काभ्रेपलाञ्चोक / महाशिवरात्रिको पावन अवसर-पनौती नगरपालिका–१० खोपासीस्थित तीन थुम्की डाँडामा पुनर्निर्मित श्री पशुपतिनाथ मन्दिर ले पुनः प्राण पाएको छ। वर्षौँको प्रतीक्षा, भूकम्पले छोडेको चोट र सामूहिक संकल्पको साक्षी बनेर मन्दिरमा विधिवत् प्राणप्रतिष्ठा सम्पन्न भएको हो।
उक्त अवसरमा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले मन्दिरको समुद्घाटन गर्दै “यो पुनर्निर्माण भौतिक संरचना मात्रै होइन, आस्थाको धरोहर ठडिएको क्षण हो,” भनी उल्लेख गरे।
उनले नियमित पूजा–आराधना, मर्मत–सम्भार र दिगोपनाका लागि अक्षय कोष स्थापना गर्न सुझाव दिँदै पनौती धार्मिक शहर भएकाले मठ–मन्दिर तथा धार्मिक सम्पदाको संरक्षणमा नगरपालिका निरन्तर क्रियाशील रहेको बताए।

इतिहासले पनि तीन थुम्की डाँडामा आस्थाको गहिरो छाप छोडेको छ। विसं २०५४ साल, रामनवमीको पावन अवसरमा स्वर्गीय स्वभितमान सिलवालको अगुवाइ र स्थानीयको सहयोगमा यहाँ भगवान पशुपतिनाथको प्राणप्रतिष्ठा गरी विधिवत् पूजा–आरती सञ्चालन गरिएको थियो। तर २०७२ सालको भूकम्प ले मन्दिर र पाटी जिर्ण बनायो। त्यसपछि आस्थालाई पुनर्जीवित गर्ने संकल्पका साथ २०८१ मंसिर १६ गते स्थानीय सरोकारवालाको भेलाले मन्दिर पुनर्निर्माण समिति गठन गरी काम अघि बढाएको थियो।

गोपाल पौंजु को अध्यक्षतामा गठन भएको श्री पशुपतिनाथ मन्दिर पुनर्निर्माण समितिमा सचिव श्रीकृष्ण सिलवाल, कोषाध्यक्ष सुष्माकुमारी श्रेष्ठ, सदस्यहरू शान्ता लक्ष्मी पौंजु, राम सिलवाल, रामशरण नेपाली, सकुल कार्की, दुर्गा कोइराला र रघुनाथ खुलाल रहेका छन्। यस्तै, नवराज सिलवाल को अध्यक्षतामा अनुगमन समिति गठन गरिएको थियो, जसमा नवराज जर्गा मगर, कुलदास बतास, पवित्रा पौंजु र रामेश्वर भारती सदस्य रहेका छन्।
निर्माण कार्यको पहिलो चरण सम्पन्न भएपछि प्राणप्रतिष्ठा तथा महाशिवरात्रि पर्वलाई लक्षित गर्दै निर्माण समिति र स्थानीयको भेलाले ममता भारती को संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो। समितिमा गीता सिलवाल, गोपाल पौंजु, कल्पना सत्याल, शान्ता लक्ष्मी पौंजु, सन्तोष श्रेष्ठ र कल्पना खत्री रहेका छन्।

उद्घाटनकै अवसरमा मन्दिर निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई अभिनन्दनसहित सम्मान गरिएको छ। मन्दिर निर्माणमा सहयोग गर्ने काठमाडौं जडिबुटी निवासी रेणुका सिंह दम्पती लाई सम्मान गरिएको थियो। यस्तै, विश्रामगृह र भव्य मन्दिरको परिकल्पनासहित डिजाइन गर्ने शंकर सिलवाल दम्पती लाई अभिनन्दन गरिएको छ। उत्कृष्ट चन्दा संकलन गर्ने पाटीखर्क निवासी सकुल कार्की दम्पती, मन्दिर निर्माण शिल्पी दिनेश पहरी दम्पती, सहयोग गर्ने मानेश्वरी निर्माण सेवा प्रा.लि. का प्रज्वल जंगम लगायतलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा मन्दिर पुनर्निर्माण समितिका तर्फबाट दुष्यन्त सिलवाल ले स्वागत मन्तव्य राख्दै मन्दिर निर्माणको यात्रा र संकल्प बारे जानकारी गराए। कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मधुसुधन गुरागाईंले गरेका थिए।

कार्यक्रममा वडा सदस्य सरिता अधिकारी नेपाल, जितबहादुर श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले भौतिक संरचनाको पुनर्निर्माणसँगै संस्कार, संस्कृति, आस्था र सामूहिक चेतनाको पुनर्जागरण भएको धारणा राखे।
तीन थुम्की डाँडामा आज पुनः शिवको बास बस्यो—समुदायको एकता, श्रम र श्रद्धाले उज्यालो बनेर।


खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित