निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबाबमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु ।”

काठमाडौँ / उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा सन्देश दिनुहुँदै उहाँले निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबाबमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु ।”

उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उपराष्ट्रपति यादवले मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै सभ्य नागरिकको परिचय दिनसमेत आह्वान गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार नै निर्वाचन भएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति यादवले नागरिकले आफ्ना प्रतिनिधि आफैँ छनोट गर्ने यो लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गर्नुभयो । “संविधानले दिएको बालिग मताधिकार प्रयोग गर्नु अधिकार मात्र होइन, देश र जनताको भविष्य निर्माण गर्ने कर्तव्य पनि हो । तपाईंको अमूल्य मतले देशमा शान्ति, सुशासन, स्थायित्व र समृद्धिको बाटो खोल्छ”, सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments