काठमाडौँ / पक्राउ गरिएका पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसर भद्रकाली लगिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुशार उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केही बेरअघि प्रहरीले पक्राउ गरेको थियो ।
नयाँ सरकार गठन लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग रातभर छलफल गरेका थिए ।
गत २३ र २४ भदौमा भएको जेन जेन आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्र कुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । सोही आधारमा एमाले अध्यक्ष ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको जनाइएको छ ।
शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय लगत्तै गृहमन्त्री गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित