‘जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढौँ’

ललितपुर/कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा परिणत गर्दै दिगो विकासतर्फ अगाडि बढ्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित गोष्ठीमा उहाँले सहकार्य, प्रतिबद्धता र दृढ इच्छाशक्तिका साथ जलवायु परिवर्तनका असर र चुनौतीको सामना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “नेपालले वन, जैविक विविधता संरक्षण एवं वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । हाम्रो वन क्षेत्रको विकास र संरक्षणको प्रयासले अन्तरराष्ट्रिय क्षेत्रमै सकारात्मक प्रभाव पारेको छ, यसलाई सुदृढ बनाउँदै लैजानु हाम्रो कर्तव्य हो । जलवायु परिवर्तनका असरको सामना गर्दै समाधानतर्फ लाग्न तीनै तहका सरकारबीच अझ बढी समन्वय आवश्यक छ ।”

उहाँले निजी क्षेत्र, नागरिक समाज तथा सञ्चार माध्यमको सक्रिय सहभागिताविना जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि दिगो समाधान सम्भव नभएको उल्लेख गर्दै चुनौती समाना गर्ने साझा दायित्वबारे सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजनाको कार्यान्वयनमा नेपालको प्रतिबद्धताअनुसार दृढ संकल्पका साथ काम भइरहेको बताउनुभयो । उहाँले राष्ट्रिय कार्यान्वयन योजना कार्यान्वयनका लागि विषयगत मन्त्रालयसँग समन्वय गरेर प्रभाकारितामा ध्यान दिइनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजनामा नेपाल सरकारले गरेको काम, लक्ष्य र प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

उहाँले युएनडिपीले विश्वका एक सय २० देशमा जलवायु परिवर्तनका असर न्यूनीकरणलगायत कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालले तय गरेको प्रमाणमा आधारित राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन कार्ययोजनामा पनि थप सहयोग गर्ने प्रतिबद्धता बनाउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन कार्ययोजनाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments