काठमाडौँ / नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ ।
चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो ।
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा संशोधन गरिएको छ । त्यस्तै, मूल नियमावलीको नियम ५, ७, ८ र १४ मा संशोधन गरिएको छ । मूल नियमावलीमा नियम १६ (क) थप गरिएको छ भने मूल नियमावलीको अनुसूचीमा संशोधन गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को अभिभावक नागरिकता नपाउँदै मृत्यु भएको वा बुबाको ठेगाना अज्ञात रहेको अवस्थामा तथा नेपाली आमाबाट विदेशमा जन्मिएर बुबाको पहिचान नभएका तर नेपालमा स्थायी बसोबास गरिरहेका सन्तानको हकमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था थप गरिएको छ ।
नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातका अतिरिक्त स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा लिइनेछ । त्यसका लागि आवश्यक ढाँचासमेत संशोधित नियमावलीले व्यवस्था गरेको छ । यसअघि वैवाहिक अङ्गीकृतबाहेकका अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र प्रदान हुने व्यवस्था थियो । नयाँ कानुनी व्यवस्थाअनुसार उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने व्यवस्था गरिएको छ, जसले नागरिकता वितरण प्रक्रियामा स्थानीय तहको भूमिका र जिम्मेवारी बढाएको छ ।
संशोधनले यसअघि कानुनले स्पष्ट रूपमा समेट्न नसकेको नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि समावेश गरेको छ । साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको अवस्थामा वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्नुअघि निजको नेपाल बसाइँ अनुमति (भिसा) नियमित हुनुपर्ने व्यवस्था स्पष्ट गरिएको छ ।

काभ्रेपलान्चोकमा पछिल्लो समय आमाको नाममा नागरिकता लिनेको संख्या बढ्दै गएको छ । नेपाल नागरिकता (दोस्रो संशोधन ऐन) २०८२ प्रमाणिकरण भएपछि यो संख्यामा वृद्धि भएको हो ।
जिल्लामा पछिल्लो समय आमाको नामबाट, पितृत्व र मातृत्व दुवै ठेगान नभएको नेपाली नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला केही महिनादेखि जिल्लामा आमाको नामबाट र पितृत्व र मातृत्व दुवै ठेगान नभएको नेपाली नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या बढेको जनाएको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा जेठ ११ देखि हालसम्म २३ जनाले आमाको नामबाट नागरिकता प्रमाणपत्र र चालु आवको कात्तिकदेखि हालसम्म पितृत्व र मातृत्व दुवै ठेगान नभएका पाँच जना र दुई जनालाई अङ्गिकृत नेपाली नागरिकता प्रदान गरिएको बताउनुभयो ।
उहाँले हालसम्म जिल्लामा आमाको नामबाट १२ जना महिला र ११ जना पुरुष तथा पितृत्व र मातृत्व दुवै ठेगान नभएको तीन जना महिला र दुई जना पुरुषलाई वंशज र एक पुरुष र एक महिलालाई अङ्गिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
“पछिल्लो समय नेपाल नागरिकता (दोस्रो संशोधन) २०८२ मा व्यवस्था भए बमोजिम आमाको नामबाट र पितृत्व र मातृत्व दुवै ठेगान नभएका नेपाली नागरिकलाई वंशजको आधारमा र दुई जनालाई अङ्गिकृत नागरिकता प्रदान गरेका हौँ” प्रजिअ अधिकारीले भन्नुभयो ।
जिल्लामा जेठ महिनामा एक जना, असार महिनामा तीन जना, कात्तिक महिनामा एक जना,मङ्सिर महिनामा तीन जना, पुस महिनामा तीन जना, माघ महिनामा दुई जना, फागुन महिनामा सात जना र चैत महिनाको हालसम्म तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
यस्तै कात्तिक महिनामा एक जना, मङ्सिर महिनामा दुई जना र चैत महिनामा दुई जनालाई पितृत्व र मातृत्व दुवै ठेगान नभएको नेपाली नागरिकता र माघ महिनामा दुई जनालाई अङ्किृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रजिअ अधिकारीले पछिल्लो समय कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर क वर्गको अपाङ्गता भएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले जिल्लामा रहेका १३ वटै स्थानीय तहहरुलाई पत्राचार गरेर आफ्नो स्थानीय तहमा रहेका क वर्गका अपाङ्गता भएका र नागरिकता नपाएका व्यक्तिको जानकारी दिन आग्रह गरेको बताउनुभयो । कार्यालयले पछिल्लो समय नागरिकहरुका लागि गुनासो गर्नका लागि ‘क्यू आर’ को सुविधा समेत उपलब्ध गराएको बताउनुभयो ।
“कार्यालयमा विभिन्न कारणले नागरिकले गुनासो गर्न आनाकानी गर्न सक्ने भएकोले क्यू आर कोडको व्यवस्था गर्दा निर्धक्क भएर घरबाट नै गुनासो गर्न सक्नेछन्” प्रजिअ अधिकारीले थप्नुभयो । उहाँले कार्यालयले गुनासोको साथै नागरिक वडा पत्रलाई पनि क्यू आरको माध्यमबाट जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
यसैगरी कार्यालयले पछिल्लो समय कुनै पनि सेवाग्राहीले वडा कार्यालयको सिफारिस ल्याएपछि छुट्टै निवेदन आवश्यक नपर्ने व्यवस्था समेत गरेको बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित