पाल्पा/पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित उहाँहरूले महाकाली-मेची साइकल यात्रा गर्न लाग्नुभएको हो ।
यहाँका २५ वर्षीय शान्तम थैबा, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा गर्न लाग्नुभएको हो । सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा सुरु हुनेछ । साइकल यात्रामा निस्कन लाग्नुभएका युवालाई पाल्पा साइक्लिङ सङ्घले आज एक कार्यक्रमकाबीच बिदाइ गरेको छ ।
महाकाली नदीबाट सुरु हुने साइकल यात्रा मेची नदी पुगेर सम्पन्न हुने पाल्पा साइक्लिङ सङ्घका उपाध्यक्ष अमन शाक्यले बताउनुभयो । उहाँका अनुसार ‘साइकल चलाऔँ नेपालभरि, शान्तिको सन्देश संसारभरि’ भन्ने मूल नाराका साथ साइकल यात्रा हुन लागेको हो । नेपालभर शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको उपाध्यक्ष शाक्यले बताउनुभयो ।
“गौतमबुद्ध जन्मेको देशमा बेलाबेलामा अशान्त हुने गर्दछ, हामी एकताको सन्देश फैलाउन चाहन्छौँ । अर्कोतर्फ अस्तव्यस्त जीवनशैलीका कारण मानिस अस्वस्थ बन्दै गएका छन्, यसले स्वस्थ रहने सन्देशसमेत प्रवाह गर्नेछ”, शाक्यले भन्नुभयो, “त्यसैले शान्ति र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गर्न लागेका हौँ ।” एघार दिनसम्म हुने साइकल यात्रामा ११०० किलोमिटर दूरी तय गरिने उहाँले जानकारी दिनुभयो ।
टोलीलाई बिदाइ गर्ने क्रममा सङ्घका अध्यक्ष रुपेश महर्जनले शान्ति र एकताको सन्देश विश्वभर फैलाउन साइकल यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घले हरेक वर्ष पाल्पामा ‘हेरिटेज राइड’समेत आयोजना गर्दै आएको छ । सङ्घले जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी ‘सम्पदा साइकल राइड’ आयोजना गर्दै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित