नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा. डा. मरहठ्ठा नियुक्त

काठमाडौं /नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ ।

काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।

विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराउनु भयो ।

कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गर्नुभयो ।

‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं । अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ ।’ उहाँले भन्नुभयो ।

काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताउनु भयो ।

साथै उहाँले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताउनु भयो ।

कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उहाँको प्रतिबद्धता छ ।

‘यो संस्थाको गरिमा बढाउन, यसको शैक्षिक, प्राज्ञिक र स्वास्थ्य क्षेत्रको विकास, स्तरोन्नतीका लागि हामी सबैको ऐक्यबद्धता हुनुपर्दछ । म प्रिन्सिपलको भूमिकामा रहँदै गर्दा यहाँहरु सबैसँग सहकार्य गरेर अगाडी बढ्नेछु ।’ पदस्थापन कार्यक्रममा उपस्थित भएका कलेजका भाइसप्रिन्सिपल, प्रबन्ध निर्देशक, निर्देशक लगायत विभागीय प्रमुख, फ्याकल्टीहरुलाई संवोधन गर्दै डा. मरहठ्ठाले भन्नुभयो ।

कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा. मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

उहाँले प्रिन्सिपल भनेको कलेजको गरिमालाई उच्च बनाउने पद भएकोले डा. मरहठ्ठाको कार्यकाल सफल रहने विस्वास गर्नुभयो । साथै, सो अवसरमा उहाँले प्रिन्सिपललाई सफल बनाउन विभागीय प्रमुख, फ्याकल्टी, म्यानेजमेन्ट सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

‘उहाँ यसअघि ३ वर्ष नेपालगञ्ज मेडिकल कलेजको प्रिन्सिपल भइसक्नु भएको छ । यसै कलेजमा ३ वर्षदेखि अस्पताल निर्देशकको भूमिका समेत निर्वाह गरिसक्नु भएकोले हामीलाई विस्वास छ प्रिन्सिपलको भूमिका पनि उहाँले न्यायोचित रुपमा निर्वाह गर्नुहुनेछ ।’ डा. साविहा यासमिनले भन्नुभयो ।

त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसक्नु भएका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।

कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो ।

काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ ।

यसअघि प्रा.डा. प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा हुनुहुन्थ्यो । पारिवारिक कारणले उहाँले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments