सर्लाही पुगेर सभापति थापाले भनेः अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ

सर्लाही/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँ २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धिकरण गर्ने बताउनुभयो । निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धिकरण गर्ने उहाँको भनाइ छ ।

सम्पत्ति शुद्धिकरणको रोलक्रममा आफू आग्रस्थानमा रहेकाले आफ्नो पनि सम्पत्ति शुद्धिकरण गर्ने जनाउँदै सभापति थापाले भष्टाचार निवारण गर्छु भनेर मात्र नहुने धारणा राख्नुभयो ।

“म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेण्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि पार्टीका पूर्व तथा वर्तमान नेताहरूको सम्पत्ति शुद्धिकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ, पार्टीका पूर्वसभापति, पार्टीबाट मन्त्री तथा प्रधानमन्त्री भएका सबैको सम्पत्ति शुद्धिकरण गरिने छ”, उहाँले भन्नुभयो ।

सभापति थापाले देश बनाउने ‘एजेण्डा’ बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने धारणा राख्दै यसतर्फ आममतदान सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले मतदातालाई संयमित भएर मुलुक, जनता र समाजको हितमा काम गर्नेलाई मत दिने निर्णय गर्न सबैलाई आग्रह गर्नुभयो ।

चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिएकाले मतदाताको घरघरमा पुगेर सत्य, तथ्य उजागर गरेर सहयोग गर्न पार्टी नेता, शुभेच्छुलाई चिर्न सभापति थापाले निर्देशन दिनुभयो ।

उहाँले मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्नुभयो । मधेस प्रदेशमा सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै आफूले यसलाई गम्भीर रूपमा लिएको उहाँले बताउनुभयो ।

आफू सर्लाहीको निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार भएकाले यहाँको मात्र विकास हुने हो कि भनेर चिन्ता गर्न नपर्ने भन्दै मुलुक विकास र सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने सभापति थापाले प्रतिबद्धता जनाउनुभयो ।

घरदैलोका क्रममा आफूले मधेसको वास्तविक समस्या देखेको बताउँदै उहाँले मधेसका दलित समुदायले झुपडीमा जीवन बिताउनुपर्ने अवस्था अन्त्य गर्ने उल्लेख गर्नुभयो ।

देशले नयाँ परिवर्तन र गति चाहेको भन्दै त्यसका लागि आफू तयार रहेको सभापति थापाले जिकिर गर्नुभयो । “म प्रधानमन्त्री बनेपछि वार्षिक नभई हरेक महिना कार्यसम्पादन र आगामी योजनासहित नागरिकका नाममा सम्बोधन गर्नेछु ।

मधेसमा ठूलो समस्याका रूपमा रहेको मलखाद, बीउबिजन, सिँचाइ र उत्पादित कृषि उपजको मूल्यका लागि किसानले भौँतारिनु पर्दैन । किसानको एउटा कार्ड लिएर गएपछि सबै समस्या समाधान हुने व्यवस्था तयार गछौँ”, उहाँले भन्नुभयो ।

तीव्र गतिमा देशलाई अगाडि लैजाने, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार, रोजगारीका अवसर पहिचान र कार्यान्वयन आजको आवश्यकता रहेको भन्दै सभापति थापाले कांग्रेसलाई बहुमतसहित विजयी गराइदिन आममतदातासँग अनुरोध गर्नुभयो ।

कांग्रेस नेतृत्वको सरकार बनेमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार, रोजगारी सृजनालगायत क्षेत्रमा योजनाबद्ध काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments