कास्की— पोखरामा आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सहकारीपीडितको आक्रोश सतहमा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारमाथि सहकारीपीडितले कडा प्रश्न र प्रतिवाद जनाएका छन्।
शनिबार पोखरामा सम्पन्न कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर–३ की रास्वपा उम्मेद्वार बिना गुरुङलाई आफ्ना छोराको विद्यालय शुल्कसम्बन्धी ८० हजार रुपैयाँको बिल थमाए। सहकारीको रकम हिनामिना भएपछि विद्यालय शुल्क तिर्न नसक्दा छोराले वार्षिक परीक्षा दिन नपाउने अवस्थामा पुगेको भन्दै उनले पीडा सुनाए।
जैसीले रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै त्यसकै असरले आफ्नो परिवार संकटमा परेको दाबी गरे। उनको बिल बुझ्दै उम्मेद्वार गुरुङले उक्त बिल पार्टी सभापतिसम्म पुर्याउने प्रतिक्रिया दिइन्, तर सभापतिको बचाउमा भने केही बोलिनन्।
कार्यक्रममा उम्मेद्वार गुरुङको प्रस्तुति कमजोर देखिएको सहभागीहरूको टिप्पणी थियो। प्रश्नहरूको सामना गर्न उनी असहज देखिइन् र पटक–पटक अक्मकिएको संकेत देखियो। “मभन्दा अग्रज व्यक्तिहरू यहाँ भएकाले खुला रूपमा बोल्न नसकेको हुन सक्छ, तर यसले म काम गर्न सक्दिनँ भन्ने होइन,” उनले आफ्नो बचाउमा भनिन्।
संवादकै क्रममा गुरुङले ६० लाख रुपैयाँ दिएर टिकट ल्याएको आरोपसमेत उठेको थियो। कास्की–३ मा रास्वपाका जिल्ला सभापति यदुनाथ अधिकारीको प्रभाव क्षेत्र मानिँदै आएकोमा बिना गुरुङ उम्मेद्वार बनेपछि पार्टीभित्रै असन्तुष्टि बढेको बताइन्छ। पोखरामा देखिएको यो घटनाले सहकारीपीडितको आक्रोश र चुनावी बहसलाई थप तातो बनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित