महानगरपालिकाको स्वर्णिम योजना

महानगरवासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उपलब्ध गराउन काठमाडौं महानगरको ‘एग्रो पुलिङ्’

महानगरपालिकाले ‘प्रविधि’, ‘अनुदान’, ‘जनशक्ति’ र ‘भौतिक सामान’ सहयोग उपलब्ध गराउने

काठमाडौँ /काठमाडौँ महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ् कार्यविधि’ स्वीकृत गरेको छ ।

एग्रो पुलिङ् महानगरपालिकाको स्वर्णिम योजना हो । अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरबासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा विक्री वितरण गर्ने व्यवस्था कार्यविधिमा समेटिएका छन् ।

कार्यविधिअनुसार महानगरपालिकाले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अर्गानिक खाद्यबस्तु उत्पादन गर्ने र वितरणका लागि महानगरपालिकाभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्नेछ । महानगरपालिका आफैँले कम्पनी खोल्न सक्ने कार्यविधिमा व्यवस्था छ ।

उत्पादकले गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने, गुणस्तर परीक्षण गर्ने र महानगरपालिकामा भएको वितरकसम्म ढुवानी गर्ने काम गर्नेछ । उत्पादन, प्रशोधन तथा ढुवानीमा लाग्ने खर्च सम्बन्धित पालिकाले स्वीकृत गरेको दरमा गर्नुपर्नेछ ।

महानगरपालिकाले ‘प्रविधि’, ‘अनुदान’, ‘जनशक्ति’ र ‘भौतिक सामान’ सहयोग उपलब्ध गराउन सक्नेछ ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले कार्यविधिहरु स्वीकृत गरेको हो । बैठकका उपाध्यक्ष एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित कार्यपालिका सदस्यहरु बैठकमा सहभागी थिए।

पकेट क्षेत्रमा उत्पादन हुने बस्तुलाई विभिन्न ८ समूहमा बाँडिएको छ । त्यस समूहमा गुण मिल्ने अन्य खाद्यबस्तु समावेश हुन सक्ने व्यवस्था छ ।

  • यसअनुसार चामल, गहुँ, मकै, कोदो फापर एउटा समूहमा छन् ।
  • मास, मुसुरो, रहर र मुङ दाल दोस्रो समूहमा छन् ।
  • तेस्रो समूहमा सिमी, भटमास, गहत र बोडी राखिएको छ ।
  • आलु, तरुल, पिँडालुजस्ता खाद्यान्न चौथो समूहमा छन् ।
  • लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, टिमुर पाँचौँ समूहमा छन् ।
  • छैटौँ समूहमा तेल, घिउ र दुग्धजन्य पदार्थ छन् ।
  • माछा, अण्डा, कुखुरा, खसी र राँगाको मासु सातौँ समूहमा छन् ।
  • मौसमी हरियो तरकारी र फलफुल आठौँ समूहमा राखिएको छ ।

यी खाद्यान्न उत्पादन हुने ठाउँ पकेट क्षेत्र हुन सक्नेछन् ।

वितरकले महानगरपालिकाले स्वीकृत गरेको दररेटमा सामान विक्री वितरण गर्नेछ । खाद्यान्न भण्डारण गर्ने, गुणस्तर परीक्षण गर्ने, प्याकेजिङ् गर्ने, लेवलिङ्ग गर्ने र विक्री वितरण गर्ने काम वितरकको हुनेछ ।

यसबाट किसानहरुले उचित मूल्य पाउने र उपभोक्ताले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने अवस्था सुनिश्चित हुनेछ ।

यसको व्यवस्थापन गर्न सहकारी, कृषि तथा पशुपन्छी समितिका संयोजकको संयोजकत्वमा ५ सदस्यीय निर्देशक समिति गठन हुनेछ । समितिले क्षेत्रगत सर्त, सहयोगलगायतका काम कार्यपालिकासँग उत्तरदायी भएर काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments