काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गर्नुभएको छ ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराउनुभएको थियो ।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सातवटै प्रदेशका प्रमुख सचिव तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीति कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिनुभएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित