काठमाडौँ/गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आउनुभएको थियो, ओमप्रकाश अर्याल ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भागेका थिए, हातहतियारहरु पनि लुटिएका थिए । राजनीतिक दलप्रति आममानिसमा विश्वास गुमेको अवस्था थियो । सुरक्षा मुख्य चुनौती थियो । आम मानिसमा पनि समयमै निर्वाचन हुन्छ वा हुँदैन भन्ने संशय थियो ।
अन्ततः समयमै शान्तिपूर्ण रुपमा निर्वाचन भयो । बिहीबार निर्वाचनको जिम्मेवारी पूरा गरेपछि गृहमन्त्री अर्यालले भन्नुभयो, “एउटा महत्वपूर्ण जिम्मेवारी पूरा भयो, नागरिक सरकारले प्रमुख अभिभारा पूरा गरेको छ ”
निर्वाचन सम्पन्न भएपछि शुक्रबार दिनभर जसो मन्त्री अर्यालले धन्यवाद तथा शुभकामनाका कैयौँ फोनकल, सन्देश प्राप्त गरिरहनुभयो । मन्त्रालयमै आएर बधाई दिनेहरुको संख्या पनि बाक्लो थियो । उहाँले शुभचिन्तकलाई भन्नुभयो, “आजबाट जिम्मेवारीको भारी बिसाएर हल्का महसुस भएको छ । मतपरिणामपछि नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेर फर्किन आतुर छौँ ।”
उहाँले यसका लागि प्रधानमन्त्री सुशीला कार्कीप्रति विशेष आभार व्यक्त गर्नुभयो । साथै निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीलाई धन्यवाद दिनुभयो । “निजामति प्रशासनलाई सधै दोष दिने गरिएको छ, त्यो मात्रै साँचो होइन, निजामतिको साथमै काम फत्ते भएका छन् खाली नेतृत्व कस्ले कसरी गरेको छ भन्ने महत्वपूर्ण कुरा हो”, गृहमन्त्री अर्यालले भन्नुभयो ।
गृहमन्त्री अर्याल छ महिनाभित्र निर्वाचन गरेर मुलुकलाई निकास दिने दायित्वमा कहिल्यै बिमुख हुनुभएन । उहाँले भन्नुभयो, “गृहमन्त्रालय ‘पावर एक्सरसाइज’ गर्ने मन्त्रालय भन्थे मैले नेतृत्व सम्हाल्दाको अनुभवमा यो त शान्ति मन्त्रालयको भूमिकाजस्तो देखियो । परिस्थितिलाई काबुबाहिर जान नदिन अपनाउनुपर्ने संयमता र मन्त्रालयको मुख्य जिम्मेवारीबाट कहिल्यै बिचलित भइन र निरन्तर आफ्नो इमानन्दारिताको अभ्यास गरे ।”
राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको उहाँको बुझाइ छ । अहिले देशभर मतगणना कार्य जारी छ । केही क्षेत्रको नतिजा पनि आइसकेको छ ।
लोकतान्त्रिक प्रकृयाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उहाँले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गर्नुभयो । अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको उल्लेख गर्नुभएको । उहाँले निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।
गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई आफूहरुले नजिकबाट नियालेर सोही अनुसार व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले थप्नुभयो, “यहाँ तपाईंहरुले निर्देशन दिने गृहमन्त्री र निर्देशन पालना गर्ने कर्मचारी एवं सुरक्षाकर्मीहरू भेट्नुहुन्न’ निर्देशनमुखी कार्यशैली फेरेर सामूहिक निर्णय गर्ने अभ्यास कार्यान्वयन भएको छ । आवश्यक कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिहरू सबै बसेर सामूहिक सरसल्लाह गर्छौं र आवश्यक निर्णय लिन्छौं ।”
गत पुसमा मधेशमा देखिएका साम्प्रदायिक हिंसाका केही छुटपुट घटना भए । ती समस्याको पनि समयमै समाधान नगरिएको भए निर्वाचनको माहोल बिगार्न सक्थयो । -सिबी अधिकारी/रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित