काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध) प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ । त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।’
युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन उनले आह्वान गरेका छन् । शनिबार बिहानै इजरायल र अमेरिकाले इरानमाथि हमला गरेका छन् । त्यसपछि इरानले खाडीका अन्य देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलक्षित हमला गरेको थियो । नेपाल सरकारका तर्फबाट खाडी मुलुकको यात्रा नगर्न ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभएको छ ।
इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
“यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो”, संयोजक दाहालले भन्नुभएको छ, “विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु ।”
नेपाली काँग्रेसका सभापति गगन थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। उक्त क्षेत्रमा विभिन्न देशहरूमा कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्था झनै संवेदनशील बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भनेका छन्, ‘सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु।’
उनले सुरक्षा नियमहरूको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन्। ‘यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइमा अनुरोध गर्दछु। सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला। आफ्नो ख्याल गर्नुहोला,’ उनले भने ।
यस्तै पूर्वसभामुख देवराज घिमिरेले द्वन्द्वग्रस्त देशमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न, आवश्यक परे आपत्कालीन सहायता तथा उद्धार तयारी अवस्थामा राख्न र सूचना प्रवाहलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो सैन्य तनाव तथा आक्रमण–प्रत्याक्रमणका घटनाले आफूलाई चिन्तित तुल्याएको उहाँले उल्लेख गर्नुभएको छ ।
संयुक्त अरब इमिरेट्स, इजरायल, इरान, कतार, साउदी अरब, कुवेतलगायतका मध्यपूर्वी देशमा विकसित परिस्थितिले त्यहाँ कार्यरत तथा बसोबास गरिरहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुरक्षाप्रति थप संवेदनशील बनाएको पूर्वसभामुख घिमिरेको भनाइ छ ।
विशेष परिस्थितिमा ती देशमा रहेका नेपाली नागरिकलाई सजग रहन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न, अनावश्यक रूपमा भीडभाड र जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो राहदानी र आपत्कालीन सम्पर्क विवरण अद्यावधिक राख्न उहाँले आह्वान गर्नुभएको छ । विश्व शान्ति, क्षेत्रीय स्थिरता र मानव सुरक्षाका पक्षमा नेपाल सधैँ दृढ उभिने पूर्वसभामुख घिमिरेले विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख शिशिर खनालले पनि विज्ञप्तिमार्फत नेपाली नागरिकको सुरक्षा सर्वोपरी दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्ने ध्यानाकर्षण गराउनुभएको छ । पूर्वप्रधानमनत्री डा भट्टराईले संवेदनशील घडीमा नेपाल सरकारले जिम्मेवार, दूरदर्शी र प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले त्यस क्षेत्रका विभिन्न देशमा रहनुभएका नेपाली नागरिकको सुरक्षा हाम्रो प्राथमिक चिन्ताको विषय भएकाले तनावपूर्ण क्षेत्रमा रहनुभएका नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित