‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
काठमाडौँ / सूचना प्रविधिको प्रयोग वृद्धिसँगै ‘डिजिटल’ हिंसा बढ्दै गएकाले कानुनी रुपमा नै न्यूनीकरण गर्नुपर्नेमा सांसद र युवा सङ्गठनका प्रतिनिधिले जोड दिएका छन् ।
महिला सेवा संस्था नेपालले आज आयोजना गरेको ‘बदलिँदो राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक युवाहरूसँग एक दिवसीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा) का सांसद कमल सुवेदीले सूचना प्रविधिको युगमा भएकाले त्यसलाई कानुन बनाएर नै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
“अहिलेको मन्त्रिपरिषद्मा युवा सहभागिता राम्रो छ, युवाले सूचना प्रविधिको राम्रो प्रयोग पनि गरेको छ, निर्वाचनमा पनि डिजिटल माध्यमबाटै प्रचार भयो,” सांसद सुवेदीले भन्नुभयो, “तर भ्रमपूर्ण, गलत सूचनाहरु पनि प्रचार हुन सक्छ, त्यसलाई कानुन बनाएर व्यवस्थित गर्नुपर्छ ।”
नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकेले सूचना प्रविधिको विकाससँगै डिजिटल माध्यमबाट महिला हिंसा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “महिला हिंसा बढ्दै गएको छ, मलाई त्यो सम्झियो भने आङ सिरिङ्ग हुन्छ,” उहाँले भन्नुभयो, “डिजिटल माध्यमबाट धेरै महिलालाई हिंसा हुने देखिएको छ, त्यो रोक्नुपर्ने जरुरी छ ।”
युवाहरुले डिजिटल प्रजातन्त्रका युवाका आवाज, युवा सहभागिता र युवा सङ्गठनहरुमा एकताबद्ध भएर संवाद गरी मुलुकको समस्याको समाधान दिनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा राजनीतिक दल, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलगायतका युवाको सहभागिता थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ चैत्र १९ गते