महिलाको नाममा घर बनाउँदा नक्सा पासमा छुट दिने प्रस्ताव नगरसभामा लैजाने कावा नगरप्रमुख डंगोलको घोषणा

‘पावर इन एक्सन : हर टाइम इज नाउ’ शीर्षकमा अन्तरसंवाद : महिलाको सामर्थ्य कम आँकलन गर्ने सोच छोड्नु पर्नेमा वक्ताको जोड

काठमाडौँ । महिला भएकै कारण सामर्थ्य कम छ भनेर धारणा बनाउने परिपाटीमा रुपान्तरण हुनुपर्ने विधागत महिला नेतृहरुले धारणा राख्नुभएको छ । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘पावर इन एक्सन : हर टाइम इज नाउ’ शीर्षकको अन्तरसंवाद कार्यक्रममा पुरुष भएकै कारण सामर्थ्यवान ठान्ने र महिला भएकै कारण सामर्थ्यमा विश्वाश नगरेर कामको नतिजा नआउञ्जेलसम्म विश्वाश नगर्ने परम्परागत सोचमा रुपान्तरण हुनुपर्नेमा उहाँहरुको जोड छ ।

विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरुका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो । औपचारिक प्रणालीको नेतृत्व गर्दाका अनुभव संस्थागत नेतृत्वमा रहनु भएका व्यक्तित्वबाट प्रस्तुत भएका थिए । समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्नेहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउनु भएको थियो ।

प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हक अधिकार, लैङ्गिक उत्तरदायी सहर, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास, समतामूलक समाज निर्माणका आयामका विषयमा राज्य प्रणालीको उपल्लो ओहदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका सृङ्खला समेटिएको थियो ।

Lahachhap

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले, आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा कानुनी व्यवस्था र व्यवहारिक अवस्थाका बिचमा खाडल रहेको उल्लेख गर्नुभयो । ‘महिलाहरुका लागि जारी गरिएका कानुनी व्यवस्थाको महिलाहरुलाई पर्याप्त जानकारी नभएकोले महानगरपालिकाले यस्ता कानुनी प्रबन्धका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

उहाँले सुझावमा शक्ति निक्षेपीकरणको कुरा गर्दै भन्नुभयो, ‘न्यायिक समिति संरचना मात्र होइन । यो न्यायिक विकेन्द्रीकरणको प्रयोग गरेर नागरिकलाई सहज न्याय प्राप्त गर्न सकिन्छ भन्ने महसुस गराउने स्थान पनि हो । यसबाट नागरिकमा छिट्टै न्याय दिन सकिन्छ ।’

महानगरपालिकाले लैङ्गिकमैत्री र समतामा आधारित सहरी व्यवस्थापन, लैङ्गिकताका आधारमा हुने हिंसा न्यूनीकरण, व्यवस्थापन तथा स्थानीय विवाद निरुपणका लागि ६ वटा स्थानीय कार्यान्वयनमा ल्याएको छ । कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘कानुनबाट विधि स्थापित गर्ने, उद्यमशीलताबाट आर्थिक सशक्तिकरण गर्ने, सेवा सहजताबाट पहुँच स्थापित गर्ने दिशामा हामी क्रियाशील छौँ ।’

उहाँले भन्नुभयो, ‘महिलाका नाममा स्वीकृत हुने भवन नक्सामा छुट दिने प्रस्ताव आगामी नगर सभाको बैठकमा लिएर जानेछौँ । कार्यस्थलमा हुने हिंसाका लागि प्रचलित कानुनको प्रचलन गराउँछौँ । आवश्यकताका आधारमा नयाँ कानुन तर्जुमा गर्छौँ । घरमै बसेका गृहिणी महिलालाई आय आर्जनमा जोड्ने कार्यक्रमको कार्यविधि तर्जुमा गर्छौँ ।’

‘पहिलेको भन्दा अहिले महिलाहरुको अवस्थामा धेरै परिवर्तन आएको छ । तर, अझै पुग्ने अवस्था छैन ।’ कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले भन्नुभयो, ‘म निजामती सेवामा प्रवेश गर्दा काम गर्ने कार्यालयमा महिलाका लागि शौचालय पनि थिएन । अर्को कार्यालयमा जानु पथ्र्यो ।’ उहाँले आफ्नो अध्ययन काल र वृत्ति विकासको कुरा सुनाउँदै भन्नुभयो, ‘कानुन पढेर भोलि के हुन्छ भन्ने नजानी बुबा र दाजुले पढ भनेका भरमा पढेकी हुँ । निजामती सेवामा प्रवेश गरेर मुख्य सचिवसम्म पुग्दा भनेर नसकिने कथा छन् । हिजोका ती कथा आज उस्तै छैनन् । स्वरुप फेरिएको छ । संघर्ष यथावत् छ ।’

महानगरपालिकाले विगतमा गरेका सफल र असल अभ्यासलाई संस्थागत गरेर नवप्रवर्तनमा आधारित थप कार्यक्रममा काम भइरहेको महानगरपालिकाको वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले भनाइ राख्नुभयो । क्षेत्रगत आवाज सुनेपछि आगामी दिशाका लागि सहयोग पुग्ने उहाँको विश्वाश छ ।

Lahachhap

‘सहभागिताका कोणबाट २०४७ सालदेखि अहिलेसम्म धेरै उपलब्धी भएका छन् । सार्वजनिक जीवनमा रुपान्तरण छ । तर, व्यक्तिगत श्रम क्षेत्रमा अझै पनि महिलाहरु निर्मम सरहको जीवन यापन गरिरहेका छन् ।’ सार्वजनिक सेवा प्रसारण नेपालका नायव महाप्रबन्धक आरती चटौतले भन्नुभयो, ‘कामका लागि घरबाट बाहिर निस्कन आवाज उठाउने अग्रणी महिलाहरुलाई प्रेरणाका स्रोत मान्नुपर्छ । अब, कोख, जन्म र स्तनपान महिलाबाट मात्र हुन्छ । बाँकी महिलाले मात्र गर्ने भनिएका सबै काम महिला पुरुष दुवै मिलेर गर्न सकिन्छ । यसबाट व्यावहारिक रुपान्तरण आउँछ ।’

कार्यक्रममा वातावरणविद सञ्जीवनी योञ्जनले, आफूले जीवनमा कहिल्यै पनि केटी भएर नसोचेको बताउँदै सहअस्तित्वमा आधारित सामाजिक संरचना निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै महिला प्रजनन स्वास्थ्य अधिकारकर्मी डा. गरिमा श्रेष्ठले, समान समस्या भएका व्यक्तिहरुको समुदाय निर्माण भएपछि नेतृत्व विकास प्रभावकारी हुने धारणा राख्नुभयो ।

विकास र प्रविधि अहिलेका धेरै प्रयोग हुने शव्दावली हुन् । यी दुवै पक्षको सन्तुलित प्रयोग चाहिएको छ । कार्यक्रममा कम्प्युटर बैज्ञानिक डा. दोभान राईले, कृतिम वौद्धिकताले महिलाहरुमा पार्न सक्ने जोखिमका विषयमा संवेदनशील हुनु पर्ने बेला आएको उल्लेख गर्नुभयो । कार्यक्रममा अनुसन्धाता डा. रामदेवी ताचामो शाहले, परिवारको सहयोगबाट आफूले अहिलेको स्थान प्राप्त गरेको उल्लेख गर्दै परिवारलाई लैङ्गिमैत्री अवधारणा बुझाउन सकियो भने अहिलेका धेरै समस्या, उत्पत्ति हुने ठाउँमै समाधान हुने बताउनुभयो ।

अपाङ्गता अधिकारीकर्मी रेवती कार्कीले, नकारात्मक अभिव्यक्तिले अपाङ्गता भएका व्यक्तिभित्र रहेको क्षमता प्रयोग हुन नसक्ने अवस्थामा पुगेको अनुभूति सुनाउनुभयो । यो अवस्थालाई सरकारले गहिरो रुपमा बुझेर नीतिगत, कार्यक्रमगत तथा सामाजिक सुधारको अभियानका रुपमा कार्यान्वयनमा लैजानुपर्ने कार्कीको सुझाव छ ।

पर्वतारोही पूर्णिमा श्रेष्ठले, उमेर पुगेपछि महिला विवाहका लागि मात्र होइन । अन्य विभिन्न क्षेत्रमा योगदान दिन पनि योग्य हुने कुरा बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । पर्वतारोहणमा जानुभन्दा विवाह गर्नु उपयुक्त रहेको भनेर आफन्त र शुभेच्छुकले सुझाव दिएको विगत सम्झना गर्दै उहाँले, उमेरले परिपक्वता महिला र पुरुष दुवैका लागि समान हो ।

Lahachhap

कलम चलाउने र कुचो चलाउनेको श्रम बराबर हुन्छ । तर, पारिश्रमिक बराबर हुँदैन । महानगरपालिकाको सरसफाइ कर्मचारी रमिला पोडेले, सरसफाइमा काम गर्ने श्रमिकलाई समाजबाट सम्मान प्राप्त हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । न समान पारिश्रमिक न सम्मान । तर, पनि हामी दिनरात सडकमा कुचो लिएर बढारिरहेका हुन्छौँ । घरको फोहर बाहिर ल्याएर फुत्त फाल्नेले नै हामी काम गरिरहेकालाई गाली गर्नुहुन्छ । यो अवस्थालाई सबै मिलेर सुधार गरौँ । पोडेको आग्रह छ ।

अन्तरसंवादमा ११ जना वक्ताले विचार राख्नुभएको थियो । यस्तै डा. मुस्कान पोखरेलले, घरेलु हिंसासँग सम्बन्धित विम्बात्मक कविता प्रस्तुत गर्नुभएको थियो ।

दिवस अवसरमा महानगरपालिकाका महिला लक्षित सेवा तथा कार्यक्रमहरुमा, न्यायिक सहजकर्ताको भूमिका, महिला सञ्जालका काम, मेलमिलापको अभ्यास, न्यायिक चौतारीका विषयमा जानकारी तथा ‘एक वडा ः एक नमूना उद्यम कार्यक्रम’अन्तर्गतका पौरखी महिलाहरुको प्रतिनिधिमूलक जीवन्त कला प्रदर्शनी गरिएको थियो ।

यस्तै नेपालको महिला आन्दोलन तथा अधिकार प्राप्तिका लागि भएका संघर्षका उदाहरणीय महिला नेतृहरुका विषयमा विवरण प्रदर्शनी गरिएको थियो । कार्यक्रमका बारेमा सहभागीहरुबाट पृष्ठपोषण दिन क्युआरमा आधारित प्रश्नावली उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments