काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी संगठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताएका छन् ।
अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै प्रदेश स्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योगी, व्यवसायीलाई व्यवस्थित गर्न नेताहरूलाई पठाइएको कार्य विभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यलाई सम्बन्धित प्रदेशको सह इन्चार्ज बनाइएको बताए ।
प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यको परामर्शबाट केही फाँटको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न जोड दिँदै उनले प्रदेशका कतिपय फाँटमा केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोकेकाले जनसंगठनका अध्यक्षलाई सम्बन्धित जनसंगठनको जिम्मेवारी यथाशीघ्र छोड्न निर्देशन दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एउटा मात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इन्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्न सक्ने उल्लेख गरे ।
केन्द्रीय कमिटी सदस्यलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्न सक्ने अधिकार दिइएको बताउँदै अध्यक्ष नेपाल सोको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनुपर्ने उल्लेख गरे ।
केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गरेको पार्टीले कामको आवश्यकता अनुसार केही स्थानमा केन्द्रीय आयोगका सदस्यलाई पनि जिम्मेवारी दिएको पार्टी कार्यालयले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित