आठ वर्ष पछि निर्देशनमा रेखा थापा, ‘माया भनेकै यस्तो होला’ निर्माणको घोषणा

काठमाडौं/चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

चलचित्रलाई नायिका रेखा थापाले निर्देशन गर्नेछिन । रेखा आठ वर्षपछि निर्देशनमा फर्कन लागेकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’को निर्देशन गरेकी थिइन । त्यसो त नायिका थापाले होम प्रोडक्सन बाहिर पहिलो पल्ट चलचित्र निर्देशन गर्न लागेकी हुन् ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र कलाकार दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ ।

पत्रकार सम्मेलनमा निर्देशक थापाले चलचित्रले हाम्रो आफ्नै समाजमा घटेका घटना प्स्तुत गर्ने बताइन । उनले भनिन्, ‘यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ। एउटा निर्देशकको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु।’ उनले चलचित्रमा कथाको माग अनुसार नै कलाकारहरुको छनौट गरेको जनाइन ।

चलचित्र घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले कलाकार थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको बताए । उनले भने, ‘म केबल हास्य कलाकार मात्र होइन, ‘परान’ जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।’

यस्तै यही चलचित्रबाट लेखक ध्रुब लम्साल ११ वर्षपछि चलचित्र लेखनमा फर्किएका छन् । उनले समयानुकुल आफुले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए । चलचित्र पत्रकार समेत रहेका उनले रमाइलो शैलीमा भने, ‘यो चलचित्र हेरेपछि मेरा साथीहरूले मलाई गाली गर्ने छैनन्, बरु प्रशंसा गर्नेछन् भन्नेमा म ढुक्क छु ।’

निर्माण पक्षले चलचित्रको घोषणासँगै दुईवटा फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित त्रिकोणात्मक प्रेम कथालाई झल्काउछ ।

पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भब्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् ।

दोस्रो पोस्टरमा अभिनेता दिल एक वृद्ध (वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ ।

चलचित्रको शीर्षक ‘माया भनेकै यस्तो होला’ले नै प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ । एकातिर बुढ्यौली अवस्थाको सेवा र अर्कोतिर युवापुस्ताको प्रेमलाई पोस्टरमा स्थान दिएर सबै वर्गका दर्शकलाई समेट्न खोजेको बुझिन्छ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने जनाइएको छ । फागुनको दोस्रो साताबाट छायाँकन सुरु हुने चलचित्रमा सुदीप बरालको डिओपी, राजन घिमिरे फिल्म कोअर्डिनेसन र प्रशान्त सिवाकोटीको संगीत रहने छ । आगामी वर्ष तीजको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments