काठमाडौं/आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले भोलि (शुक्रबार)देखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने भएकाे छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने बताए ।
आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

‘हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले मिति २०८२/११/२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य (९५५ रुपैयाँ) मा बिक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एल.पि.ग्यास खरिद गर्न अनुरोध छ’, निगमले जारी गरेकाे सूचनामा भनिएकाे छ ।
निगमका कार्यकारी निर्देशक भट्टले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भन्दै आपूर्तिमा देखिएकाे समस्या समाधान गर्न यस्तो कदम चालेको बताए ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिन थालेको विषय आमसञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित भए पश्चात नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको निगमले जनाएकाे छ ।
निगमले नियमित रूपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको बताएकाे छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित