काठमाडौँ/चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुहुन्छ ।
“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसकेमात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उहाँले भन्नुभयो ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुसुप्त दसैँ भनिन्छ ।
त्यसैगरी, व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बास प्राप्त हुने उल्लेख छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।
रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवङ भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिनका रूपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत, अनुष्ठान र जप आदि गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको छ । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास राष्ट्रपति पौडेलको रहेको छ ।
रामनवमी भगवान् श्रीरामको जन्म दिवसमात्र नभई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रूपमा पनि लिइन्छ । यस दिन मुलतः देशका विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ ।
काठमाडौँ/उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२ का पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक सन्देश जारी गर्दै रामनवमी पर्व धार्मिक उत्सवमात्र होइन, सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन आदर्शलाई आत्मसात् गर्ने अवसर भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “श्रीरामले समाजमा न्याय, सद्भाव र शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँको जीवनले हामीलाई सत्य, निष्ठा, धर्मपालन, अनुशासन र नैतिक आचरणलाई जीवनको आधार बनाउन सदैव प्रेरित गर्दछ ।”
उपराष्ट्रपति यादवले रामनवमीका अवसरमा गरिने भजनकीर्तन, पूजापाठ र उपासनाले नागरिकलाई भक्ति, अध्यात्म र परोपकारतर्फ उन्मुख गराउने उल्लेख गर्दै यस पर्वले समाजमा सद्भाव, सहयोग, भाइचारा र जनकल्याणको भावनालाई जागृत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म र आस्थाले वैरभाव र क्लेशबाट अलग राखी शान्ति, परोपकार र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उहाँले रामनवमी पर्व नेपाली समाजलाई नैराश्य र अनैतिकताबाट उन्मुक्ति दिलाउने शङ्खनादको माध्यम पनि बनोस् भनि कामना गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ, “यस अवसरमा सबै नेपालीले श्रीरामझैँ सत्य, धर्म र मर्यादित सङ्कल्पका साथ जीवनयात्रा अघि बढाउन प्रेरणा प्राप्त गरून् । रामनवमी पर्वले हाम्रो समाजलाई नैतिकता, सद्भाव र एकताको मियो बनेर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धुत्वलाई अझ सुदृढ बनाओस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित