काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएपछि निर्वाचन आयोगले सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार थ्रेसहोल्ड पार गरेका राजनीतिक दलहरूलाई प्राप्त मतका आधारमा सिट संख्या निर्धारण गरेको हो।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ वटा राजनीतिक दलले प्रतिनिधिसभामा सिट पाएका छन्। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले ५७ सिट प्राप्त गरेको आयोगले जनाएको छ।
त्यसपछि नेपाली कांग्रेसले २० सिट प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १६ सिट पाएको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेको छ।
यसैगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समान रूपमा ४–४ सिट प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये १ करोड ५५ लाख ९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।
यसअघि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक भइसकेको छ। विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ।
आयोगले निर्धारण गरिएको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली अनुसार तीन दिनभित्र समानुपातिकतर्फका उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरेको छ।
निर्वाचन आयोगका अनुसार दलहरूले पठाउने नाम सूचीका आधारमा समानुपातिकतर्फका सांसदहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित