सामाजिक सञ्जाल र एआईले महिलालाई ‘नदेखिने घाउ’ दिइरहेका छन् : कावा नगरप्रमुख डङ्गोल

हामी घरमा हुने हिंसा र आमाको शरीरमा देखिएको निलो डामको कुरा गर्छौँ, तर सामाजिक सञ्जालले महिलालाई दिइरहेको नदेखिने पीडा र नदेखिने घाउको चर्चा कसले गर्ने ?

काठमाडौँ / काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोगका कारण महिलाहरूले ‘नदेखिने घाउ’ र मानसिक पीडा भोग्नुपरिरहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल प्रविधिको नकारात्मक प्रयोगले समाज बिथोल्ने र महिलामाथि हिंसा गर्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

डिजिटल जमानामा सूचनाको प्रवाह छिटो हुनु सकारात्मक पक्ष भए पनि यसको नकारात्मक पक्ष डरलाग्दो रहेको उनले औँल्याइन् । “कोही व्यक्ति मन पर्नु वा नपर्नु व्यक्तिगत इच्छाको कुरा हो, तर त्यही कारणले सामाजिक सञ्जालमा महिलालाई होच्याउने र दुर्व्यवहार गर्ने प्रयास भइरहेको छ,” कार्यवाहक प्रमुख डङ्गोलले भनिन् ।

समाजमा भौतिक हिंसा र शरीरका डामको मात्र चर्चा हुने, तर मानसिक पीडाको बेवास्ता हुने गरेको उनको गुनासो छ । उनले अगाडि भनिन्, “हामी घरमा हुने हिंसा र आमाको शरीरमा देखिएको निलो डामको कुरा गर्छौँ, तर सामाजिक सञ्जालले महिलालाई दिइरहेको नदेखिने पीडा र नदेखिने घाउको चर्चा कसले गर्ने ?”

पछिल्लो समय एआईको दुरुपयोग गरेर भ्रामक समाचार र सामग्री निर्माण गर्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई हिंसाकै अर्को रूपको संज्ञा दिइन् । अरूलाई पर्दा हासिदिने र आफूलाई नपरेसम्म दुःख महसुस नगर्ने सामाजिक मनोविज्ञानप्रति लक्षित गर्दै उनले यस्ता भ्रामक सामग्रीमा रमाइलो मान्नु पनि हिंसालाई बढावा दिनु नै भएको बताइन् । यस विषयमा सबै सचेत हुन जरुरी रहेको उनको जोड थियो ।

सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति राख्न पाउनु सुन्दर पक्ष भए पनि ‘मनमा लागेको कुरा भन्ने’ नाममा महिलालाई सुन्नै नसकिने अपशब्द प्रयोग गरी कमेन्ट गर्ने गरिएको डङ्गोलले बताइन् । जारी निर्वाचनलाई स्मरण गर्दै उनले थपिन्, “यस पटक महिला उम्मेदवारले सामाजिक सञ्जालमार्फत कति धेरै हिंसा भोगे भन्ने थुप्रै समाचार बनेका छन् । सामाजिक सञ्जालको यो कहालीलाग्दो पक्षलाई अब हामीले गम्भीर रूपमा मनन गर्न जरुरी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments