पाँचखाल/आइतबार मार्गशीर्ष शुक्ल पूर्णिमा । धान्य पूर्णिमा । योमरी पूर्णिमा । अधिकांश पाँचखालवासीको कूल पुजा(देवाली) । सबैको घरमा चाडले छोपे पनि पाँचखाल नगरपालिकाको व्यापारिक केन्द्र तामाघाट बजारमा भने बेग्लै रौनक थियो ।
एकै खाले ढाकाको पहिरनमा सजिएका महिलाहरु विभिन्न पकवानमा तयार पार्नमा ब्यस्त देखिन्थे । कोही सेल पकाउँदै थिए, कोही अचार बनाउँदै भने कोही तरकारी पकाउँदै थिए । कोही बारा पकाउँदै थिए, कोही छोयला मोल्दै थिए ।
अल्लि धेरै महिलाहरु योमरी बनाउनमा ब्यस्त थिए । योमरी बनाउने प्रक्रियामा धेरै चरणहरु रहेकाले धेरैको सहभागिता थियो । कोही चामलको पीठो मुछ्ने, कोही मुछिएको पीठोलाई चोर औंलाले छेड्दै शंखाकार बनाउँदै थिए ।
औंला घुमाउँदै जाँदा पीठो पनि पातलिएपछि त्यसमा उमालेको चाकु र तीलको मिश्रण हालेर बन्द गर्दै थिए । कोही चाकु र तीलको साटोमा खुवा राखेर तयार बनाउँदै थिए । यसरी तयार योमरीलाई बफ्याउनमा केही महिला सक्रिय थिए ।
पाँचखाल उद्योग वाणिज्य संघका कावा अध्यक्ष नविनप्रकाश निरौला यसरी क्रियाशील महिलाहरुलाई धेरै संख्यामा योमरी बनाउन हौस्याँउदै थिए ।
‘घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन र उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वासका साथ पहिलो पटक प्रदर्शनी आयोजना गरेका हौं । यसमा मौलिक खानाको परिकारहरु पनि प्रवर्द्धनलाई विशेष ध्यान दिएका छौं’, उनले थपे ।
मार्गशीर्ष शुक्ल पूर्णिमाकै साइत पारेर पाँचखाल महिला उद्यमी प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिएकाले यस दिन बनाइने पकवान धेरैभन्दा धेरै आगन्तुकहरुलाई खुवाउनु पर्छ भन्ने कावा अध्यक्ष निरौलाको भनाई थियो ।
उनी थप्छन्, ‘पछिल्लो समय नेवारी खानाका परिकारहरु नेपालीहरुको रोजाईमा परेको अवस्था र दिन पनि मिलेकाले योमरीलाई प्राथमिकता दिएका हौं । योमरी बनाउने प्रक्रियाले पनि महिलाहरुमा सहकार्य र सामुहिक भावनाप्रति महत्त्वबोध गराउने भएकाले स्टलमा समावेश गरेका हौं’, निरौलाले भने ।
बागवानी विकास केन्द्रको सामुन्ने अरनिको राजमार्गको छेउमा लहरै बनाइएका स्टलहरुमा महिला उद्यमीहरुले तयार पारेका घरेलु उत्पादनहरु, आइपीएम तरकारीहरु, खाद्यान्नहरु, बेकरी, कफी बिन्सलगायतका पाँचखालको पहिचानलाई बढावा दिने सामग्रीहरु राखिएका थिए ।
यस्तै, उनीका सामग्री, झाेला तथा ब्याग, मखमलका जुत्ता, पाेतेका मालाहरुलगायतका सामग्रीहरु थिए । बोटविरुवा, अर्गानिक मल, अचार, बेसार, तेल, फापर-कोदोको पीठो, मकैको च्याँख्ला, मस्यौरा, लगायत दैनिक उपभोग्य सामानहरु पनि थिए । यी सबै पाँचखालमै उत्पादित र प्रशोधित सामग्रीहरु थिए ।
आडैको स्टेजमा कलाकार तथा हेप्पी किड्सका विद्यार्थीहरुको गीत सङ्गीत घन्किँदै थियो । युवाहरु नाच्नमै झुम्मिएका देखिन्थे । यता महिला समूहको स्टलमा पकवानहरुको मगमग बास्ना चल्दै थियो ।
सार्वजनिक सवारीमा यात्रा गरिरहेकाहरु झ्यालबाट चियाउँदै गन्तव्यतर्फ लागिरहेका देखिन्थे भने निजी सवारीसाधन हुनेहरु रोकिएर स्टल हेर्नमा र गीतसङ्गीतमा रमेका देखिन्थे ।
साँझ अबेरसम्म चलेको प्रदर्शनी र सांस्कृतिक कार्यक्रममा करीब २ हजारले अवलोकन गरेका छन् । जसमा युवाहरु बाहुल्य थियो ।
‘चाडको दिन नभएको भए यो संख्या दोब्बर हुन्थ्यो । पहिलो प्रयास हो, यसको समीक्षा गर्दै आगामी समयमा यसलाई निरन्तरता दिनेबारेमा हामी सकारात्मक छौं । यस कार्यलाई वडा कार्यालयले भरपुर सहयोग गर्नेछ भने कार्यपालिका बैठकमा पनि कुरा लैजान्छु’ पाँचखाल-४ का वडा अध्यक्ष सुन्दर तामाङले भने ।
महिलाहरुकै उद्यम प्रवर्द्धन गर्ने हेतुले आयोजित प्रदर्शनी अवलोकनका लागि पाँचखालका मेयर महेश खरेल, उपमेयर सूर्यमाया दनुवार, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकी सदस्य एवं प्रवक्ता अप्सरा ढुंगाना सिपखान, सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेलगायत पाँचखाल नगरका जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।
स्थानीय महिला उद्यमीहरुको सक्रियतामा पाँचखाल-४ स्थित देवीथान महिला समूह २०७५ सालमै स्थापना भएको सञ्जाल हो । हाल ३२ जना महिला उद्यमीहरुमात्रै समावेश सञ्जालले सुरुवाती दिनमा नियमित बचत संकलन र परिचालनसहित महिलाहरुलाई उद्यमी व्यवसाय बनाउनमा मद्दत गर्दै आएको छ ।
समुहका अध्यक्ष गिता लामिछाने आफैं पनि ‘लिक्वर व्यवसाय’ मा संलग्न महिला व्यवसायी हुन् । उनले अघि सारेका योजनाहरुमा होस्टेमा हैंसे गर्ने समूहका सबै सदस्यहरु रहेका छन् । यीनमा पनि उपाध्यक्ष गोमा थापा र सचिव पूजा मुस्याजुको विशेष योगदान रहेको छ ।
पाँचखाल नगरमा छरिएर रहेका महिला उद्यमीहरुको सिप प्रवर्द्धन तथा प्रदर्शन गर्न, सिप विकासमा टेवा पुर्याउन, घरेलु तथा महिला उद्यमीहरुद्वारा उत्पादित व्यावसायिक सामग्रीहरु तथा ग्रामीण महिलाहरुले उत्पादन गरेको कृषि उपजहरुलाई बजारीकरण गर्नमा सहयोग गर्न कार्यक्रम आयोजना गरिएको लामिछानेको भनाई छ ।
पहिलो पटक आयोजित महिला उद्यमी प्रवर्द्धन तथा प्रदर्शनी भव्य रुपमा सफल हुनुको श्रेय समूहलाई नै जाने उनको भनाई छ, ‘हामीमध्ये कुनै एक सदस्यमात्रै आत्तिएका भए पनि यत्तिको भव्य कार्यक्रम हुने थिएन । पाँचखाल उद्योग वाणिज्य संघका कावा अध्यक्ष नविन सर र तामाघाट युवा क्लबका अध्यक्ष सूर्य दनुवारको साथ र सहयोगले हामीलाई ऋणी बनाएको छ’, लामिछानेले थपिन् ।
श्री देवीथान महिला समूह, पाँचखाल-४ को अवधारणामा पहिलो पटक आयोजित महिला उद्यमी प्रवर्द्धन तथा प्रदर्शनीलाई तामाघाट युवा क्लबले व्यवस्थापन गरेको थियो । क्लबका अध्यक्ष सूर्यबहादुर दनुवार पहिलो पटकमै सबैलाई फेरि फेरि पनि यस्तो कार्यक्रम भइदियोस् भन्ने भावना जागृत गराउन सकेकोमा खुशी देखिन्थे ।
यस्तै, पाँचखाललाई हरित र कृषि नगर बनाउनमा अग्रणी भूमिका निर्वाह गरिरहेको लभग्रीन नेपाल र बागवानी विकास केन्द्र पाँचखालको विशेष सहयोग रहेको थियो । पलाञ्चाेक भगवती काेशेली घर, शुभारम्भ महिला सशक्तिकरण लघु उद्यमी समूहलगायतका संघसंस्थाहरुकाे सहकार्य थियो । पाँचखाल उद्योग वाणिज्य संघको त प्रमुख भूमिका नै रहेको थियो ।
‘अबको लक्ष भनेकै पाँचखालमा नियमित रुपमा हाटबजार सञ्चालन गरेर स्थानीय कृषि तथा घरेलु उत्पादनहरुलाई नियमित प्रवर्द्धन गर्नु हो’, कावा अध्यक्ष निरौलाले योजना सुनाए ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यसमिति सदस्य एवं मेला प्रदर्शनी समितिका संयोजक राजन कार्की पनि स्थानीय तहका महिलाहरुलाई उद्यमसँग जोड्ने र बजारीकरणमा सहभागी गराउन सकेकोमा प्रसन्न थिए ।
उनी भन्छन्, ‘अन्यत्र मेला महोत्सवका लागि महासंघका तर्फबाट धेरै कामहरु गरियो । आफ्नै गृहनगरमा आयोजना गर्नु पर्ने सोच त थियो तर मिलिरहेको थिएन । देवीथान महिला समूहको आयोजनामा भव्य रुपमा सम्पन्न कार्यक्रमलाई आधार मानेर पाँचखालमा आगामी समयमा यस्ता मेला महोत्सव र हाटबजार आयोजना गर्दै महिला तथा स्थानीय उद्यम व्यवसायलाई बजारसम्म लैजान महासंघ बागमतीसँग सहकार्य हुनेछ’, कार्कीले थपे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित