डाँडापारी डायरी: ‘काभ्रेको कर्णाली’ बाट सम्भावनाको भूगोलतर्फ डाँडापारी

डाँडापारीको बदलिँदो कथा केवल पूर्वाधारको होइन, चेतना, आत्मविश्वास र सम्भावनाको हो—जुन अब उपेक्षाबाट पहिचानतर्फ अग्रसर हुँदैछ।

कुनै समय ‘काभ्रेको कर्णाली’ भनेर चिनिने डाँडापारी क्षेत्रले बिस्तारै आफ्नो छुट्टै पहिचान निर्माण गर्न थालेको अनुभूति यस पटकको भ्रमणमा प्रत्यक्ष अनुभूति गर्न पाइयो।

काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलबाट दक्षिणतर्फ फैलिएको महाभारत रेञ्जपारिको खानीखोला र महाभारत क्षेत्र भौगोलिक रूपमा पछाडि परे पनि चेतनाको स्तरमा क्रमशः माथि उक्लिँदै गएको देखिन्छ। यहाँको आत्मीयता, सामाजिक एकता, जनसहभागिता र आर्थिक उपार्जनका प्रयासहरूले मानिस जुनसुकै अवस्थामा पनि अनुकूलन गर्न सक्षम हुन्छ भन्ने तथ्य पुष्टि गर्छ।

फलफूल, तरकारी, नगदेबाली, कृषि उपज, दुग्ध उत्पादन र कफीजस्ता सम्भावनायुक्त उत्पादनबाट यहाँका बासिन्दाले राम्रो आम्दानी गर्न सक्छन्। तर उत्पादनलाई बजारसम्म पुर्‍याउने, उचित मूल्य निर्धारण गर्ने, किसानलाई आत्मनिर्भर बनाउने र बजार पहुँच सहज बनाउने संरचना अझै मजबुत हुन आवश्यक छ। खानीखोला गाउँपालिकाका वडा नं. ७ का पूर्व अध्यक्ष क्षेत्रमान घ्यावाले भन्छन्, “उत्पादन छ, सम्भावना छ, तर दिगो सडक र बजार संयन्त्र नहुँदा किसानले अपेक्षित लाभ लिन सकेका छैनन्।”

उनका अनुसार कफी, केरा, नगदेबाली र दुग्धजन्य पदार्थलाई प्रशोधन गरी बजारसम्म पुर्‍याउन सके मनग्गे आम्दानी सम्भव छ। “यसका लागि सबैभन्दा पहिलो आवश्यकता भनेकै दिगो सडक हो,” उनी जोड दिन्छन्।

Lahachhap

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू मत माग्दै डाँडापारी पुगेका छन् । त्यही क्रममा स्थानीयले एउटै स्वरमा भने—डाँडापारी विकासको पहिलो खुड्किलो सडक हो। सडक नपुग्दासम्म जनजीवन सहज हुँदैन, उत्पादन बजारसम्म पुग्दैन।

२०४८ सालदेखि बहुदलीय प्रजातन्त्र र संसदीय व्यवस्थामा निर्वाचित जो–जो आए पनि डाँडापारी सधैं उपेक्षित रहँदै आएको स्थानीयको गुनासो छ। सँगसँगै स्थानीय सरकारको अभ्यासपछि भने विकासको गति केही सहज भएको उनीहरूको अनुभव पनि छ। “पहिलो पटक यहाँ आउनेहरू अहिलेको अवस्था देखेर चकित पर्छन्,” स्थानीय भन्छन्, “कहिल्यै नबिर्सिने गरी कहालीलाग्दो अवस्था थियो।”

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गुणराज मुक्तानले डाँडापारी विकासको सपना आफ्नै मानसपटलमा बसेको बताए। काभ्रे काँग्रेसका सचिवसमेत रहेका मुक्तानले शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र पूर्वाधार विकासमा प्रदेशसभा सदस्य तथा पूर्व प्रदेशमन्त्री तिर्थ लामाको पहलमा उल्लेख्य काम भएको स्मरण गरे। अब आफू निर्वाचित भएर संघमा पुगेपछि यहाँको विकास र समृद्धिका लागि उचित नीति बनाउने मुक्तानले बताए ।

डाँडापारी क्षेत्रमा पहिले १० वटा साविक गाउँ विकास समिति थिए। संघीय संरचनापछि खानीखोला गाउँपालिका र ७ वडा तथा महाभारत गाउँपालिका र ८ वटा वडा कायम भएका छन्। प्रशासनिक सेवामा पहुँच सहज बनाउन महाभारतमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।

पहिले उम्मेदवारहरू हप्तौँ हिँडेर घरदैलो गर्नुपर्ने अवस्था थियो, अहिले धेरै ठाउँमा गाडी पुग्ने सडक बनेका छन्। बस्तीहरू व्यवस्थित हुँदै गएका छन्। स्थानीय युवा तथा समाजसेवी विद्यासागर बल भन्छन्, “हाम्रा बाजेबाजुको जीवन संघर्षमै बित्यो। समय बदलिँदैछ, चेतना बढ्दैछ। डाँडापारी अब सहरोन्मुख हुँदैछ।”

Lahachhap
फोटोः फेसबुक पेज खानीखोला गाउँपालिका

यहाँका बासिन्दाका अनुसार तिर्थ लामालाई प्रदेशसभा सदस्यमा विजयी गराएपछि डाँडापारीमा बजेट र कार्यक्रम उल्लेख्य रूपमा बढेका छन्। “काम गर्ने मान्छेले जनताको मन जित्दो रहेछ,” उनीहरू भन्छन्।

साल्मेचाकल गाविसका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता शेखर लामाले भने, “यो ठाउँ बनाउन सबै दलका नेता–कार्यकर्ताको रगत–पसिना बगेको छ। राजनीति प्रतिस्पर्धामात्र होइन, मित्रवत सहकार्य पनि लोकतन्त्रको सुन्दर पक्ष हो।”

खानीखोला भौगोलिक रूपमा विकट भएकाले पूर्वाधार विकास चुनौतीपूर्ण छ। पहाडी भू–धरातल, पातलो बस्ती र सीमित बजेटले समस्या थपेको छ। साल्धाराका युवा प्रेम थोकर भन्छन्, “स्थानीय र प्रदेश बजेटले मात्र पुग्दैन, संघ सरकारले विशेष नीति र कार्यक्रम ल्याउनैपर्छ।”

खानेपानी, सिँचाइ र सडक सञ्जालमा इतिहासमै पहिलो पटक उल्लेख्य बजेट विनियोजन भएको स्थानीय सम्झन्छन्। कृषि र ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै समृद्ध खानीखोलाको सपना पूरा गर्न प्रतिनिधिसभामा काँग्रेसको जित आवश्यक रहेको साल्धाराकी तारादेवी आचार्य बताउँछिन्।

बागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री तिर्थ लामाको गुण डाँडापारीवासीको मनमा गढेको छ । उनीहरु भन्छन्, तिर्थ लामालाई यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा विजयी बनाएर पठाएपछि यस क्षेत्रमा उल्ख्य बजेट र कार्यक्रमहरु आएका छन् । यसका आधारमा पनि काम गर्ने मान्छेलाई सबैले मन पराउँदा रहेछन् भन्ने देखियो ।

‘अब यस क्षेत्र बुझेका विगतदेखि शिक्षा र पुर्वाधार विकासमा लागि परेका गुणराजजीको उम्मेदवारी विकास र समृद्धिका लागि हो भन्ने खानीखोलावासीले बुझेकामात्रै नभई यहँँका मतदाताहरु उत्साहका साथ उनलाई साथ समर्थन गर्नेमा आशावादी छु, बलले थपे ।

Lahachhap
फोटोः फेसबुक पेज तालढु‌ङ्गा

नेपालको राजनीतिमा लामो सयम विरासत भएका राजनीतिक दलहरुले स्वाभाविक रुपमा नागरिकसँग मत माग्ने अधिकार राख्छन् । साविकको फलामेटार, डाँडागाउँ, साल्धारा, मिल्चे र साल्मेचाकल मिलाएर बनेको खानीखोला भूगोलका हिसाबले विकट पनि छ । जति नै बजेट विनियोजन गराउन पहल गर्दा पनि योजनाहरु पूरा गर्न  गाह्रो देखिन्छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत स्वतन्त्र उम्मेदवारहरु सबेले डाँडापारी आफ्नो प्राथमिकतामा परेको बताइरहेका छन् । डाँडागाउँका युवा क्षेत्रमान वाइबा भन्छन्, ‘२०४८ पछि ३१ वर्षमा नेपाली काँग्रेसले जितेपछि विकास केहो भनेर देखाइदिएको छ । शान्ति र विकासका लागि पनि नेपाली काँग्रेसले यस क्षेत्रबाट जित्नैपर्छ’’ उनले भने ।

खानेपानी, सिँचाईजस्ता पूर्वाधार र सडक सञ्जालका लागि डाँडापारीका निम्ति नेपाली काँग्रेसले इतिहासमै पहिलो पटक उल्लेखनीय बजेट विनियोजन गर्न सफल भएको यहाँका नागरिकहरु स्मरण गर्दछन् ।

‘स्थानीय सरकारस्ँग सीमितमात्रामा स्रोत र साधन हुने भएकाले प्रदेश र संघ सरकारको समेत समन्वयमा थुप्रै सकारात्मक कामहरु गर्न सकिन्छ, योजनाहरु निर्माण गर्न सकिन्छ । जनताको तागत र म्याण्डेट पाएपछि काँग्रेसले गरेर देखाउँछ’ स्थानीय सरकारका प्रमुखसमेत रहेको निर्वाचन परिचालन समितिका संयोजक दिनेश लामाले बताए ।

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी योजना बन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै बागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री तिर्थ लामाले भने, ‘२१ औं शताब्दीको सभ्य समाजमा जनताका न्यूनतम आवश्यकता पूरा गर्नु आफ्नो कर्तव्य भएको महसुस गरेको छु । विकासको क्रममा जबर्जस्ती पछाडि पारिएको खानीखोला र सिंगो डाँडापारी भेगको मुहार फेर्न आफू सक्दो प्रयत्नशील रहनेछु ।’

Lahachhap
फोटोः फेसबुक पेज तालढु‌ङ्गा

स्थानीय च्यापसाङ्ग रुम्बा, राजेश जिम्बा, डम्बर घिसिङ, दशरथ घिसिङ, वृहस्पती घिसिङलगायतले डाँडापारी क्षेत्रमा नेपालको राज्यसत्ताको पहुँच स्थानीय तहसम्म पु-याउनका लागि निर्माण गरिएका संघीय संरचना पर्याप्त नभएको अनुभव सुनाए । उनहिरु भन्छन्, अझै पनि संघीय सरकारले समानुपातिक ढंगबाट विकासको वितरण गर्न चुकेको अवस्था छ ।’

खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले विकासको लागि खानीखोलाले बामे सर्ने कोशिश गरिरहेको बताए । त्यस्तै महाभारतका गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले महाभारतको विकासको हिस्सेदार काँग्रेस पार्टी रहेको त्यसको नेतृत्व बागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री तिर्थ लामाले गरिरहेको दाबी गरे ।

डाँडापारीको बदलिँदो कथा केवल पूर्वाधारको होइन, चेतना, आत्मविश्वास र सम्भावनाको हो—जुन अब उपेक्षाबाट पहिचानतर्फ अग्रसर हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments