काठमाडौं विश्वविद्यालयको आयोजनामा भोलिबाट हिमालयन युनिभर्सिटी कन्सोर्टियम रिट्रिट

काभ्रेपलाञ्चोक/ काठमाडौं विश्वविद्यालयले (केयू) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ (मार्च १८ र १९) मा काठमाडौंमा रिट्रिट आयोजना गर्ने भएको छ ।

हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई सुदृढ बनाउने उद्देश्यसाथ आयोजना गर्न लागिएको रिट्रिटमा त्यस क्षेत्रका ३० भन्दा बढी उच्च शिक्षण संस्थाका उपकुलपति तथा प्रमुखहरू लगायत ७० जना विदेशी विज्ञको उपस्थिति रहनेछ ।

थाइल्यान्ड, म्यानमार, बाङ्लादेश, चीन, भारत र भुटान लगायतका देशका विश्वविद्यालयबाट सहभागीता रहने कार्यक्रममा दश देशका राजदूत तथा कूटनीतिज्ञहरूको पनि उपस्थिति रहनेछ ।

सहभागीहरूले भविष्यका लागि मार्गचित्र तयार गर्न तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्दर्भमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन सुनिश्चितताका लागि सहकार्यको खाका निर्माण गर्नेछन् । कन्सोर्टियममा आबद्ध हुन इच्छुक शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा द इनर्जी एण्ड रिसोर्सेज इन्स्टिच्युटको स्कुल अफ अड्भानस्ड स्टडिजका कुलपति प्रा डा विभा धवन प्रमुख वक्ता तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा आनन्द मोहन भट्टराई विशेष अतिथि रहनुहुनेछ ।

कार्यक्रममा सातवटा प्राविधिक सत्रमार्फत हिन्दुकुश–हिमालय क्षेत्रका प्रमुख मुद्दाहरूमा छलफल हुनेछ, जसमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन, बहुपक्षीय शैक्षिक तथा अनुसन्धान सहकार्य, हिमालयन युनिभर्सिटी कन्सोर्टियमको अन्तर्राष्ट्रिय पहिचान सुदृढीकरण, वार्षिक कार्ययोजना तथा क्षेत्रीय सहकार्यका लागि उपकुलपतिहरूको फोरम स्थापना जस्ता विषयहरू समावेश छन् ।

छलफलहरू बाह्र विषयगत क्षेत्रमा केन्द्रित हुनेछन्, जसमध्ये फुड–एनर्जी–वाटर नेक्सस, क्रायोस्फेयर र समाज, विपद् जोखिम व्यवस्थापन, परम्परागत तथा आदिवासी ज्ञान प्रणाली, जलवायु परिवर्तन र कार्बन न्यूट्रालिटी, पर्वतीय कृषि, हरित अर्थतन्त्र आदि छन् ।

रिट्रिटमा छलफल हुने विषयहरूले विकासोन्मुख विश्वभर ज्ञानमा आधारित साझेदारी विस्तार गर्दै आगामी केही दशकमा हाम्रो क्षेत्रले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने विश्वास काठमाडौं विश्वविद्यालयको छ ।

कार्यक्रमको अन्तिम दिन “काठमाडौं घोषणापत्र”का साथ यस कार्यक्रम समापन हुनेछ ।

सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियम हिन्दुकुश–हिमालय क्षेत्रका १०७ सदस्य विश्वविद्यालयहरूको साझ मञ्च हो । प्रारम्भमा इसिमोडमा स्थापित यस कन्सोर्टियमको सचिवालय गत वर्ष डिसेम्बरमा काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments