काठमाडौ/ देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन । देशप्रेम त आफ्नै माटो, भाषा, संस्कृति, इतिहास र पहिचानप्रति गहिरो आत्मीयता राख्ने चेतना हो।
देशप्रेम त्यो अनुभूति हो जसले आफू जन्मिएको भूमिलाई आमाजस्तै माया गर्न सिकाउँछ र त्यसको समृद्धिका लागि आफ्नो तर्फबाट केही योगदान गर्न प्रेरित गर्छ । नेपालजस्तो प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न देशमा देशप्रेमको अर्थ झन् व्यापक हुन्छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको गौरव, हिमाल–पहाड–तराईको विविधता, अनेक जातजाति र भाषाको सहअस्तित्व यी सबै हाम्रो राष्ट्रिय पहिचानका मूल आधार हुन् ।
यी सम्पदाको संरक्षण गर्नु, एकअर्काको सम्मान गर्नु र सामाजिक सद्भाव कायम राख्नु नै साँचो देशप्रेम हो । देशप्रेम केवल शब्दमा होइन, कर्ममा देखिनुपर्छ । इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नु, नियम–कानूनको पालना गर्नु, भ्रष्टाचार र अन्यायको विरोध गर्नु, वातावरण जोगाउनु र समाजमा सकारात्मक योगदान दिनुयी सबै देशप्रेमका व्यवहारिक रूप हुन्। देशले हामीलाई पहिचान दिन्छ; त्यसैले हामीले पनि देशलाई योगदान दिनुपर्छ ।
देशप्रेम उत्साह र बलिदानको कथा मात्र पनि होइन यो निरन्तर जिम्मेवारीको अभ्यास हो। जब प्रत्येक नागरिकले आफ्नो स्थानबाट सुकर्म र समर्पणको बाटो रोज्छ, तब मात्र देश साँच्चिकै समृद्ध र सुन्दर बन्छ । यही सक्रिय र सकारात्मक भावना नै सच्चा देशप्रेम हो, देश प्रेमका यस्तै भावले ओतप्रोत ‘देश हो बगैंचा’ राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भावनाले भरिएको एक सशक्त र भावपूर्ण देशभक्ति गीत सार्वजनिक भएको छ जुन गीतले नेपाललाई एउटा सुन्दर बगैंचाको रूपमा चित्रण गर्दै हरेक नेपालीलाई त्यसको ‘माली’ अर्थात ‘कुशल बगैंचावाला’ को रूपमा प्रस्तुत गरेको छ । गीतले देशको सुन्दरता, समृद्धि र स्वर्गीय बनाउने काम गुनासो, आलोचना वा दोषारोपणले होइन, मेहनत, आँट, सुकर्म र सामूहिक प्रयासले मात्र सम्भव छ भन्ने भाव बोलेको छ ।
राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैंचा’ बलदेब थापाले लेखेका हुन् । यो गीतमा सुमधुर स्वर र संगीत बबिना भट्टराईको रहेको छ, उनको स्वर तथा संगीतले गीतलाई भावनात्मक उचाइ दिएको छ भने उनलाई स्वरमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु, निर्मल दियालीले साथ दिएका छन्, सामूहिक स्वर प्रयोगले गीतमा बहुआयामिकता र सामूहिकताको भाव थपिएको छ ।
गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् भने ड्रिम्स स्टुडियोमा प्रकाश के.सी ले रेकर्ड, मिक्सिङ र मास्टरिङ गरेका छन् । प्राविधिक पक्ष सुदृढ रहेकाले गीतको ध्वनि गुणस्तर पनि सन्तुलित र प्रभावशाली बनेको छ ।
‘बबिना भट्टराई’ अफिसियल युट्व च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोमा प्रेम खनाल, बबिना भट्टराई, प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु, निर्मल दियालीले भूमिका निर्वाह गरेका छन् भने भिडियोमा गीतकार बलदेव थापा, हरिराम पौडेल, रामेश्वर के.सी, आशिष खतिवडा, लक्ष्मी खरेलले राष्ट्रिय झण्डा फहराएर देखाएको दृश्यले राष्ट्रप्रेमको सन्देशलाई दृश्यात्मक रूपमा शसक्त एवं बलियो बनाएको छ ।
गीतको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने ‘मेची देखि महाकाली सम्म’ कार्यक्रममा प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतकार बलदेव थापा र गायिका बबिना भट्टराईले गीतको सन्देश र गीत निर्माण प्रक्रियाबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा श्रोताहरूले फोनमार्फत गीत उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।
अमेरिकामा रहेका गीतकार सतिश चापागाईले इमेज एफ.एम. ९७.९ मा गीतका बारेमा आफ्नो संक्षिप्त प्रतिक्रिया दिदै गीतकार बलदेव थापाका राष्ट्रभावले ओतप्रोत यी गीतिलहरहरुले राष्ट्रकवि माधव घिमिरेको लेखनको झझल्को दिएको बताउँदै गीतको सफलताको कामना गरेका छन् ।
देश निर्वाचनमय भइरहदा राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैचा’ सार्वजनिक भएसँगै नेपाली संगीत बजारमा सकारात्मक ऊर्जा थपिएको छ भने हामी सबै यो देशको ‘माली’ भएको र ‘माली’ नै बगैचाको संरक्षक भएकोले हामी सबै नेपालीले फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सक्रिय सहभागिता जनाई मतदान गरि देशको सक्षम ‘माली’ निर्वाचित गर्नु पर्ने अभिभारा थपेको अनुभुति दिलाएको छ ।
देशलाई बगैंचासँग दाँज्दै प्रत्येक नागरिकलाई ‘माली’ को रूपमा चित्रण गरिएको यस गीतले जिम्मेवार नागरिक, एकता र सहकार्यको सन्देश प्रभावकारी ढंगले प्रवाह गरेको छ । गीतकार बलदेव थापाले शब्दमार्फत राष्ट्रप्रेमलाई सरल तर गहिरो शैलीमा व्यक्त गरेका छन्। देश निर्माणमा सबैको साझा भूमिका रहने सन्देश गीतको मूल भाव हो ।
‘देश हो बगैचा, हामी सबै हौ माली’
गीतको यो स्थायी हरफ केवल काव्यात्मक सौन्दर्य होइन नागरिक कर्तव्यको दार्शनिक उद्घोष पनि हो । बगैचामा रङ्गीविरङ्गी फूलहरु आफैं फुल्दैनन् त्यसलाई निरन्तरको स्याहार–सुसार, मेहनत र धैर्य चाहिन्छ । त्यस्तै राष्ट्र पनि आफैं समृद्ध हुँदैन त्यसका लागि हरेक नागरिकको सक्रिय योगदान आवश्यक हुन्छ अनि गुनासो गरेर मात्रै पनि देश बन्दैन, कर्मशीलता र सकारात्मक सहभागिता राष्ट्रनिर्माणको आधार हुन् । राष्ट्रप्रेम भावुक नारा होइन, श्रम र समर्पणमा आधारित व्यवहारिक आदर्श हो ।
गीत ‘देश हो बगैचा’ मा बगैंचा र मालीको प्रतीक अत्यन्त प्रभावकारी छ। बगैंचामा विविध फूलहरु फुलाउन पानी, मल, हेरचाह, कीरा–फट्याङ्ग्रा हटाउने सबै कामका लागी माली चाहिन्छ त्यसैगरी देश बनाउन मेहनत, एकता, सुशासन, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा योगदान चाहिन्छ ।
गीतले प्रकृति चित्रण मार्फत राष्ट्रिय गौरव प्रस्तुत गरेको छ । गीतमा नेपालको प्राकृतिक वैभवलाई जीवन्त चित्रण गरिएको छ ।
सुकिला हिमाल, तराइको सम्म विशाल फाँट
स्वर्ग बन्छु यो देश, हामिले गरे आँट
कल कल झरना, हरिया छन् ती पाखा
भीर, पाखा गुञ्जाउने, कर्ण प्रिय भाका
निर्मल, निला ताल, पहाड झन् सुन्दर
हिमनदी चिसो जल, बहाउँछ निरन्तर
सगरमाथा विश्वको हो शीर
खेल्दै हामी हुर्कियौ त्यसैका मुन्तिर
देश हो बगैंचा, हामी सबै हौं माली ।
यी गीति हरफहरूले नेपाललाई भौगोलिक विविधताले सम्पन्न स्वर्गीय भूभागका रूपमा प्रस्तुत गरेका छन् । विशेषतः सगरमाथालाई “विश्वकै शीर” भनिनु केवल गर्वको प्रतीक होइन विश्वमञ्चमा नेपालको गर्विलो पहिचान पनि हो ।
“खेल्दै हामी हुर्कियो त्यसैका मुन्तिर” गीतको यो हरफले प्रकृतिसँगको आत्मीय सम्बन्धलाई झल्काएको छ । प्रकृति केवल सुन्दर दृश्य र सौन्दर्य मात्र होइन, राष्ट्रिय अस्मिता पनि हो । प्रकृति र नागरिकबीचको यो भावनात्मक सम्बन्धले राष्ट्रप्रेमलाई जैविक बनाउँछ जसले बाह्य होइन, आत्मगत अनुभूति दिन्छ ।
मेची काली हिमाल, तराई हो सिमाना
तराई अन्न भकारी हाम्रो हिमालको छाना
सानो सानो भुगोल, संस्कृति अनन्त
सदिऔं देखि छ, अस्तित्व जिवन्त ।
गीत ‘देश हो बगैचा’ ले भूगोलदेखि संस्कृतिसम्मको विविधता भित्रको एकता झल्काएको छ । गीतले नेपालको पूर्व–पश्चिम विस्तारलाई संकेत गरेको छ । “तराई अन्न भकारी, हाम्रो हिमालको छाना” ले भौगोलिक क्षेत्रहरूबीचको परस्पर निर्भरता स्पष्ट गरेको छ । हिमाल, पहाड र तराई अलग अस्तित्व होइनन् तिनीहरू एकअर्काका परिपूरक संरचना हुन् भन्ने सन्देश गीतले दिएको छ ।
नेपाल भौगोलिक रूपमा सानो भए पनि साँस्कृतिक रूपमा विशाल देशको पहिचान दिन्छ । सदियौंदेखि जीवित संस्कृतिहरुको उल्लेखले ऐतिहासिक निरन्तरता र सभ्यताको जरा बलियो रहेको सन्देश दिएको छ । गीत ‘देश हो बगैचा’ले आत्ममूल्यको खोजी र चेतनाको आह्वान गरेको छ ।
स्वर्ग जस्तो यो देश, किन हामिलाई सस्तो
सक्कली हिरालाई चिन्न नसकेको जस्तो
मिलि दिदिबहिनी अनी दाजुभाइ
सुकर्मले हसाउँनुछ, नेपाल आमालाई ।
यी हरफहरू आत्मालोचनात्मक रहेका छन् । गीतले बाह्य शत्रु वा परिस्थितिलाई मात्र दोष नदिई आत्मचेतनाको प्रश्न पनि उठाउँछ । यहाँ देशलाई “सक्कली हिरा” सँग तुलना गरिएको छ जुन अमूल्य छ तर अवमूल्यन गरिएको अवस्थामा छ । यो तुलना राष्ट्रिय आत्मसम्मानको पुनर्जागरणका लागि गरिएको प्रतीकात्मक आग्रह पनि हो । यहाँ गीतकारले व्यंग्यात्मक प्रश्न गरेका छन्ः यो देश स्वर्गजस्तो छ, यति धेरै सम्पदा, सौन्दर्य र सम्भावना छ, तर हामी किन यसलाई सस्तो ठान्छौं ?
किन यसको मूल्य बुझ्दैनौं ? यो हरफले नेपाली समाजमा व्याप्त नकारात्मकता, आत्मविश्वासको कमी, भ्रष्टाचार, असन्तुष्टि र एकताको अभाव लाई इङ्गित गर्छ । हामीसँग सक्कली हिरा अर्थात् अमूल्य सम्पदा छ तर हामीले त्यसलाई सस्तो ठानेर बेवास्ता गरिरहेका छौं ।
गीत ‘देश हो बगैचा’ले लैंगिक र सामाजिक समावेशिताको सन्देश पनि दिएको छ । “मिली दिदीबहिनी अनि दाजुभाइ” गीतको यो हरफ समावेशिताको स्पष्ट संकेत हो । राष्ट्रनिर्माण कुनै एक वर्ग, लिङ्ग वा समुदायको मात्र काम होइन सबैको साझा जिम्मेवारी हो भन्ने भाव गीतमा रहेको छ ।
“सुकर्मले हसाउँनु छ नेपाल आमालाई” राष्ट्रलाई आमाको रूपमा चित्रण गर्नु गर्वको कुरा हो, यसै पनि हामी जन्मदिने आमा र जन्मभूमिलाई समान रुपमा सम्मान गर्दछौ, रामायणको युद्धकाण्डमा उल्लेख भएको श्लोक ‘जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि विशिष्ट हुन् । मातृरूप राष्ट्रप्रेम नेपाली सांस्कृतिक सन्दर्भमा अत्यन्त प्रभावकारी प्रतीक हो ।
देशलाई आमा को रूप दिइनु दाजुभाइ–दिदीबहिनीको रूपमा सबै नेपालीलाई एक परिवार ठानेर सुकर्म अर्थात् राम्रो काम, इमानदार प्रयास मार्फत आमालाई हँसाउनुपर्छ भन्ने सन्देश पनि हो जसलाई राष्ट्रिय एकता, पारिवारिक भावना र सकारात्मक कर्मको आह्वानको रुपमा लिन सकिन्छ ।
गीत ‘देश हो बगैचा’ को मूल दर्शन कर्मप्रधान राष्ट्रवाद हो भावनात्मक उन्माद होइन, श्रम, एकता, आत्मबोध र नैतिक आचरणमा आधारित राष्ट्रप्रेम गीतका शब्द शब्दमा व्यक्त भएको छ । देशलाई ‘बगैचा’ भन्नु सौन्दर्यको संकेत मात्र होइन अनि ‘माली’ हुनु गौरव मात्र होइन, जिम्मेवारी पनि हो । हिमाल, ताल, नदी, झरना, तराई, संस्कृति यी सबै प्राकृतिक र सांस्कृतिक सम्पदाहरू नागरिक चेतनाले मात्र अर्थपूर्ण बन्छन् । ‘बगैंचा’ भनेको प्राकृतिक सौन्दर्य, विविधता र उर्वरताको प्रतीक हो भने ‘माली’ भनेको सृजनकर्ता, संरक्षक र जिम्मेवार व्यक्ति हो । गीतले भन्छ ‘देश आफैंमा सुन्दर छ, तर त्यसलाई फुलाउने, संरक्षण गर्ने, सुन्दर बनाउने जिम्मा हामी सबैको हो ।’
गीत ‘देश हो बगैचा’ ले राष्ट्रप्रेमलाई निष्क्रिय गौरवबाट सक्रिय कर्ममा रूपान्तरण गर्न आग्रह गर्छ, चेतनाको ढोका खोल्न आह्वान गर्छ । यी गीति हरफहरू राष्ट्रप्रेम, आत्मपहिचान र जिम्मेवार नागरिकको सशक्त काव्यात्मक घोषणापत्रका रूपमा स्थापित रहेका छन् । यी हरफहरूले नेपाललाई हिमाल, पहाड, तराईको त्रिवेणीमा बनेको स्वर्गजस्तो देशको रूपमा चित्रण गरेका छन्, सगरमाथालाई विश्वको शीर भन्दै नेपालीहरू त्यसकै मुनि हुर्किएको गर्व व्यक्त गर्छ । यो केवल भूगोलको वर्णन मात्र होइन राष्ट्रिय पहिचान र आत्मसम्मान को पुनर्जागरण पनि हो ।
गीत ‘देश हो बगैंचा’ केवल एउटा देशभक्ति गीत मात्र होइन, यो आत्मआलोचना, जिम्मेवारीबोध र सामूहिक सपनाको सुन्दर अभिव्यक्ति हो । आजको सन्दर्भमा यो गीत उत्तिकै सान्दर्भिक छ किनकि हामी अझै पनि गुनासोमा अल्झिरहेका छौं तर मेहनत र सुकर्मले देश फुलाउने बाटो अपनाउन सकेका छैनौं । देशप्रेमलाई भावनात्मक मात्र होइन, व्यवहारिक जिम्मेवारीको रूपमा प्रस्तुत गर्ने यो गीतले नेपाली सांगीतिक क्षेत्रमा सकारात्मक सन्देशसहित दीर्घकालीन प्रभाव छोड्ने अपेक्षा गरिएको छ। ‘देश हो बगैचा’ केवल सांगीतिक प्रस्तुति मात्र नभई नागरिक दायित्व र राष्ट्रिय एकताको सन्देश बोकेको अभियानात्मक गीत पनि हो ।
गीत ‘देश हो बगैंचा’ का गीति हरफहरू राष्ट्रप्रेमलाई भावनात्मक नाराभन्दा माथि उठाएर जिम्मेवारी, श्रम, एकता र आत्मबोधको दर्शनमा रूपान्तरण गर्ने प्रयास हो, गीतले देशलाई “बगैचा” र नागरिकलाई “माली” का रूपमा रूपकात्मक चित्रण गर्दै सामूहिक उत्तरदायित्वको चेतना जगाएको छ भने सरल बोलचालको नेपाली भाषा प्रयोगद्धारा नेपालको भौगोलिक विविधता र प्राकृतिक सम्पदालाई अत्यन्त मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।
गीत ‘देश हो बगैंचा’ ले आज पनि हामीलाई झक्झक्याइरहन्छ जागौं हर नेपाली, माली बनेर आफ्नो बगैंचा सुन्दर बनाऔं !
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ फाल्गुन १६ गते
२०८२ फाल्गुन १६ गते
२०८२ फाल्गुन १६ गते