‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सम्पन्न

कर्णाली/‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुर्खेतले गत चैत २८-३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो ।

कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा विकास हुँदै गएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ कार्यक्रममा यहाँको साहित्य, कला, सङ्गीत, समाज र विकासका विविध विषयमा छलफल हुनुका साथै प्रस्तुति राखिएको उत्सव आयोजक समिति सचिवालयका संयोजक कमल लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्सवमा महिला नेतृत्वदेखि सिमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माण गरेका पैकला (नायक)हरूको कथा, जेनजी पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा उर्जा, प्रविधिको विकासका सवालमा बहस गरिएको हो ।

कार्यक्रमको पहिलो दिन चैत २८ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ‘नारी नेतृत्व’ विषयमा प्रस्तुति दिनुभयो । सात वर्षसम्म सञ्चालन भएको उत्सवबारे ‘सात वर्ष सात प्रयास’ शीर्षकमा श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो । त्यसैगरी, देवन्द्ररमण खनालद्वारा ‘कर्णालीमा बैङ्किङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालद्वारा ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो ।

‘सुइना कर्णालीका’ विषयमा प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटा, खडकबहादुर बुढा, लक्ष्मीप्रसाद पोखरेल, रमेशकुमार मल्ल, राधिका रम्तेलसँग पत्रकार रविन्द्र सुवेदीले छलफल गर्नुभयो । ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा पत्रकार आदित्य खनालको सहजीकरणमा प्रतिनिधिसभा सदस्य मनिष खनालका साथै जेनजी अगुवा रक्षा बम, धीरज जोशी, र प्रकाश बोहोराले बहस गर्नुभयो ।

पैकेलो शीर्षकमा डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो सङ्घर्ष र सफलताको कथा सुनाउनुभयो । ‘शक्तिको सोपानः बाँडफाँटदेखि विकाससम्म’ विषयमा कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्ट, गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल सरकारका अर्थसचिव डा घनश्याम उपाध्याय, सुशासनविद् विष्णु अधिकारीसँग छलफल गरिएको थियो ।

‘उद्यमशील समाज र उजेलो अर्थतन्त्र’ विषयमा पत्रकार सुजन ओलीको सहजीकरणमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत व्यक्तिसँग छलफल र विमर्श गरिएको उत्सव आयोजक समिति सचिवालयका संयोजक लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ‘पोजिसन कर्णाली’ विषयमा हरिहर न्यौपानेले प्रस्तुति दिनुभएको थियो । उत्सवको आकर्षण ‘कर्णाली कन्सर्ट शीर्षकमा जुरुक्क कर्णाली’ जदौँ हजुर ब्यान्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाँल, विपना सिंहलगायत कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

उत्सवको दोस्रो दिन चैत २९ गते ‘प्रतिरोधका पाइला’ शीर्षकमा प्रस्तुति दिइएको थियो । ‘कनेक्टिङ कर्णाली’ शीर्षकमा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापा मगरले सहजीकरणमा स्वतन्त्र उर्जा उत्पादक सङ्घका कार्यकारी सदस्य सुमन जोशी, नेपाल सरकारका पूर्वसचिव केशवकुमार शर्मा, एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मासँग छलफल भएको छ ।

‘शिक्षाको उकाली ओराली’ शीर्षकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्कबहादुर विश्वकर्मा, मध्यपश्चिम विश्वविद्यालयका अनुसन्धान निर्देशक डा पुष्पराज आचार्य, प्रधानाध्यापक नमकली नेपालीसँग शिक्षा अभियानकर्मी कौशीला चन्दको सहजीरकणमा छलफल भएको थियो ।

पत्रकार ज्योति कटुवालको सहजीकरणमा ‘विकासको गोरेटोः प्रकृतिको ओत’ शीर्षकमा प्रतिनिधिसभा सदस्य केपी खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदी, नेपाल सरकारका उपसचिव रुपक रावल र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पवन थापासँग छलफल भएको थियो ।

‘उद्यमको उडान’ शीर्षकमा होटल व्यवसायी पोषण रेग्मी, सर्जिकल व्यवसायी कल्पना विष्ट, कृषि व्यवसायी रोशन सिंह र रत्न व्यवसायी शिला नेपालीसँग पत्रकार पुरोषतम सापकोटाले संवाद गर्नुभयो । त्यस्तै, डट्पेनदेखि डटकमसम्म शीर्षकमा पत्रकार किरण नेपाल, उमेश श्रेष्ठ र कृष्णमाया उपाध्यायसँग सञ्चारमाध्यमका अध्येता ईन्द्रध्वज क्षेत्रीले सहजीकरण गरी छलफल गर्नुभयो ।

उत्सवको तेस्रो दिन चैत ३० गते चिकित्सक डा रामजीले ‘भूईदेखि भूमिकासम्म’ शीर्षकमा प्रस्तुति दिनुभयो । ‘घुमिफिरी कर्नाली’ शीर्षकमा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारका सचिव अजितकुमार कर्ण, पर्यटन उद्यमी देवराज जैसी, होमस्टे सञ्चालक रचना बाँठासँग पत्रकार ललित बुढाले बहस गर्नुभयो ।

‘द स्टोरी किचन’का रणनीतिक सल्लाहकार राजन पराजुलीको सहजीकरणमा ‘महिला मुखिया’ शीर्षकमा भेरीगङ्गा नगरपालिका सुर्खेतका उपाध्यक्ष धनसरा बोहोरा, ठाकुरबाबा नगरपालिका बर्दियका उपप्रमुख बिनाकुमारी भट्टराई, गैँडाकोट नगरपालिका नवलपरासीका उपप्रमुख शान्ति कोइरालासँग छलफल भएको उत्सव आयोजक समिति सचिवालयका संयोजक लम्सालले जानकारी दिनुभयो ।

‘परम्परागत चिकित्सा पद्धति रोवा रिग्पा’ शीर्षकमा डोल्पाका याङ्कर आम्ची पेमा लामासँग जडीबुटीविज्ञ एवं उद्यमी राजेन्द्र विष्टले संवाद गर्नुभएको थियो । त्यसैगरी, ‘नखिचिएका सिनेमा’ शीर्षकमा महानायक राजेश हमालसँग पत्रकार एवं फिल्ममेकर देवकी विष्ट र ‘खस कुडा खास कुडाः टपक्क टप्पा, सपक्क सिङ्गारु’ शीर्षकमा डिल्ली बिसीले वक्ताहरू पृथ्वीबहादुर सिंह (सुर्खेत) र निर्मला गिरी (रुकुमपश्चिम) सँग छलफल गर्नुभयो । उक्त कार्यक्रममा गीत, कविता, गजललगायत साहित्यिक एवं सांगितीक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

उत्सवमा कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला क्रमशः जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको थियो ।

उत्सवमा सहभागी वक्ताहरूले नीतिगत तहमा महिला नेतृत्व, वातावरणमैत्री विकास, सडक, बिजुली र इन्टरनेट, वित्तीय स्रोतको समुचित परिचालन, कर्णाली विकासको मूलधारमा पुर्याउन जनप्रतिनिधिको भूमिका, विकासभन्दा राज्यले कर्णालीलाई न्याय दिनुपर्ने, हिमाली चिकित्सा पद्धति अवलम्बन गर्नुपर्नेलगायत विविध विषयमा छलफल र संवादमार्फत सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको उत्सव आयोजक समिति सचिवालयका संयोजक लम्सालले बताउनुभयो ।-शुरबहादुर सिंह/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments