेल निकाल्ने कार्य तथा परम्परागत पुराना पानीका स्रोतहरू जस्तैः कुवा, ईनार, ढुंगेधारा आदिलाई वास्ता नगर्नु र पुर्नु नै हो । विना अध्ययन पानीका श्रोतहरूमा उत्खननको लाईसेन्स दिन नै हो ।

पानीका स्रोतहरूलाई एकातिर हामीले प्रदूषण गर्दैछौं भने अर्कोतिर प्राकृतिक स्रोतहरू अतिक्रमण गर्दैछौं । जस्तै, उपत्यकाको विष्णुमती, बागमतीको सभ्यता धरायसी भएको छ । बागमती, बासमति भएको छ । पानीको प्राकृतिक बहाव एकदमै न्यून छ । बागमतीमा हाम्रो धार्मिक संस्कार अनुसार कर्मकाण्ड गर्न अप्ठेरो छ । त्यसैगरी पानीमा बस्ने जलचरदेखि पशुपतिको बाँदर समेत अस्तित्वको संकटमा परिसकेको सन्दर्भमा पानीलाई जीवन्त तथा प्राकृतिक रूपमा नदीको बहाव हुन जरूरी छ ।

बागमतीको पानी न्यून हुनुमा जलवायु परिवर्तनसँगै जमिन मुनिको पानी व्यक्ति र उद्योगले अत्याधिक रूपमा निकाल्नु र नदी किनार अतिक्रमण गर्नु हो भने जमिन मुनिको पानीलाई सँधै रहिरहन प्राकृतिक रूपले आकासको पानी (बर्षातको पानी) सतह हुँदै जमिनभित्र जानुपर्नेमा सतहमा काठमाडौंमा घर महलमा ढलान एवं बाटोको पीचको कारणले पानी जमिन मुनि जान बाधा भएको कारणले भएको हो ।

पृथ्वीलाई हामी पृथ्वीमाता, धर्तीमाता भन्छौं । तीनै धर्तीबाट हामीले लिनमात्र जानेका छौं, दिन जानेका छैनौं । त्यो संस्कार अर्थात ईनार/बोरिङबाट पानी तान्ने गर्छौँ । जमिनमुनि पानी पठाउने व्यवस्था कहिल्यै गर्न आवश्यक ठानेनौं, गरेनौं, जानेनौं जसले पानीको सतह घट्दै गईरहेको विज्ञहरू बताउँदैछन् । यसका लागि व्यक्तिगत रूपमा चोक, समुदाय, कुनै निश्चित क्षेत्रमा आकासेपानी (बर्षातको पानी) संकलन गरी जमिनमुनि पठाउने व्यवस्था गर्र्यौ भने जमिनमुनिको पानी सतह पुनः भरण भई केही हदसम्म बढ्ने कुरामा दुईमत छैन ।

हामी उल्टो गरिराखेका छौं । जमिनमुनि हुनुपर्ने पानी घरको छतमा ट्यांकीमा राखेर स्टोर गरिरहेको अवस्था छ । आकासे पानी (बर्षातको पानी) प्रकृतिले दिएको पैसाले किनेर नपाउने प्राकृतिक उपहार हो । यसलाई व्यवस्थित गरी सदुपयोग गर्न सक्यौं भने सुख्खायाममा पनि पानीको अभावलाई सजिलै पूर्ति गर्न सक्दर्छौ । त्यसैगरी जमिन भासिने सम्भावनाको खतरा पनि कम हुन्छ भने खानेपानी संस्थानको पानीको महशुल पनि न्यून गर्न सकिन्छ ।

अझै पनि आकासे पानी (बर्षातको पानी) छाना तथा कौसीबाट सिधै सडक झार्ने व्यवस्था तथा प्रवृत्तिले गर्दा सडक बाह्रै महिना बिग्रिरहने र बटुवालाई हिलाम्मे पार्ने भएकोले भवन निर्माण निर्देशिकाले निषेध गरिएको छ भने आकासेपानी (बर्षातको पानी) लाई छुट्टै पाईपद्वारा व्यवस्थित गर्नुपर्ने व्यवस्था गरेको छ । अबको उपाय भनेको पानीलाई सम्भव भएसम्म मीतव्ययी रूपमा प्रयोग गर्ने नै हो ।

पानीको मुहान वरिपरि र नदीनालाहरूको दायाँबाँयामा बृक्षारोपण गर्ने, हेरचाह गर्ने, आवश्यकता अनुसार तटबन्ध बनाउने एवं नदीनालाहरूमा कुनै किसिमको ठोस तथा तर फोहर नफाल्ने सोचाइ तथा संस्कारको विकास गर्नु, प्रत्येक घर, महल, कार्यालय, उद्योग आदिमा आकासेपानी (बर्षातको पानी) संकलन गरी पानीको आपूर्तिलाई प्राकृतिक प्राविधिक रूपले नै प्रयोग गरी सदुपयोग गर्नुपर्ने आजको आवश्यकता भईसकेको छ । त्यसका लागि व्यक्ति, स्थानीय निकाय र सरकारले आवश्यकता अनुसार मापदण्ड र प्राविधिक ज्ञानलाई जनस्तरसम्म पुर्याउन व्यापक प्रचार प्रसार गर्नु अत्यन्त जरूरी भैसकेको छ ।

अन्त्यमा, नेपालमा संविधान २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हक अन्तर्गत उपधारा (१), (२) र (३) मा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक, पीडितलाई क्षतिपूर्ति, विकास निर्माण कार्यमा सन्तुलन राख्नुपर्ने उल्लेख गरिएको छ भने, फितलो कार्यान्वयन र कानुन उल्लंघन गर्न सक्यो भने बहादुरी ठान्ने प्रवृत्तिले गर्दा वातावरणको अवस्था दिनानुदिन बिगँ्रदै आईरहेको सन्दर्भमा हाम्रो शास्त्र अनुसार धर्म र पाप यसैसँग जोडिन्छ । स्वर्ग र नर्क हाम्रै हातमा रहेछ । हामीले नर्क बनाईरहेका त छैनौ । सबैलाई चेतना भया ।


(सम्पदा संरक्षण र वातावरणीय स्वच्छताका लागि क्रियाशील कर्माचार्य हाल कामनपा, वातावरण शाखामा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments