जेनजी आन्दोलनको प्रतिवेदन सरकारलाई बुझाइयो : गोली चलाउनेदेखि आदेश दिने सम्म कारबाही सिफारिस

काठमाडौँ /भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले गोली चलाउने, गोली चलाउन आदेश दिने तथा त्यसलाई रोक्न नसक्ने जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए।

करिब पाँच महिनाको अनुसन्धानपछि आयोगले विस्तृत अध्ययन, प्रमाण सङ्कलन र विश्लेषणका आधारमा प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले आन्दोलनका क्रममा भएको गोलीकाण्डको जिम्मेवारी निर्धारण गरी दोषीलाई कारबाही सिफारिस गरिएको बताए।

Lahachhap

उनका अनुसार सरकारले भदौ २३ र २४ गते भएका घटनामा कसको कस्तो भूमिका थियो भन्ने पत्ता लगाई आवश्यक कारबाही सिफारिस गर्न आयोगलाई जिम्मेवारी दिएको थियो। सोही अनुरूप अनुसन्धान गरी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको जिम्मेवार पक्षबारे सुझाव र सिफारिस प्रतिवेदनमा समेटिएको उनले बताए।

“जस–जसको भूमिका देखिन्छ, तिनलाई कारबाही गर्न भनेका छौँ। को–को जिम्मेवार छन् भन्ने कुरा सरकारले नै तय गर्ने विषय हो,” उनले भने।

स्रोतका अनुसार आयोगले प्रतिवेदनमा कारबाही सिफारिसलाई तीन वर्गमा विभाजन गरेको छ। त्यसमा राजनीतिक नेतृत्व, प्रशासनिक कर्मचारी तथा भदौ २४ गतेको घटनासँग सम्बन्धित पक्षलाई छुट्टाछुट्टै रूपमा उल्लेख गरिएको छ।

दुई दिनसम्म चलेको आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ।

Lahachhap

आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार आयोगले करिब ८ देखि १० हजार पृष्ठको विस्तृत प्रतिवेदन तयार पारेको छ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलका अनुसार प्रतिवेदनको प्रारम्भिक अध्ययन प्रधानमन्त्री र गृहमन्त्रीले गर्नेछन्। त्यसपछि मन्त्रिपरिषद् बैठकमा पेस गरी आवश्यक निर्णय लिइनेछ।

उनले प्रतिवेदनका सबै विवरण सार्वजनिक गर्न नसकिने सम्भावना रहे पनि मुख्य निष्कर्ष भने सार्वजनिक गरिने बताए।

“प्रतिवेदन प्रधानमन्त्रीज्यूले बुझिसक्नुभएको छ। अब प्रधानमन्त्री र गृहमन्त्रीले अध्ययन गर्नुहुन्छ। त्यसपछि मन्त्रिपरिषद्मा छलफल गरी आवश्यक निर्णय हुन्छ,” रावलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments